प्रत्येक नेपालीको डिम्याट खाता खोलिने - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रत्येक नेपालीको डिम्याट खाता खोलिने

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम-

नेपाल धितोपत्र बोर्डले ‘एक नेपाली, एक डिम्याट खाता’लाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । सोमबार आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन प्रत्येक नेपालीको डिम्याट खाता खोल्ने नीति अगाडि सारेको हो ।

बोर्डले सरकारले जारी गरेको आगामी आवको पुँजी बजारसम्बन्धी नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको कार्यक्रमलाई आधार बनाई आगामी आवको नीति तथा कार्यक्रम तयार पारेको हो ।

बोर्डले विकासात्मक कार्यक्रमअन्तर्गत कानुनी संरचनाको विकास तथा सुदृढीकरण, बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि, बजार पूर्वाधारहरूमा सुधार तथा विकास, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार, बजार सहभागीहरूको व्यावसायिकता तथा स्तर अभिवृद्धि, अध्ययन र जनचेतनाअन्तर्गत विभिन्न नीति तथा कार्यक्रम तयार पारेको छ ।

नेपाल धितोपत्र बोर्डले आगामी आवमा बजार पूर्वाधार तथा सुधार योजनाअन्तर्गत उत्पादनमूलक कम्पनीलाई पनि दोस्रो बजारमा प्रवेश गराउनमा जोड दिने भएको छ । बोर्डले उक्त कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गराउन आगामी आवलाई विशेष वर्षका रूपमा मनाउने भएको हो ।

नेपाल सरकारले उत्पादनमूलक कम्पनीहरूलाई पब्लिक कम्पनी भई सर्वसाधारणमा सेयर जारी गर्न बाध्यात्मक तथा कर छुटको प्रोत्साहनमूलक व्यवस्था गरेको छ । बोर्डले हालै लागू गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको व्यवस्थाअनुसार प्रिमियममा धितोपत्र निष्कासन गर्नसक्ने व्यवस्थासमेत गरेको छ ।

तपाईको प्रतिक्रिया