करिब १८ अंकले घट्यो बजार - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

करिब १८ अंकले घट्यो बजार

नेप्सेको नवनियुक्त सिइओले गरे पदभार ग्रहण –

सोमबार सेयर बजार परिसूचक नेप्से करिब १८ अंकले घटेको छ । बजार सुरु भएको पहिलो डेढ घन्टाको अवधिमा करिब १८ अंकले घटेको बजार मध्याह्नमा भने केही सुधारिएको थियो । तर, केही समयपछि नै घट्न थालेको बजार सोही दरमा नै घटेर बजार बन्द भएको छ । यस दिन परिसूचकका
साथै कारोबार रकम पनि खुम्चिएको छ ।

सोमबार नेप्से परिसूचक १७ दशमलव ९६ अंकले घटेर १ हजार २ सय ६ दशमलव ४३ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव ८ घटेर २ सय ५३ दशमलव ९३ बिन्दुमा सीमित भएको छ । यस दिन १ सय ६७ कम्पनीको ४ हजार २ सय ४४ पटकको कारोबारमा ४१ करोड ८ लाख रुपैयाँ बराबरको १० लाख ९७ हजार ६७ कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमको आधारमा यस दिन एभरेष्ट इन्स्योरेन्स अगाडि रहेको छ । सो कम्पनीको सोमबार १४ करोड ८० लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा पनि एभरेष्ट इन्स्योरेन्स कम्पनी नै अग्रपंक्तिमा रहेको छ । उक्त कम्पनीको यस दिन १ लाख १५ हजार ७ सय ८९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार संख्याका आधारमा भने रैराङ हाइड्रोपावर अगाडि छ । यस दिन उक्त कम्पनीको ३ सय ८८ पटक कारोबार भएको छ । कन्काई विकास बैंकको सेयरमूल्य यस दिन करिब ५ प्रतिशतले बढेको छ । त्यस्तै, साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमबार कारोबारमा आएका १० समूहमध्ये दुईवटा समूहको परिसूचक उकालो लागेको छ भने बाँकी आठ समूहको परिसूचक ओरालो लागेको छ । यस दिन बिमा समूहको परिसूचक सबैभन्दा धेरै १३० दशमलव ४२ अंकले घटेको छ । होटेल समूहको परिसूचक २२ दशमलव ३२ अंकले घटेको छ भने लघुवित्त समूहको परिसूचक २१ दशमलव ८९ अंकले घटेको छ । त्यस्तै, व्यापार समूहको परिसूचक शून्य दशमलव २५ र उत्पादन समूहको परिसूचक ७ दशमलव ४३ अंकले बढेको छ ।

नेप्सेमा नयाँ  सिइओ नियुक्त

नेपाल स्टक एक्सचेन्जका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अर्यालले मुलुकको आवश्यकताअनुसार पुँजी बजारको विकास, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रबद्र्धन गर्ने बताएका छन् । उनले सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नेपाल सरकारको गत २२ गते बसेको मन्त्रीस्तरको बैठकले अर्को निर्णय नभएसम्म उनलाई नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 प्रोग्रेसिभको २३ गतेदेखि बुक क्लोज
प्रोग्रेसिभ फाइनान्सले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि साउन २३ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले २८१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । साउन २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हाल बैंकको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । हकप्रदपछि बैंकको पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।

राधीको सञ्चालकमा गुरुङ र राजभण्डारी
राधी जलविद्युत् कम्पनीको सञ्चालकमा सुजन गुरुङ र श्रेय राजभण्डारी नियुक्त भएका छन् । कम्पनीको गत आइतबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट गुरुङ र राजभण्डारीलाई निर्विरोध चयन गरेको हो । साथै, सभाले स्वतन्त्र सञ्चालकमा सुनीता निरौलालाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु