ब्राजिल हारेपछि विश्वकप सकियो : मुरारका - Naya Patrika
eNaya Patrika
  • ePaper

ब्राजिल हारेपछि विश्वकप सकियो : मुरारका

मेरो लागि विश्वकप सकिइसक्यो । किनकि, ब्राजिल विश्वकपबाट आउट भइसकेको छ । म ब्राजिलको डाइहार्ड फ्यान हुँ । विश्वकपबाट ब्राजिल आउट भएपछि खेल रोमाञ्चक हुँदैन । मेरा लागि ब्राजिलको अन्तिम खेल हुन्छ । जुन दिन ब्राजिल हार्छ, त्यसपछि फुटबलमा उत्साह रहँदैन ।

पशुपति मुरारका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

सन् १९८६ देखि विश्वकप हेर्न थालेको हुँ । त्यतिवेला मेक्सिकोमा विश्वकप आयोजना भएको थियो । त्यही समयदेखि ब्राजिलसँग इमोसनल अट्याचमेन्ट भइसकेको छ । मैले जहिल्यै ब्राजिलको समर्थन गरेँ । मलाई ब्राजिलको खेल्ने तरिका मन पर्छ । उनीहरू प्रतिस्पर्धी भावनाले भन्दा पनि रमाएर खेल्छन् । यो उनीहरूको अलग्गै पहिचान हो । ब्राजिलको खेल कलात्मक हुन्छ । बल पास दिएर खेल्ने तरिका पनि राम्रो छ ।

यसपटक ब्राजिलले विश्वकप जित्ने अनुमान थियो । ब्राजिलले खेल पनि सुधार गरिरहेको थियो । तर, खेलमा ‘लक’ पनि जोडिएको हुन्छ । ब्राजिलले बेल्जियमको गोल पोस्टमा गरेको अट्याक हेर्दा कम्तीमा ३÷४ गोल हान्नुपर्ने थियो । तर, राम्रा प्रहार पनि गोलमा परिणत हुन सकेनन् । सायद, भाग्यले साथ दिएन । ब्राजिलले आधा दर्जनजति राम्रा प्रहार गरेको थियो ।

मेरो मुख्य टिम बाहिरिएको छ । अबको समर्थन क्रोएसियालाई हुन्छ । क्रोएसिया नयाँ मुलुक हो, सानो मुलुक पनि । फ्रान्स र इंग्ल्यान्डले यसअघि विश्वकप जितिसकेका छन् । बेल्जियम जहिल्यै फुटबलको पावर हाउसमै छ । यो स्थानसम्म आइपुगेको क्रोएसियाले विश्वकप जितोस् भन्ने कामना छ । क्रोएसियाको खेल पनि राम्रो छ।

यो विश्वकप अनपेक्षित रह्यो । अप्रत्याशित नतिजा आयो । बलिया मानिएका टिम आउट भए । जर्मनी, अर्जेन्टिना, स्पेन, पोर्चुगल, ब्राजिल अगाडि बढ्न सकेनन् । नयाँ टिमको खेल हेर्नलायक बन्यो । एसियन मुलुक जापान र दक्षिण कोरियाले पनि राम्रो खेले । रसिया धेरै पछाडि भए पनि विश्वकपमा राम्रो खेलेर देखायो ।

यसपटकको विश्वकपमा हाइस्कोरिङ गेमहरू भयो । खेलमा खाली ‘ड्र’ मात्र भएन, गोल भइरह्यो । नराम्रो पक्ष, यसपटक आत्मघाती गोल बढी भयो । आत्मघाती गोलले खेलाडी र दर्शकको चित्त दुखाउँछ । जित्ने टिमलाई हारको सँघारमा पुर्‍याउँछ ।

तपाईको प्रतिक्रिया