देश बिग्रिएको पार्टीको विचारले होइन, नेताको आचरणले हो : रवीन्द्र मिश्र - Naya Patrika
eNaya Patrika
  • ePaper

देश बिग्रिएको पार्टीको विचारले होइन, नेताको आचरणले हो : रवीन्द्र मिश्र

पाकिस्तान, बेलायत र नेपालमा रहेर २३ वर्ष पत्रकारितामा बिताएका रवीन्द्र मिश्र पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेको झन्डै डेढ वर्ष हुन लाग्यो । ‘खान पुगोस् दिन पुगोस्’, ‘भूमध्यरेखा’ पुस्तक लेखेका उनको ‘रवीन्द्र मिश्रका कविता’ नामक कविता संग्रहसमेत प्रकाशित छ । उनै मिश्रसँग समसामयिक राजनीतिक विषयमा रहेर नयाँ पत्रिका फेसबुक लाइभमा गरिएको अन्तरसंवादको सम्पादित अंश :

पत्रकारिता छाडेर राजनीतिमा आउनुभयो । यसपटक राष्ट्रिय दल बन्ने चाहनालाई जनताले अनुमोदन गरेनन् । कस्तो ठाउँमा आइएछ भन्ने लागेको छैन ?

बरु चाँडै आउनुपर्नेमा ढिलो गरी आइयो भन्नेचाहिँ लागेको छ । निर्वाचनमा जुन किसिमको परिणाम आयो, त्यसबाट मेरो र साथीहरूको दृढता घट्ने होइन कि झनै बढेको छ । निर्वाचनको परिणामलाई हेर्दा हामी राष्ट्रिय पार्टी बन्न सकेनौँ । तर, वास्तविकता के हो भने हामी सांगठनिक स्वरूप र कार्यकर्ताहरूको आधारविनै निर्वाचनमा गएका थियौँ, त्यसैले यो परिणामबाट सन्तुष्ट छौँ ।

हालै सुदूरपश्चिमका केही जिल्ला पुगेर फर्कनुभयो । जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

एक किसिमले त अचम्मै भयो । हामी ६ वटा जिल्लामा गयौँ, सदरमुकाममा कार्यक्रम भयो । सबै कार्यक्रममा सर्वसाधारणको उपस्थिति व्यापक रह्यो । दार्चुलामा एकजना सहभागीले भन्नुभयो, ‘हेर्नुस्, हाम्रो क्षेत्र त यस्तो छ, जहाँ कम्युनिस्टले व्यवस्थापन गरेको जंगलमा कांग्रेस घाँसदाउरा गर्न जाँदैन, त्यसैगरी कांग्रेसले व्यवस्थापन गरेकोमा कम्युनिस्ट जाँदैन ।

कांग्रेसको घरमा मान्छे मर्दा कम्युनिस्ट परिवारको सदस्य मलामी जाँदैन र कम्युनिस्टकोमा मर्दा कांग्रेस जाँदैन । कतिपय अवस्थामा त दुई परिवारबीचमा बिहाबारी पनि चल्दैन । र, तपाईंहरूको कार्यक्रममा यतिका उपस्थिति देख्दा हामी छक्क प-यौँ ।

किनकि यहाँ आएका कतिपयलाई पार्टीले स्पष्टीकरण सोध्न सक्छ र कतिपयलाई त अझ निष्कासन पनि गर्न सक्छ ।’ यो कुराबाट पनि आँकलन गर्न सकिन्छ कि माहोल कस्तो थियो भन्ने । त्यसैले जनताको सहभागितालाई हामीले निकै उत्साहका रूपमा लिएका छौँ ।

वैकल्पिक राजनीतिक धारमा रहेको नयाँ शक्ति र तपार्ईंहरूबीच सहकार्य गर्न सकेको भए निर्वाचनमा राम्रो परिणाम आउने र वैकल्पिक शक्ति पनि अघि बढ्ने थियो भन्ने महसुस भएन ?

वैकल्पिक सोच र वैकल्पिक व्यवहार भएकाहरू एकै ठाउँमा भइदिएको भए हामी सशक्त हुन्थ्यौँ भन्ने लागेको छ । तर, नयाँ शक्तिलाई वैकल्पिक पार्टी भनेर उहाँहरूले दाबी गर्नु एउटा कुरा हो, आमरूपमा र मलाई नयाँ शक्ति वैकल्पिक शक्ति हो भन्ने लाग्दैन ।

नयाँ शक्तिबाट केशव दाहाल तपाईंहरूको पार्टीमा प्रवेश गर्नुभएको घटनालाई दुई पार्टीको एकीकरणको सम्भावनासँग जोडेर हेर्न थालिएको छ नि ?

बाबुरामजीका सबल पक्षप्रति हामी श्रद्धा गर्छौं । उहाँका दुर्बल पक्ष पनि छन् । उहाँ जुन इतिहास बोकेर आउनुभएको छ, त्यही इतिहासको झोला बोकिरहनुभएको छ । त्यो झोलाको भारले हामीले सोचेको सुसंस्कृत राजनीति र वैकल्पिक राजनीतिको दर्शन वहन गर्न सक्दैन ।

नयाँ शक्ति मात्रै होइन, धेरै पार्टीमा सुसंस्कृत राजनीतिक सोच भएका वैकल्पिक राजनीतिक विचार राख्ने साथीहरू र हामी बिस्तारै एक ठाउँमा आउँछौँ । तर, पुरानो झोला बोकेर नयाँ वैकल्पिक राजनीतिको मञ्चमा अटाउन सकिन्छ जस्तो लाग्दैन ।

एकजना पूर्वसचिवले तपाईंको विचार सतही भयो, यसरी कतिन्जेल समर्थन गर्न सकिन्छ रवीन्द्रजी भन्नुभयो । अरू धेरैले पनि तपाईंहरू राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोण र धारणा राख्नुहुन्न भन्छन् । यस्तो किन ?

जसले मलाई सतहीको आरोप लगाउनुभयो, उहाँ स्पष्ट रूपमा कांग्रेसनिकट पूर्वसचिव हो । पछि मैले उहाँलाई फोन गरेर यस विषयमा सोधेँ पनि । उहाँले भन्नुभयो, ‘होइन रवीन्द्रजी एक ठाउँमा ठ्याक्क सुनेको थिएँ अनि चित्त नबुझेर लेखेँ ।’ हामी नेपालीहरू सामाजिक सञ्जालमा लेख्न खप्पिस छौँ ।

अर्को कुरा हामी राष्ट्रिय मुद्दामा छैनौँ भन्ने जुन आरोप छ, हामी आएको छोटो समय भएको हुनाले कैयौँ राष्ट्रिय मुद्दामा पार्टीको धारणा सार्वजनिक रूपमा लान पाएका छैनौँ । मिडियामार्फत जति कुरा उठाएका छौँ, त्यो आमरूपमा सबै सर्वसाधारण समक्ष पुगेको छैन ।

प्रा.डा. गोविन्द केसीको विषयमा तपाईंहरूको धारणा के हो ?

गोविन्द केसीको मामिलामा हामी प्रस्ट छौँ । उहाँजस्तो इमान बोकेको, तीन करोड जनताको स्वास्थ्यको ख्याल गर्ने, समृद्धि र सुशासनका लागि लड्ने मान्छे हामीले हतपति पाउन सक्दैनौँ । कसैले उहाँका कमजोरी छन् भन्यो भने के तपाईं र मेरा कमजोरी छैनन् ?

केही दिनअघि हामी माइतीघर मण्डलामा जम्मा भएर गोविन्द केसीको मागको समर्थनमा पनि उभिएका हौँ । आगामी दिनमा पनि पार्टीको तर्फबाट उहाँको समर्थन जारी रहनेछ ।

नन्दप्रसाद अधिकारीको अनशनरत अवस्थामै निधन भयो । अहिले उहाँकी श्रीमती गंगामाया अनशन बस्नुभएको छ । यस विषयमा तपाईंहरू बोलेको सुनिँदैन नि ?

गंगामायाले जुन न्यायको माग गर्नुभएको छ, त्यसमा दुई मत नै छैन । भोलि उहाँले उठाएको मुद्दा ठीक हो कि होइन भनेर निक्र्योल गर्ने सर्वोच्च अदालत हो । तर, उहाँको जुन न्यायको माग छ, त्यसमा हाम्रो समर्थन रहनेछ ।

वर्तमान सरकारलाई हेर्ने तपाईंहरूको दृष्टिकोण के हो ?

सरकारलाई हामीले सुरुमा शंकाको लाभ दिएकै हौँ । यसरी दुईतिहाइ मत लिएर बसेको सरकारले देशलाई समृद्धिको दिशामा अघि बढाओस् भन्ने हाम्रो प्रार्थना हो । तर, सरकारले समृद्धिको दिशामा पाइला चाल्नुको साटो अत्यन्त प्रतिगामी पाइला चाल्न थालेको देखिन्छ । अर्को कुरा सरकारले विकास बजेटको जम्मा ५० प्रतिशत मात्रै खर्च गरेको छ ।

असार लागिसकेको हुनाले अहिले असारे विकास भइरहेको छ । जस्तो कि झमझम पानी पर्दै छ र पिच पनि गरिँदै छ । सामान्य समस्यालाई सरकारले सम्बोधन गर्न सक्दैन भने उसले विकास र समृद्धि पनि दिन सक्दैन । भन्नुको अर्थ यस्ता विषय सरकारले सम्बोधन गर्न सक्दैन भने यो सरकारबाट धेरै आशा गरिने ठाउँ छैन ।

कांग्रेसले वर्तमान सरकार अधिनायकवादी भयो भन्ने आरोप लगाएको छ । तपाईंलाई के लाग्छ ?

कांग्रेसले भनेको जस्तो नभएर विवेकशीलले भनेको जस्तो अवस्थामा सरकार छ । हामीले सरकारको चरित्रलाई अधिनायकवादतिर जाने प्रारम्भिक चरण हो भनेका छौँ । सर्वोच्च अदालतले ज्यान मुद्दामा जेल हालेको व्यक्तिलाई कसले छुटायो ? गंगामाया मृत्यु शययामा हुँदा को मौन रह्यो ?

