पर्दापछाडिका योगेश्वर अमात्य - Naya Patrika
eNaya Patrika
  • ePaper

पर्दापछाडिका योगेश्वर अमात्य

नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो योगेश्वर अमात्य । गायनशैलीको आफ्नै ‘ब्रान्ड’ स्थापित गरेका अमात्यलाई स्रोता÷दर्शकले पपगायकका रूपमा चिन्छन् । तर, अमात्य आफूलाई सफ्ट रक र झ्याउरे गायक भन्न रुचाउँछन् । ‘जब सन्ध्या हुन्छ’, ‘लैजा चरी’, ‘क्या बोर भयो’, ‘मुटु चस्कियो’, ‘सालको पात टपरी गाँसेर‘जस्ता गीत मात्र होइन, उनको ‘मदिरा सोख’बारे पनि चर्चा हुने गर्छ । देशभक्तिका गीत निकै प्रेमले गाउने गायक अमात्यका केही सोखबारे यहाँ प्रस्तुत गरिएको छ ।

गाडीका सोखिन
योगेश्वर अमात्य गाडीका सोखिन हुन् । महँगा गाडी फेरीफेरी कुदाउनु उनको सोख हो । उनी जन्मिँदै घरमा गाडी थियो । ‘म सानो हुँदा घरमा मर्सिडिज, सेभ्रोलेट, केन्सियर्ज, भक्सवागन, फोर्ड, जिप थियो,’ उनी सम्झन्छन् । उनले पहिलोपटक चलाएको अमेरिकन जिप हो । दरबारसँग किनेको जिपको हुट निकालेर ओपन बनाएका थिए ।

उनको घरमा दरबार र विदेशीसँग किनेका महँगा गाडी छन् । उनी जिप, मर्सिडिजबेन्ज, सेभ्रोलेट, होन्डा सिभिक, ल्यान्डरोभर, मित्सुबिसी पजेरोलगायत गाडीमा सयर गरिसकेका छन् । अहिले आमात्य मित्सुबिसी पजेरो चढ्छन् । बुबाले किनेका जिप र मर्सिडिज गाडी बनाउन दिएका छन् । ‘मैले मर्सिडिज बेन्ज जिएलई अर्डर गरेको छु, छिट्टै आउँदै छ,’ उनी भन्छन् ।

जिप चढेर तराईको जंगलमा सिकार खेल्न जान्थे । काभ्रेको खेलामा माछा मार्न पुग्थे । घुमघाम र पिकनिकमा जिप नै चढ्थे । उनी अमेरिका पढ्दा अउडी कार थियो । पछि बेलायत जाँदा बेन्ट्ले कार भाडामा लिएर कुदाए । उनलाई चढ्न मन लागे पनि किन्न नसकेको कार बेन्ट्ले हो । विदेशतिर महँगा कार बेन्ट्ले, फरारी, ल्याम्बोर्गिनी, रोल्स रोयस कार भाडामा लिएर चलाउन पाइन्छ ।

योगेश्वर अमात्य नांगै बस्न रुचाउँछन् । भन्छन्–अहिले अरूका लागि मात्र कपडा लगाएको हुँ । बाहिर नांगै हिँड्ने वातावरण छैन । घरको कोठामा नांगै बस्छु । नांगै सुत्छु ।

महँगो मदिरा
नेवार समुदायमा मदिरालाई सगुन मानिन्छ । भगवान्लाई चढाउन पनि मदिरा नभई हुँदैन । नेवार समुदायमा जन्मिएका अमात्य मदिराको सोखिन हुन् । उनी महँगो मदिरा पिउँछन् । ‘राम्रो ह्विस्की खाएर साथीसँग गितार बजाएर गाउन मन लाग्छ’ उनी भन्छन्, ‘म आफू मात्र गाउँदिन, अरूलाई पनि गाउन लगाउँछु ।’

उनलाई बिहानै ह्विस्की पिउन मन पर्छ । बिहानै मदिरा सेवन गर्ने भनेपछि उनका साथीभाइ तर्सिन्थे । बिदाका दिन बिहानै मदिरा सेवन गर्छन् । उनी अनुशासित पियक्कड हुन् । दैनिक मदिरा खाँदैनन्, खाँदा मज्जैले खान्छन् । ‘म घरमा एक्लै मदिरा पिउँदिन’ उनी भन्छन् ।

