ललितपुरका तीनजनामा हैजा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

ललितपुरका तीनजनामा हैजा

ललितपुरका तीनजनामा हैजाको जीवाणु देखापरेको छ । शनिबार र आइतबार झाडापखाला लागेर पाटन अस्पतालमा उपचार गर्न पुगेका उनीहरूमा हैजाको जीवाणु देखिएको हो । बिरामीको दिसा परीक्षण गर्दा हैजाको जीवाणु पाइएको अस्पतालको आकस्मिक कक्षका डा. यज्ञ पोखरेलले नयाँ पत्रिकालाई बताए ।

‘तीनैजना बिरामी ललितपुरकै स्थानीय हुन् । उपचारपछि उहाँहरू घर फर्किसक्नुभएको छ,’ उनले भने । पोखरेलका अनुसार सबै बिरामीमा हैजाको ओगावा प्रजाति भेटिएको थियो । नेपालमा प्रायः ओगावा ओ–वान प्रजातिको हैजाले झाडापखालाको महामारी गराउने गर्छ ।

विगत केही दिनदेखि अस्पताल आउने झाडा पखालाका बिरामी बढेकोसमेत बताए । पछिल्ला दिन पाटन अस्पतालको आकस्मिक कक्षमा दैनिक करिब १० जनाजति झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

शुक्रराज सरुवारोग अस्पतालमा पनि झाडापखालाका बिरामी बढे
शुक्रराज सरुवारोग अस्पताल टेकुमा पनि झाडापखालाका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । ‘दैनिक एक दर्जन बिरामी उपचारका लागि आइरहेका छन्,’ डा. शेरबहादुर पुनले भने । तर, झाडापखालाका बिरामी धेरै हुने भए पनि निकै कम मात्रै अस्पतालसम्म आइपुग्ने उनले बताए । ‘सिकिस्तै भएपछि मात्रै अस्पताल आइपुग्छन्, अधिकांश बिरामी वेलैमा नजिकको मेडिकलबाट औषधि किनेर खाएर ठीक हुन्छन् ।’

तपाईको प्रतिक्रिया