व्यापारीको हितका लागि बनेको चिकित्सा शिक्षा अध्यादेश परिमार्जन गर्ने काम कसले ग-यो ? काठमाडौंमा विरोध प्रदर्शन गर्नका लागि भनेर सीमित क्षेत्र छुट्याइएको छ, यसको अर्थ आफ्नो टोलको बाहिर बसेर हामी सरकार वा स्थानीय सरकारले गरेको भ्रष्टाचार, ढिलासुस्तीको विषयमा कुरा गर्न सक्दैनौँ । यसरी हाम्रो घरलाई पनि निषेधित क्षेत्र तोकिएको छ । हामी शनिबार–शनिबार यसको प्रतिवाद गरिरहेका छौँ र गर्नेछौँ ।

आन्दोलन र प्रतिवाद शनिबार मात्रै हुने हो कि अरू बार पनि हुने गर्छ ?

एककिसिमले भन्ने हो भने हाम्रो समाज फेसबुके चेतनायुक्त समाज बन्न लागिसक्यो । फेसबुकमा बसेर हामी गोविन्द केसीको पक्षमा व्यापक आवाज उठाउँछौँ, तर केसी १५ दिन अनशन बस्दा पनि माइतीघर मण्डलामा ५ हजार मान्छे जम्मा हुँदैनौँ ।

शनिबार आह्वान गर्नुको उद्देश्य धेरै मानिस सडकमा आऊन् भन्ने हो । त्यसकारण मैले के भन्ने गरेको छु भने गोविन्द केसी लडेको हरेक जनताका लागि हो, तपाईं हाम्रो छोराछोरीका लागि हो । तर, अहिलेका नेताहरू लडिरहेको केही धनी व्यापारीका लागि मात्रै हो ।

तपाईंले सरकार अधिनायकवादको प्रारम्भिक चरणमा प्रवेश गरिसक्यो भन्नुभयो । अब यसविरुद्ध तपाईंहरू आफैँ मात्र लड्नुहुन्छ कि कांग्रेसलगायत अन्य शक्तिसँग पनि हातेमालो गर्नुहुन्छ ?

मिल्ने मुद्दामा कुनै बिन्दुमा पुगेर सहकार्य हुन सक्ने कुरालाई म नकार्न सक्दिनँ । र, त्यो बिन्दुमा नपुग्दा एकअर्काले समर्थनमा बोल्ने अवस्था पनि हुन सक्छ । जस्तो कि भारतीय प्रधानमन्त्री नेपाल आउँदा हामीले ‘मोदीजी स्वागत छ, तर हामीले नाकाबन्दी बिर्सिएका छैनौँ’ लेखेर आफ्नै कार्यालयमा तुल टाँग्दा जसरी प्रहरी हस्तक्षेपमा तुल झिकेर लगियो त्यसको विरोधमा कांग्रेसका साथीहरूले पनि बोल्नुभयो । त्यसकारण स्थितिहरू कुनै ठाउँमा एकले अर्काको विरोधमा बोल्ने पनि हुन सक्छ र कुनै ठाउँमा आएर सहकार्य पनि हुन सक्छ ।

 

देशमा कुनै पार्टीको विचार र दस्तावेजमा समस्या भएको होइन वा विचारका कारणले देश विग्रिएको होइन । देश विग्रिएको त आचरणका कारणले हो । ०४६ साल पछि देशको चरित्र लोकतन्त्रिक थियो तर, त्यो लोकतन्त्र आडम्बरी भयो र त्यसलाई निश्चित नेताहरुले आफ्नो कब्जामा लिए र वास्तविक लोतन्त्रको अभ्यास नै हुन सकेन । त्यसैले म फेरि पनि भन्छु देश बिग्रिएको विचारले नभएर नेताहरुको आचरणका कारणले हो ।

 

प्रधानमन्त्री केपी ओली भारत र चीनको भ्रमण गरेर फर्कनुभयो, उहाँको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनलाई कसरी हेर्नुभएको छ ? यसबीच विकास र रेलको सपना पनि देखाइएको छ, आशावादी हुने ठाउँ छ ?

अहिले जुन किसिमका सहमति र सम्झौता भएका छन्, त्यसको आलोचना गर्नुपर्ने अवस्था छैन । चीनसँग जुन रेल सम्झौता भएको छ, त्यस विषयमा बहस पनि भइरहेका छन् र यसको निष्कर्ष नेपालको हितका पक्षमा हुन जरुरी छ । मेरो बुझाइमा चीनबाट नेपाल आउने रेलले पक्कै पनि नेपालको अर्थतन्त्रको विकासमा सघाउ पु-याउनेछ ।

यहाँ केही साथीहरू प्राविधिक पक्ष हेरेर त्यसमाथि टीकाटिप्पणी गरिरहनुभएको छ, भौगर्भिक पक्षहरू हेरिरहनुभएको छ । तर, संसारमा प्रविधिको निकै विकास भइसकेको छ, यस्ता समस्यालाई सुल्झाउन सक्ने प्राविधिक उत्पादन भइसकेका छन्, त्यसैले यो काम त्यति गाह्रो हो जस्तो मलाई लाग्दैन । चीनको पर्यटन क्षेत्र निकै अगाडि छ, रेलसँगै त्यहाँबाट पर्यटक नेपाल आइदिए भने मात्रै पनि त्यसले नेपाली अर्थतन्त्रमा निकै ठूलो सघाउ पु-याउँछ । यसमा कुनै दुईमत नै छैन ।

तपाईंहरूले भनेको आर्थिक समृद्धि र केपी ओलीले भनेको आर्थिक समृद्धि एउटै कुरा हो कि भिन्न ?

ओलीजीले भनेको आर्थिक समृद्धि केही निश्चित ‘क्रोनी क्यापिटलिस्ट’हरूमा केन्द्रित हुने समृद्धि हो । अहिले उहाँहरूले ल्याउन खोजेको विधेयक पनि ठ्याक्कै त्यसैसँग मिल्दोजुल्दो छ । हामीले भनेको समृद्धि समतामूलक समृद्धि हो ।

जुन तराईका देहातदेखि हिमाल, पहाडका दूरदराजका जनतासँग सम्बन्धित छ । त्यसैले समृद्धिको नारा लगाएर मात्रै हुँदैन । समृद्धिले छुन खोजेको र स्पर्श गर्न खोजेको समुदाय कुन हो भनेर छुट्याउन जरुरी छ ।

तपाईंहरूको आर्थिक नीति पुँजीवादी हो कि समाजवादी ? त्यसमा सरकार र निजी क्षेत्रको भूमिका कस्तो हुनेछ ?

हामी विशेषगरी समन्वयात्मक बजार अर्थतन्त्रमा विश्वास गर्छौं । यो अर्थशास्त्र नपढेकाहरूका लागि केही नौलो किसिमको शब्दावली हुन सक्छ । तर, त्यसको मूल सार अहिले संसारमा पुँजीवादी अर्थव्यवस्था मात्र लागू गर्दा त्यसले धनी र गरिबबीचमा एउटा ठूलो खाडल सिर्जना ग¥यो र त्यो एउटा निश्चित वर्गको हितमा मात्र केन्द्रित रह्यो ।

हाम्रै छिमेकी चीनले आफूलाई साम्यवादी राष्ट्र भने पनि खुला बजार अर्थतन्त्र अवलम्बन गरेको छ । त्यसैको परिणाम हो चीन संसारमै सशक्त अर्थतन्त्रको रूपमा आएको छ । अब यी दुई राम्रा पक्षलाई समेट्दा जस्तो अर्थतन्त्रको निर्माण हुन्छ, त्यही समन्वयात्मक बजार अर्थतन्त्र हो । यस्तो खाले अर्थतन्त्र जर्मनी, जापान र अन्य कैयौँ मुलुकले अवलम्बन गरेका छन् ।

यहाँ सरकारले आफूलाई समाजवादी भन्छ, तर सिन्डिकेटको समस्या जस्ताको त्यस्तै छ । यो नहट्नुको कारण समन्वयात्मक अर्थतन्त्र नहुनु हो । यसमा हामीले व्यवसायी, उद्योगीहरूलाई पखेटा फिजाएर काम गर्न दिनुपर्छ तर पखेटा फिजाएर काम गर्न दिँदा मुगु, दार्चुला, जनकपुर र राजविराजका गाउँका जनताले सुविधा पाउँछन् कि पाउँदैनन् ? भन्ने कुरा ख्याल गर्नुपर्छ ।

पहिला सबैले यस्तै गफ दिन्छन्, पछि बिर्संदै जान्छन्, कांग्रेसभन्दा फरक विचार छैन भन्ने आरोप तपाईंहरूमाथि लाग्ने गर्छ । वास्तवमा पार्टीका खासखास एजेन्डा के–के छन् ?

अब मैले के गरेर देखाऊँ ? छाती काटेर देखाऊँ ? त्यो सम्भव छैन । पहिले हामीले हाम्रै एजेन्डाका बारेमा देशको परिस्थितिको बारेमा छलफल गर्ने हो र हाम्रो विगत हेरेर हामीलाई विश्वास गर्नुस् भन्ने हो । अरूले पनि यस्तै कुरा गर्थे र हामीले पनि त्यस्तै कुरा गरेका छौँ भन्ने तपाईंसँग आधार के छ ?

किनभने हामीले अहिलेसम्म राजनीतिक रूपमा कुनै क्षेत्रको नेतृत्व गरेका छैनौँ । त्यसैले हामीजस्ता मान्छे यहाँ संलग्न भएका छौँ, हामीलाई विश्वास गरिदिनुस् भनेर आग्रह गर्ने हो ।

कतिले हामीलाई कांग्रेसजस्तो देखियो भन्छन्, तर हामी र कांग्रेसमा धेरै फरक छ । हामीले हाम्रो दर्शन कल्याणकारी लोकतन्त्र भनेका छौँ भने कांग्रेसले प्रजातान्त्रिक समाजवाद भनेको छ । समाजवाद भनेको एक किसिमले पुरानो राजनीतिक शब्दावली हो । समाजवादको ‘फ्रेमवर्क’ यति खुकुलो छ कि त्यहाँ कांग्रेस पनि अटाउँछ र कम्युनिस्ट पनि अटाउँछ ।

त्यहाँ चाइना पनि अटाउने भयो र युरोपका धेरै देश पनि अटाउने भए । त्यसकारण हामीले भनेको जुन राज्य व्यवस्था छ, त्यसको आधार कल्याणकारी हुनुपर्छ । हामीले चाइनाको जस्तो समृद्धि खोजेको होइन । त्यसैकारणले हामीले कल्याणकारी लोकतन्त्र भनेका हौँ ।

लोकतन्त्र भनेर कुनै निश्चित समूहले मात्रै सम्पूर्ण सुविधा भोग पनि नगरोस् र त्यसमा कल्याणको लेप लगाउन सकियोस् । त्यसो भयो भने समाज धेरै सुसंस्कृत, सुखी र खुसी हुन्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले कांग्रेस र हाम्रो बीचमा ठूलो वैचारिक भिन्नता छ ।

म के पनि भन्न चाहन्छु भने देशमा कुनै पार्टीको विचार र दस्ताबेजमा समस्या भएको होइन वा विचारका कारणले देश बिग्रिएको होइन कि देश बिग्रिएको त आचरणका कारणले हो । ०४६ सालपछिको देशको चरित्र लोकतान्त्रिक थियो, तर त्यो लोकतन्त्र आडम्बरी भयो र त्यसलाई निश्चित नेताले आफ्नो कब्जामा लिएर बसे, त्यसैले वास्तविक लोकतन्त्रको अभ्यास नै हुन सकेन । त्यसकारण म फेरि पनि भन्छु, देश बिग्रिएको विचारले नभएर नेताहरूको आचरणका कारणले हो ।

विवेकशील साझाको मूलभूत प्राथमिकताका विषय के–के हुन् ?

देशको राजनीतिक बेथिति अन्त्य गर्ने, प्रशासनिक संरचना सुधार गर्ने र देशलाई समृद्धिको बाटोमा अघि बढाउने हो भने हाम्रो मूलभूत प्राथमिकतामा सबैभन्दा पहिला भ्रष्टाचारको अन्त्य पर्छ । अहिले हामी विश्वमा नै भ्रष्टाचारमा निकै अगाडि रहेका छौँ र यसको अन्त्यका लागि मूलभूत रूपमा हाम्रो कर्मचारीतन्त्र र एउटा राजनीतिक खेमा जिम्मेवार छ ।

यसलाई कसरी सम्बोधन गर्ने त भन्दा कतिपयले भ्रष्टाचारको जालो निकै ठूलो भएकाले निक्र्योल पार्न गाह्रो छ भन्छन्, तर अख्तियारमा इमानदार र सक्षम एक प्रमुख आयुक्त र पाँच आयुक्त मात्र नियुक्त गर्ने हो भने त्यसले नेपालको भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

तर, त्यसो हुन सकेको छैन । किनभने राजनीतिज्ञलाई आफ्नो सुरक्षा चाहिएको छ । अर्को कुरा सम्पत्ति शुद्धीकरण विभागमा राम्रो निर्देशक ल्याउने हो भने मात्र पनि धेरैको पोल खुल्न सक्छ । यसरी दुई–चारजना ठूला माछालाई प्रहार गर्ने हो भने अन्य साना माछाको आफैँ भागाभाग हुनेछ ।

त्यस्तै, नेपालजस्तो देशमा राष्ट्रिय योजना आयोगले बजेट छरपस्ट पार्ने काम गर्नु हुँदैन । पहिले मुख्य आवश्यकताका सन्दर्भमा योजनाहरू बनाउने, त्यसको कार्यान्वयन गर्ने र त्यसपछि मात्र जुम्ला, हुम्ला, कालिकोट, मुसिकोटमा बाटो फराकिलो पार्ने कुरा योजनामा पार्नुपर्छ ।

यसो मात्र हुन सकेको खण्डमा देशको अर्थतन्त्र आफैँ एउटा बिन्दुमा पुग्नेछ । यसो नहुँदासम्म वैशाख सकिएपछि विकासका नाममा रातारात बटो पिच भइरहने नै छन् । त्यसैले अर्थतन्त्रलाई सही बाटोमा ल्याउने हाम्रो अर्को प्रमुख लक्ष्य हो ।

त्यसैगरी, देशका सरकारी विद्यालयको अवस्थालाई सुधार नगरी विकासको सम्भावना नै छैन । यति धेरै विज्ञ छन्, अन्तर्राष्ट्रिय सल्लाहकार आएर शिक्षा मन्त्रालयलाई सुझाब दिन्छन् । सरकारी विद्यालयमा पढ्ने ८० प्रतिशतको हाराहारीमा विद्यार्थी पहिला एसएलसीमा फेल हुन्थे र अहिले एसइईमा न्यून ग्रेड ल्याउँछन् ।

१ कक्षामा १५ लाख विद्यार्थी भर्ना हुन्छन्, तर एसइई दिँदा साढे चार लाख विद्यार्थी मात्र हुन्छन् । गाउँ–गाउँमा पुगेर हेर्ने हो भने सरकारी स्कुलहरू ०१०, ०१५, ०१७ सालको फेरोफेरोमा स्थापना भएका छन् र भौतिक रूपमा हाल पनि उही अवस्थामा छन् । नेपालमा रहेका ३० हजार सरकारी स्कुलमध्ये करिब ५ हजारमा मात्र राम्रा लाइब्रेरी छन् ।

अब सरकारी शिक्षालाई दरिलो नबनाई कसरी दक्ष जनशक्ति उत्पादन गर्ने ? अर्को कुरा प्राइभेट स्कुलबाट उत्पादित जनशक्ति नेपालमै निकै न्यून रूपमा खपत भएको अवस्था छ । यो त विकसित देशका लगि जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री भएको छ । त्यसैले अर्को हाम्रो प्रमुख प्राथमिकता शिक्षा हो ।

नेपालको ‘सोसल इन्जिनियरिङ’ अथवा नीति निर्माण तहमा युरोपियन युनियन र शक्तिको चलखेलमा भारतीयहरू अगाडी छन् भन्ने गरिन्छ । त्यसैगरी नेपालको विभिन्न मन्त्रालयहरूमा आइएनजीओका १५० भन्दा बढी कार्यक्रम सञ्चालनमा छन् । भर्खरै मात्र प्रदेश सांसदहरूलाई कस्तो कानुन बनाउने भनेर एउटा आइएनजिओले तालिम दिइरहेको छ, तर यस्ता विषयमा तपाईंहरू बोलेको सुनिँदैन । तपाईंका पार्टीका सदस्य त्यही पृष्ठभूमिबाट आएका भएर हो ?

पहिलो, हाम्रो वेबसाइट हेर्नुभयो भने नेपालको कुनै पनि दलले नगरेको काम हामीले गरेका छौँ । कूटनीतिक निर्देशिका बनाएका छौँ । हाम्रा केन्द्रीय नेताहरूले विदेशीसँग कसरी सम्पर्क, सम्बन्ध कायम गर्ने भनेर हमीले स्पष्ट उल्लेख गरेका छौँ ।

दोस्रो, नेपालको राजनीति, प्रशासन र अन्य क्षेत्रमा विदेशीहरूको जस्तोखाले हस्तक्षेप हुने गरेको छ, त्यो हामी आफैँले निम्त्याएको हो । हाम्रा कतिपय यस्ता ठाउँ छन्, जहाँ हामीले विदेशी सहयोग लिन हुँदैनथ्यो तर लिइरहेका छौँ । यी सबै विषय घोषणापत्रमा उल्लेख गरेका छौँ ।

 

ओलीजीले भनेको आर्थिक समृद्धि केही निश्चित ‘क्रोनी क्यापिटलिस्ट’हरूमा केन्द्रित हुने समृद्धि हो । हामीले भनेको समृद्धि समतामूलक समृद्धि हो । जुन तराईका देहातदेखि हिमाल, पहाडका दूरदराजका जनतासँग सम्बन्धित छ । त्यसैले समृद्धिको नारा लगाएर मात्रै हुँदैन । समृद्धिले छुन खोजेको र स्पर्श गर्न खोजेको समुदाय कुन हो भनेर छुट्याउन जरुरी छ ।

 

पछिल्लो समय नेपाल मात्र नभएर दक्षिण एसिया नै केजरिवालको लोकप्रियतावादी ज्वरोबाट प्रभावित छ । तपाईंहरूलाई पनि त्यही शैलीमा सत्तामै जानुपर्छ भन्ने किन लाग्यो ? दबाब समूहकै रूपमा बस्न नसकिने हो ?

तपाईंले जसरी प्रश्न सोध्नुभयो त्यसरी न्यूनीकरण गर्न मिल्दैन । भारतमा सयौँ होइन, हजारौँ दबाब समूह छन् तर त्यसबाट एकजना मात्रै राजनीतिमा प्रवेश गरेका हुन् । त्यसैगरी स्पेन र इटालीमा पनि प्रवेश गरेका छन् । विश्वका अन्य धेरै ठाउँमा सामाजिक अथवा नागरिक दबाबको क्षेत्रमा काम गरेकाहरू राजनीतिमा आएका छन् ।

नेपालमा सबैजना आउनुपर्छ होइन कि आइदिनुस् न बाबा भन्दा पनि आउँदैनन् । किनभने सबैको आ–आफ्नो लगावको क्षेत्र हुन्छ र सबैले आ–आफ्नो मूल्यांकन गरेका हुन्छन् । भारतमा पनि पहिले नागरिक आवाजको रूपमा, दबाब समूहको रूपमा काम गर्ने र खुत्रुक्क राजनीतिमा हाम फाल्ने गरेका हुन् भनेर न्यूनीकरण गर्न मिल्दैन । तपाईंले भनेजसरी भविष्यमा पनि गर्दैनन् ढुक्क भए हुन्छ ।

अब जहाँसम्म मेरो सवाल छ, पत्रकारिता अथवा लेखनबाट मैले एककिसिमको प्रभाव कामय गरेको भए पनि त्यसको दायरा साँघुरो थियो । मलाई के महसुस हुन थाल्यो भने देशको मूल नीति राजनीति नसुध्रने हो भने नेपालजस्तो देश, जहाँ राज्यले बलियोसँग काम गर्न सकेको छैन, त्यस्तो देशमा पूर्ण विश्वासका साथ म राजनीतिक रूपमा हस्तक्षेप गर्छु र सिंगो राजनीतिलाई बदल्छु भन्ने हो भने त राजनीतिमा आउनुप-यो । नेपाल पूरै सिस्टममा चलेको मुलुक होइन, त्यसैले यहाँ विदेशमा सोचे र भने जस्तो हुँदैन । यहाँ हामीले राजनीतिको चरित्रलाई, राज्यका अंगहरूलाई नै बदल्नु पर्नेछ । त्यसैले त्यो बदल्छु भन्ने विश्वासका साथ म राजनीतिमा आएको हो । फुत्त उफ्रेर राजनीति गर्छु भनेर आएको होइन ।

अबको पाँच वर्षमा तपाईंको पार्टीले के–के गर्ने लक्ष्य लिएको छ ?

विवेकशील र साझा मिलेको एक वर्ष पुग्न लाग्यो । त्यो एक वर्षभित्र हामीले राष्ट्रिय निर्वाचन लड्यौँ । राष्ट्रिय चुनावमा केही गर्न सकेनौँ भनिन्छ, त्यसो त हामीसँग के थियो र ? ३–४ महिनाका बीचमा निर्वाचन लडेर दुई लाख १२ हजार भोट ल्यायौँ र हामी छैटौँ पार्टी बन्न सफल भयौँ । यो केही होइन भन्ने पक्षमा हामी छैनौँ ।

छोटो अवधिमा हासिल गरेको उपलब्धिलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । अबको लक्ष्य के हो भन्दा पहिलो, संगठन विस्तार । दोस्रो, सदस्यता वितरण र तेस्रो, आम जनसरोकारका मुद्दामा जनताको आवाजलाई मुखरित गर्ने र इमानदार प्रतिपक्षको भूमिका खेल्ने हो ।

इमानदारिताका साथ प्रयास हुने हो भने तपाईंको विचारमा समृद्धि कति वर्षमा हासिल गर्न सकिएला ?

संसारको उदाहरण हेर्नुभयो भने १५–२० वर्षको अवधिमा विभिन्न देशहरू व्यापक रूपमा परिवर्तन भएका छन् । २५–३५ वर्षको अवधिमा ज्यादै नै ठूलो परिवर्तन देख्न सक्छौँ । नेपालको हकमा जुन किसिमको स्रोत–साधन लिएर हामी बसेका छौँ । यस्तो स्रोत–साधन बिरलै प्राप्त हुन्छ । त्यसैले साँच्चै इमान र क्षमता भएको नेतृत्व हुने हो भने नेपालले रूपान्तरण गर्न १५ वर्षभन्दा बढी लाग्दैन भन्ने हाम्रो विश्वास हो ।

तपाईंकै पार्टीमा पनि दुई अध्यक्ष हुनुहुन्छ । तपाईंहरूको पार्टी पनि जेट हो ? आचरणको कुरा पटक–पटक गर्नुभयो तपाईंहरूको आचरण ठीक छ भन्ने आधार के हो ?

विवेकशील साझामा जसरी दुईजनाको नेतृत्व छ, त्यो ४–५ जना भइदिएको भए हामीले त्यस्तो गर्दैनथ्यौँ । तर, दुवै भर्खर अस्तित्वमा आएका पार्टी भएकाले महाधिवेशनसम्मका लागि त्यसले फरक पर्दैन भनेर यसो गरिएको हो । यसले पार्टीलाई झन् बलियो गरी अघि बढाउन सघाउ पु-याएको छ ।

विश्वास गर्ने आधार के भन्ने सवालमा हामीले सरकारको नेतृत्व गरिसकेको भए तिमीहरूले यस्ता–यस्ता नचाहिने काम ग-यौ त्यसैले विश्वास गर्ने आधार के भन्न हुन्थ्यो । अहिलेसम्म हामीले सरकारको नेतृत्व नगरेका हुनाले अहिले हामीलाई विश्वास गर्ने पहिलो आधार हामीले कस्तो सोच र दृष्टिकोण लिएर अघि बढेका छौँ ।

दोस्रो, हाम्रो पृष्ठभूमि हेरेर हामीले गरिरहेको राजनीतिक गतिविधिको आधारमा हामी त्यो इमान र क्षमता भएका व्यक्ति हौँ कि होइनौँ, भनेर मूल्यांकन गरिदिनुप-यो ।

हाम्रोमा ‘सुइङ भोटर’ नभएको अवस्थामा रवीन्द्र मिश्रलाई फेरि पत्रकारितामा स्वागत गर्नुपर्ने हो कि ?

तपाईंले प्रार्थना गरिदिनुस् न । यो पार्टी साँच्चै देशको नेतृत्वमा पुगोस् । तपाईंको छोराछोरीका लागि यसले देश बनाओस् । बितेको २०–२५ वर्षमा नेपाली समाजलाई हामीले यस्तो बाक्लो राजनीतिक रङ लगाइदिएछौँ कि त्यो कल्पना गरिसाध्य छैन ।

चुनावी अभियानका क्रममा बानेश्वर पुग्दा एकजना मतदाताले के भन्नुभयो भने तपाईंहरू आउनुभयो राम्रो भयो । तर, हामी त ‘फलानो’ पार्टीको मान्छे हो भोट त उहाँलाई नै दिनुपर्छ । उहाँहरू तपाईंहरू राम्रो मान्छे हो भन्न पनि छोड्नुहुन्न र भोट त हामीले उसैलाई दिने हो पनि भन्नुहुन्छ । यो हाम्रो समाजको चरित्र हो, जुन समाजमा गहिरो गरी बसेको छ ।

त्यसैले हामीले अबको १० वर्षपछि मेरो घरअगाडिको बाटो कस्तो हुने, छोराछोरीले खेल्ने पार्क कस्तो हुने, छोराछोरीले विषादी हालेको तरकारी खानुपर्ने कि नपर्ने, आफू बूढो हुँदा राज्यले उपचार सेवा दिने कि नदिने भन्ने जस्ता विषय सोच्नुपर्ने वेला आइसकेको छ, अनि मात्र समाजमा परिवर्तन हुन्छ ।

त्यसैले मैले के भन्ने गरेका छु भने राजनीति मात्र होइन, यो देशका मतदाता पनि परिवर्तन हुनुपर्छ । मतदाताको मन र मत परिवर्तन नभई देश परिवर्तन हुँदैन ।

छुट्टै पार्टी भनेर जनताको मत लिनुभयो अनि संसद्मा आफ्नो मत लगेर कांग्रेसलाई दिनुभयो । यदि कांग्रेसलाई नै दिनु थियो भने तपाईंहरूलाई किन रोज्ने ?

एक दुइटा कुरा बुझ्न जरुरी छ । पहिलो, हामीले राधेश्याम अधिकारीका बारेमा कुरा गर्दा हामीले पार्टीमा केही छलफल ग-याैँ । पहिले हामीले आफ्नो उम्मेदवार किन नउठाउने भनेर सोच्यौँ र त्यस्ता व्यक्तिसँग छलफल पनि चलायौँ तर उहाँहरूले मान्नुभएन ।

दोस्रो, निर्वाचनमा भाग लिने कि नलिने भन्दा हामी चुनावबाट भाग्न मिल्दैन भनेर निर्वाचनमा जाने भयौँ । तेस्रो, एमालेका उम्मेदवारलाई समर्थन गर्ने त भन्दा हामीले त्यो गर्नु हुँदैन किनभने हामी प्रतिपक्षी हौँ भनेर कांग्रेसलाई समर्थन गरेका हौँ । त्यसपछि राधेश्याम अधिकारीको नाम आएको हो ।

उहाँको नाम आउनेबित्तिकै भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्छ भन्नुभयो । कुनै पनि मुद्दामा कसुर भोगिसकेका मान्छेले सामान्य जीवन जिउन दिने कि नदिने जस्ता बाहिर कैयौँ बहस छन् । राधेश्यामजीको भनाइ कानुनी, राजनीतिक र सामाजिक बहसको विषय थियो ।

त्यसको आधारमा राधेश्यामजीलाई भ्रष्टाचारी भन्न मिल्छ ? राधेश्यामजीको यो कुरासँग हामी सहमत छैनौँ, तर उहाँ राष्ट्रिय सभाका लागि उपयुक्त व्यक्ति हो भन्ने स्पष्ट पा-यौँ त्यसैअनुसार उहाँलाई समर्थन गरेको हो । र त्यो विषयमा हामीलाई कुनै पश्चात्ताप छैन ।

हामी नयाँ गर्छौं भनेर महिलाहिंसाको अन्त्य गर्नुपर्छ भन्दै पुरुषले फरिया लगाएर प्रदर्शन गर्नु कति जायज हो ?

विरोधका विभिन्न रूप हुन्छन् । विरोध गर्दा के उद्देश्य हुन्छ भने आम सर्वसाधारणको ध्यान आकर्षित होस् । त्यसकारण महिलाहिंसाका विरुद्ध प्रतीकात्मक विरोधका लागि हाम्रा एकजना मित्रले फरिया लगाएर सडकमा उभिनुभएकोमा त्यस्तो आपत्ति गर्नुपर्ने केही छैन ।

तथापि महिलाको दृष्टिकोणबाट हामीले विषयलाई नहेरेको हुन सक्छ, त्यसमा भने हामी सचेत छौँ । तर, एउटा युवा बालुवाटारमा एक महिनाभन्दा बढी समयसम्म त्यसरी उभिन्छ भने म त्यसमा गर्व गर्छु ।

तपाईको प्रतिक्रिया