३० पटक रक्तदान गरिसकेँ : शेरबहादुर तामाङ - Naya Patrika
eNaya Patrika
  • ePaper

३० पटक रक्तदान गरिसकेँ : शेरबहादुर तामाङ

नियमित व्यायाम गर्छु
म नियमित हिँड्छु । घरवरपर माथि–तल गर्छु । पन्ध्र सयदेखि दुई हजार पाइला हिँडेकै हुन्छु । यति हिँडेपछि पसिना आउँछ । त्यसपछि दुबो भएको चौरमा योगाका केही स्टेप गर्छु । प्रायः प्रणायाम, ध्यान गर्ने गरेको छु । यो सबै काम बिहान एक घन्टाभित्र गरिसकेको हुन्छु । मैले यो कार्य गर्न थालेको ०५८ सालदेखि नै हो । टेलिभिजन हेरेर सिकेको हुँ । स्वस्थ रहनका लागि योगा गर्नुपर्छ भन्ने लागेर गर्न थालेको हुँ । यसले मलाई फाइदा नै भएको छ । म स्फुर्त छु । मेरा लागि हिँडाइ सबैभन्दा राम्रो व्यायाम हो जस्तो लाग्छ । कतै जाँदा हिँड्नुपर्ने ठाउँ भए खुसी हुन्छु । तीन अथवा चार तलामा उक्लनुपर्ने छ भने भ-याङबाटै उक्लने गरेको छु ।

साधारण नेपाली खाना
म साधारण नेपाली खाना खान्छु । किसान परिवारमा जन्मेकाले पनि होला सानैदेखि यस्तै बानी बस्यो । मकै अथवा कोदोको ढिँडो एकदम मनपर्छ । समय–समयमा खाइरहन्छु । खानामा यही चाहिन्छ भन्ने छैन । उसिनेको मकै अथवा रोटी र फर्सीको मुन्टा मात्र खाएर पनि बस्न सक्छु । मलाई यस्तो खाना एकदम मनपर्छ । अहिले उसिनेको मकै र फर्सीको मुन्टा खाने सिजन छ, समय–समयमा खान्छु । यसले स्वास्थ्यका लागि पनि फाइदा नै पु-याउँछ । यो समयमा यो खाना खाने भनेर तालिका बनाएको छैन । भोक लागेको समयमा जे भए पनि हुन्छ । सकेसम्म भोको बस्नचाहिँ हुँदैन । खाना खाँदा टन्न खानु हुँदैन भन्ने मान्यता राख्छु ।

मासु अलि बढी खान्छु
मेरो एउटा खराब बानीचाहिँ मासु धेरै खाने छ । एकैपटक धेरै होइन तर नियमित खाइरहूँ जस्तो लाग्छ । कहिलेकाहीँ त नियमित हरेक छाकमै पनि खान्छु । यसलाई अलि कम गर्नु छ । स्वास्थ्यका लागि खसीको मासु एकदम कम खानुपर्छ तर यसकै मासु मलाई धेरै मनपर्छ । खसी, सुँगुर, राँगा, कुखुरा, माछा सबै खान्छु । ब्रोइलर कुखुराको मासुमा चाहिँ रुचि लाग्दैन । एकदम कम खान्छु ।

सबै कुरा मीठो मानेर खान्छु
म सबै कुरा मीठो मानेर खान्छु । यो खानुपर्छ, त्यो खानु हुँदैन भन्ने कुरामा विश्वास लाग्दैन । सबै खाने चिज हो । खानाका लागि बनेका चिज यीचाहिँ खानुहुँदैन भन्ने कुरामा विश्वास लाग्दैन । सबै खानुपर्छ तर त्यसको मात्रामा चाहिँ ख्याल गर्नुपर्छ । हामीले ख्याल गर्ने भनेको नै खानाको मात्रामा हो । मात्रा मिलाएर खाने हो भने खानाले कहिल्यै नकारात्मक असर गर्दैन । सबै खानाको विशेषता हुन्छ अर्थात् सबै खानाबाट केही न केही तत्व पाइन्छ । त्यसैले सबै खाना खाने र त्यसको मात्रामा ध्यान दिनुपर्छ जस्तो लाग्छ । मैले पनि त्यही गर्ने गरेको छु ।

मेरो रोजाइ : विषादीरहित खाना
सधैँ विषादीरहित खाना खाने प्रयास रहन्छ । हरियो सागपात किन्दा एक रात पानीमा भिजाएर मात्र खाने गरेका छौँ । यस्तो गर्दा सागमा लागेको विषादी केही कम हुन्छ । लहरा जाने सागहरू फर्सीको मुन्टा, स्कुस, स्कुसको मुन्टा, फर्सीजस्ता तरकारीमा विषादी हुँदैन । अन्य सागसब्जी पनि एक रात भिजाएर खाइरहेको हुन्छु । सम्भव भएसम्म स्वस्थ खाना खाने प्रयास रहन्छ ।

दूधदही
दूधदही सानैदेखि बानी परेको छ । घरमा पहिलादेखि गाई, भैंसी पालिन्थ्यो । पानी नमिसाएको दूध खाने बानी छ । तर, यस्तो दूध खान गाउँ नै जानुपर्छ । गएका वेला खान्छु । दही पनि चिनी नमिसाएको मनपर्छ । गर्मी मौसममा शीतल पनि हुने भएकाले खान्छु ।

मौसमी फलफूल
फलफूल मलाई मनपर्छ । यही भन्ने छैन । मौसमअनुसारको फलफूल खान्छु । अहिले आँप, लिच्चीलगायत बजारमा पाइने फलफूल खान्छु । नियमितचाहिँ हुँदैन । मन लागेका वेला अथवा पाएका वेला खाने हुन्छ । मौसमी फलफूल हाम्रो शरीरका लागि पनि महत्वपूर्ण हुन्छ । खानामा नपाइने तत्वहरू पाइने हुँदा मौसमी फलफूल खानुपर्छ ।

उमालेको पानी
मैले नियमित उमालेको पानी पिउने गरेको छु । जहाँ भए पनि उमालेको पानी पिउँछु । कार्यक्रममा हिँडिरहनुपर्ने भएकाले गाउँतिर पनि धेरै गइरहनुपर्छ । त्यसवेला पनि म उमालेको पानी नै मागेर पिउँछु । यसले पनि मेरो स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गरेको छ जस्तो लाग्छ ।
मलाई पानी पिइरहनुपर्छ, उमालेर मनतातो भएको । बिहान उठेपछि मनतातो पानी तीन ग्लासजति पिउँछु । यसले पाचन प्रक्रिया पनि राम्रो बनाउँछ ।

धूम्रपान, मद्यपान गर्दिनँ
मलाई मद्यपानको लत लागेन । यस अर्थमा म ‘नन अल्कोहोलिक’ हुँ । तामाङ परिवारमा जन्मेको भएर हाम्रो सांस्कृतिक हिसाबले जाँड, रक्सी नभई हुँदैन, त्यसैले बच्चा वेला अलि–अलि खाइयो । जाँड, रक्सीको स्वाद थाहा भए पनि लतको रूपमा पिइनँ । खोइ किन हो मन परेन । अहिले वाइनसम्म पनि पिउँदिनँ ।

त्यस्तै, धूम्रपान पनि गरिनँ । सानो छँदा बुबा तमाखु पिउनुहुन्थ्यो । बुबालाई तमाखु सल्काइदिनुपर्दा कहिलेकाहीँ एक सर्को तान्थेँ तर त्यसले मलाई एकदम खोकी लाउँथ्यो । त्यसैले मन पर्दैनथ्यो । चुरोट कहिल्यै तानिनँ । कहिलेकाहीँ सम्झँदा धन्न लत लागेन रहेछ भन्ने लाग्छ । अहिले त देशबाहिर जाँदा प्लेनमा दिइने एप्पल जुसले समेत रिंगाएजस्तो लाग्छ ।

सकारात्मक सोच राख्छु
कुनै पनि काम अथवा व्यक्तिप्रति नकारात्मक सोच राख्न आउँदैन । जहिल्यै सकारात्मक सोचका साथ काम सुरु गर्छु । कुनै पनि काम सुरु गर्दा भएन भने ? भन्ने विचार मनमा आउँदैन । पूरा हुन्छ भनेर गर्छु । अहिलेसम्म मैले सुरु गरेका काम सोचेजस्तो नभएको एकदम कम छन् । यदि भएन भने पनि त्यसलाई सिकाइको रूपमा लिन्छु । सकारात्मक सोचले मानिसको सक्रियतालाई बढाउँछ । आत्मबल अथवा मनोबल पनि बढाएको लाग्छ । सदैव सकारात्मक दृष्टिकोण लिएर अघि बढ्छु ।

म साधारण नेपाली खाना खान्छु । किसान परिवारमा जन्मेकाले पनि होला सानैदेखि यस्तै बानी बस्यो । मकै अथवा कोदोको ढिँडो एकदम मनपर्छ । समय–समयमा खाइरहन्छु । खानामा यही चाहिन्छ भन्ने छैन । उसिनेको मकै अथवा रोटी र फर्सीको मुन्टा मात्र खाएर पनि बस्न सक्छु । मलाई यस्तो खाना एकदम मनपर्छ ।

६ रातसम्म नसुती काम गरेको छु
स्वस्थ भयौँ भने हामी निरन्तर काम गर्न सक्छौँ । नियमित व्यायाम, ताजा खाना खायौँ भने स्वस्थ रहिरहन सक्छौँ । स्वास्थ्यका लागि निद्रा पुगिन्जेल सुत्नुपर्छ । यो सत्य हो । तर मजस्ता राजनीतिकर्मीलाई समय मिलाउन गाह्रो हुन्छ । कहिलेकाहीँ निरन्तर नसुती काम गर्नुपर्ने हुन्छ । काममा आफू सहभागी नभई राम्रो प्रतिफल आउने सम्भावना कम हुन्छ ।

मसँग निरन्तर ६ रातसम्म नसुतेर काम गरेको अनुभव छ । खानामा ब्यालेन्स, सकारात्मक सोच र स्वस्थ पानी पिएकै कारण यो सम्भव भएको हो । सँगै काम गर्दा साथीहरू एक अथवा दुई रातसम्म नसुतेका कारण सन्चो भएन भनेर तेस्रो दिनदेखि काम गर्न सकेनन् तर मैले गरेँ । विशेष गरेर निर्वाचनका वेला धेरै दौडधुप गर्नुपर्छ । मैले कहिल्यै घरमा बसेर आराम गरिनँ । जहिल्यै फिल्डमा रहेँ । पदअनुसारको जिम्मेवारी बढ्दै जान्छ । मैले अहिलेसम्म सफलतापूर्वक जिम्मेवारी निभाइरहेको छु । निरन्तर काम गरिरहेको छु ।

नियमित रक्तदान गर्छु
सामान्य रुघाखोकीबाहेक अरू स्वास्थ्य समस्या देखिएको छैन । म नियमित रूपमा रक्त परीक्षण गर्छु । किनभने म नियमित रक्तदाता पनि हुँ । मैले अहिलेसम्म तीसपटक रक्तदान गरिसकेको छु । रक्तदान गर्नु सेवा हो, मेरो बुझाइमा । रक्तदान हरेक तीन महिनामा गर्न सकिने सेवा हो । मैले हरेक तीन महिनामा नगरे पनि नियमित गरिरहेको छु । पछिल्लोपटक गणतन्त्र दिवसको अवसर पारेर रक्तदान गरेको थिएँ ।

मैले दिएको रगतले कसैको जीवन बाँच्छ भने त्योभन्दा खुसीको कुरा अरू हुँदैन । आखिर रगत जति दिए पनि सकिने चिज होइन । मानवीय रूपमा गर्न सकिने सजिलो सहयोग हो यो ।

तामाङ, कानुनमन्त्री हुन् ।

तपाईको प्रतिक्रिया