उनी प्रायः सिंगल मल्ट पिउँछन् । कहिलेकाहीँ मौसमअनुसार पनि मदिरा सेवन गर्छन् । गर्मी मौसममा बियर उनको रोजाइमा पर्ने गर्छ । नेपाली बार टेन्डरलाई त्यति विश्वास गर्दैनन्, उनलाई कतिपय बार टेन्डरले मदिरा ‘मिक्स’ गरेर दिन्छन् । भन्छन्, ‘तर, विदेशतिर जाँदा पियोर ह्विस्की पिउन पाइन्छ ।’ राम्रा र महँगा मदिरा रोजीरोजी–खोजीखोजी पिउने उनको पुरानो आदत हो ।

स्कट्ल्यान्ड मदिराको देश हो । छोराछोरी त्यहाँ पढ्दा महँगो ह्विस्की खुब पिएको उनको स्मृतिमा ताजै छ । स्कट्ल्यान्डमा छोराछोरी बस्ने ठाउँनजिकै सिंगल मल्ट बनाउने उद्योग थियो । ‘त्यहाँ ३८ वर्ष, ५५ वर्ष, ६० वर्ष पुरानो ह्विस्की खाएको छु, ब्ल्याक लेबल १२ वर्ष र ब्लु लेबल २५ वर्ष पुरानो खान्छु’ उनी भन्छन् । नेपालमा रहँदा पनि महँगो मूल्यको राम्रो मदिरा मात्र पिउने गर्छन् ।

उनी महँगो मदिरामा खर्च गर्न कञ्जुस्याइँ गर्दैनन् । भन्छन्, ‘किनकि, म नेवारको छोरो हुँ, महँगो मदिरा मेरो सोख हो ।’ आमात्य मदिरा सेवन गरेर गाडी चलाउन नदिने नीतिका विरोधी हुन् । ‘संसारमा जिरो टोेल्रेन्स कहीँ हुँदैन, यही नेपालमा छ’ उनी भन्छन्, ‘कतिपय चालकले मदिरा नखाँदाभन्दा खाएर गाडी राम्रो हाँक्न सक्छन् ।’

अमात्यको गीत र गाउने शैलीप्रति संगीतप्रेमी मन्त्रमुग्ध हुन्छन् । उनका प्रायः गीतमा देशभक्ति, राष्ट्रभक्ति गुञ्जिएका हुन्छन् ।

गीत–संगीतमा नयाँपन
आमात्यको अर्को सोख हो, संगीत । उनी संगीतविना रहन सक्दैनन् । उनको गीत र गाउने शैलीप्रति संगीतप्रेमी मन्त्रमुग्ध हुन्छन् । उनका प्रायः गीतमा देशभक्ति, राष्ट्रभक्ति गुञ्जिएका हुन्छन् । उनका फ्यान पनि फरक किसिमका छन् ।

अमात्य नेपालमा पहिलोपटक लोकगीतलाई पप र रक शैलीमा ढालेर गाउने गायक हुन् । भन्छन्, ‘यसमा कसैले दाबी नगरे पनि हुन्छ, मैले धेरैपटक भनिसकेको छु ।’ भेटघाट, पिकनिकमा उनको काम गाउने हुन्छ र गाउनमै रमाउँछन् बढीजसो । सिकार खेल्न जाँदा १२/१३ दिन बित्थ्यो । उनको काम नै गाउने हुन्थ्यो । उनी बाहिर हत्तपत्त गाउँदैनन्, गाउन थालेपछि सबैलाई तताउँछन् । उनले गाउँदा सबैले साथ दिनुपर्छ । मदिरा पिएपछि अमात्यलाई राष्ट्रभक्तिका गीत नगाई हुँदैन ।

डिजाइनका सोखिन
डिजाइन गर्न खुब सोख छ उनको । डिजाइनमा डिप्लोमा पनि गरेका छन् । बुबाको हीरापन्नाको व्यापारी । ‘बुबाले तिमी बिजनेसमा लाग्नुपर्छ भन्नुभयो, तीन सेमेस्टार पढेपछि विषय परिवर्तन गरेँ’ उनी भन्छन् । तर, जतिसुकै विषय परिवर्तन गरे पनि संगीतबाट टाढा रहन सकेनन् ।
उनी आफैँ डिजाइनिङमा दखल राख्ने भएकाले आफ्नो कानमा लगाउने गहना आफैँले डिजाइन गरेँ। आफन्त र साथीभाइका लागि पनि धेरै डिजाइन गरिदिएका छन् ।

