सोनाम ग्याल्मोले सम्झाएको जंगबहादुर - Naya Patrika
eNaya Patrika
  • ePaper

सोनाम ग्याल्मोले सम्झाएको जंगबहादुर

प्रेमकै कारण गुँड र बच्चा सम्झेर फर्किन्छन् चराहरू । जन्मथलो वा आफन्त सम्झेर फर्किन्छन् परदेशीहरू । विपरीतलिंगीबीच अंकुराउने प्रेम प्रेमी–प्रेमिका हुँदै कतिपयको श्रीमान्–श्रीमतीको सम्बन्धमा परिणत हुन्छ ।

प्रेममा पीडा हुन्छ । आफ्नी श्रीमती ग्याल्मोलाई पराइले उठाइदिँदा सोनाम छटपटिन्छ र बदलाको भाव लिन्छ, यसले प्रेम कति तागतिलो हुन्छ भन्ने पुष्टि गर्छ । सोनाम र ग्याल्मो पात्र हुन्, फुलमान बलद्वारा लिखित सोनाम मोक्तान तामाङद्वारा निर्देशित नाटक ‘सोनाम ग्याल्मो’को ।

तामाङ ‘रिमठिम’अनुसार सोनाम र ग्याल्मोको विवाह हुन्छ । सोनामको आँखाले मात्रै ग्याल्मोलाई निकै सुन्दरी देख्दैन । ऊ अरूको नजरमा पनि राम्री छे ।

घरबाट पँधेरो वा जंगल मात्र निस्कनुप-यो भने पनि सोनामको मनले ग्याल्मोसँगै जाऊँ भन्छ । छिमेकीसँग ग्याल्मो जंगल गएकी हुन्छे ।

दाउराको भारी कसेर उनीहरू घर फर्कनै लाग्दा जंगलभित्रै असामान्य आवाज आउँछ । बन्दुक पड्किएको आवाज आउँछ । श्री ३ जंगबहादुर राणा सिकार खेल्ने क्रममा सोही जंगल पुगेका हुन्छन् ।

ग्याल्मोसहितका साथीहरू जंगलभित्रै लुक्छन् । बाघलाई लखेट्दै आएका जंगबहादुर र उसका सिपाहीले लुकिरहेका ग्याल्मो र उसका साथीहरूलाई भेट्छन् । अरूलाई छोडिदिए पनि ग्याल्मोको सुन्दरताबाट मोहित जंगबहादुरले ग्याल्मोलाई छाड्दैन ।

श्रीमतीलाई जंगबहादुरले लगेको थाहा पाएर सोनाम आक्रोशित हुन्छ । अन्ततः बदलाको भाव लिएर सोनाम बुढो मान्छेको रूप धारण गरेर जंगबहादुरसमक्ष पुग्छ । जंगबहादुरले किन आइस् ? भन्दा सोनामले जार काट्न पाऊँ भन्ने बिन्ती बिसाउँछ ।

जंगबहादुरले जार काट्न आदेश दिन्छ । हत्तपत्त सोनाम जंगबहादुरमाथि जाई लाग्छ । ‘तैँ होस् जार’ भन्दै आक्रमण गर्छ । जंगबहादुर र सोनाम घाइते भएको देखाइन्छ ।

नाटक ‘सोनाम ग्याल्मो’मा यही दन्त्यकथालाई मुख्य विषय बनाइएको छ । यथार्थमा श्री ३ जंगबहादुर राणाको मृत्यु रहस्यमयी छ । जंगबहादुरको मृत्युलाई ‘उसले र यसले’ ‘यसरी र त्यसरी’ भनेर दन्त्यकथा बनाइएको पाइन्छ ।

त्यही दन्त्यकथामध्येको एक कथामा जंगबहादुरसँगै सोनाम र ग्याल्मोलाई जोडेर बनाइएको कथामा नाटक घुमाइएको छ ।

नाटकले लोप हुँदै गएको तामाङ समुदायको संस्कृति, वैवाहिक परम्परालाई पुनः जीवन्त बनाउने प्रयास गरेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असार ११ देखि नाटक मञ्चन भइरहेको छ ।

तपाईको प्रतिक्रिया