उनलाई सानैदेखि चित्र कोर्न मनपथ्र्यो । गहना, घर, घडी, किताबको खोल, लुगाको डिजाइन गरेको बताउँछन् । ‘मैले पनि जियोमेट्रिकल आकार देख्छु, त्यसैले चित्र कोर्न सजिलो हुन्छ,’ उनी क्षमताबारे प्रस्ट्याउँछन्, ‘मैले आँखा चिम्लिएँ भने कालो गाडीलाई सेतो, रातो, हरियो सबै बनाउन सक्छु ।’

उनले अरूका पेन्टिङ संकलन गर्न थालेका छन् । तर, उनले कोरेका चित्र र कविता भने अरूसँग छन् । कतिलाई त गिफ्ट पनि दिए । ‘कविताजति केटीलाई कोरियो, आर्ट साथीलाई दिइयो,’ उनी हाँस्दै भन्छन् । उनी अमेरिकामा स्कुल पढ्दा प्राय आर्टमा ‘ए’, ‘ए प्लस’ पाउँथे । उनलाई आर्टमा नलागेकोमा पछुतो छ । आर्टको भोक मेटाउन अचेल घरमा डिजाइन गरिरहेका हुन्छन् ।

नांगै बस्ने सोख
अमात्यको अचम्मको सोख छ । उनी नांगै बस्न रुचाउँछन् । भन्छन्, ‘अहिले अरूका लागि मात्र कपडा लगाएको हुँ । बाहिर नांगै हिँड्ने वातावरण छैन । घरको कोठामा नांगै बस्छु । नांगै सुत्छु ।’ उनी विश्वमा पछिल्लो समय नांगै हिँड्डुल गर्ने पार्क र नांगै बसेर खानपिन गर्ने रेस्टुरेन्ट खुलिरहेको खबरले मक्ख छन् ।

‘म चाहन्छु, सबै मानिस यसरी नांगै हिँडून्, लुगा लगाएर हिँड्ने मान्छेले लाज मानून्,’ उनको कामना छ । उनी एकपटक राप्ती नदीमा नांगै भएर जिप धोएको सम्झन्छन् । केही समयअघि लन्डनमा केटाकेटीले नांगै साइकल चलाएको खबरले उनलाई उत्सुक बनाएको बताए ।

विश्वका सबै मानिस नांगै हिँडेमा युद्ध पनि नहुने र लोग्ने–स्वास्नीको झगडा पनि कम हुने विश्वास उनको छ । साथै, यसो गरेमा यौनसँग जोडिएका घटना पनि कम हुने उनको दाबी छ । नांगै हिँड्दा खर्च पनि घट्छ । ‘गरगहना, घडी, महँगा लुगा लगाउनै पर्दैनथ्यो, मोबाइल बोक्न गोजी पनि हुँदैनथ्यो,’ उनी भन्छन् ।

घुमफिर
अमात्य घुमफिरमा पनि मग्न हुन्छन् । युवा हुँदा साथीभाइसँग जिप हाँकेर धेरै ठाउँमा पुगेका छन् । उनले सिकार खेल्ने, माछा मार्ने, साथीसँग हिँड्ने, पिकनिकलगायतका कार्यक्रममा खुब घुमघाम गरे । सानोमा बुबाले विभिन्न ठाउँमा ट्रेकिङ र हाइकिङमा लैजाने गरेको उनी सम्झन्छन् । त्यसले पनि आफूलाई घुमघाममा सोखिन बनाएको उनको बुझाइ छ ।

उनले धेरै देश घुमिसकेका छन् । उनको पढाइ पनि विदेशमै भयो । ‘हरेक सहरको पानी चाख्दै हिँड्न मन पर्छ,’ उनी भन्छन्, ‘अझै धेरै घुमेको छैन, बाँकी नै छ ।’ उनका छोराछोरी बेलायतमा पढ्छन्, अक्सर बेलायत गइरहन्छन् । वर्षमा २÷३ महिना बेलायततिरै हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु