प्रदेश ५ सरकारले विद्युतीय र पर्यटक बस सञ्चालन गर्ने - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

प्रदेश ५ सरकारले विद्युतीय र पर्यटक बस सञ्चालन गर्ने

प्रदेश ५ सरकारले प्रदेशका मुख्य सहरहरूमा विद्युतीय बस सञ्चालनको तयारी गरेको छ । सरकारले रूपन्देही, दाङ र बाँकेका सहरमा यस्ता बस सञ्चालन गर्ने तयारी गरेको हो । ठूला सहरमा विद्युतीय बस, बुद्ध सर्किटमा पर्यटक बस सञ्चालन गर्ने तयारी भएको हो ।

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीका अनुसार पर्यटन क्षेत्रको विकासका लागि यस्ता बस उपयुक्त हुने भएकाले सञ्चालनको तयारी गरेको हो । पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएको सरकारले प्रदेशका सम्भावित महानगरलाई लक्षित गरेर बस सञ्चालनको तयारी गरेको हो । विद्युतीय बसले यात्रुलाई थप सहजता हुनुका साथै वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने मन्त्री गिरीको भनाइ छ ।


तीन महानगर बनाउने योजना
विद्युतीय बस सञ्चालन गर्ने तीनवटै सहरलाई महानगर बनाउने योजना प्रदेश सरकारले बनाएको छ । बुटवल तथा भैरहवालाई समेटेर एउटा तथा दाङमा एक र नेपालगन्जमा एक गरी तीन महानगर बनाएर विकास गर्ने प्रदेश सरकारको योजना छ । मुख्यमन्त्री शंकर पोखरेलले महानगरलाई फरक देखाउन विद्युतीय बस सञ्चालनको तयारी गरेको बताए ।

बुद्ध सर्किटमा पर्यटकीय बस
प्रदेश सरकारले तीन मुख्य सहरमा विद्युतीय बस सञ्चालनका साथै रुपन्देही, नवलपरासी र कपिलवस्तुका बुद्धसँग सम्बन्धित स्थलहरूमा पर्यटकीय बस सञ्चालनको सोच अगाडि बढाएको छ । पर्यटकीय बस सञ्चालनका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसी प्रदेशको पर्यटन विकासलाई केन्द्रित गरेर बुद्ध सर्किटमा पर्यटकीय बस सञ्चालन गर्न बजेट विनियोजन भएको बताए । यसका लागि मुख्यमन्त्रीले बुटवल उपमहानगरपालिकाका मेयरसँग समेत छलफल गरेको उनले बताए । बुद्ध सर्किटमा बस सञ्चालनका लागि पाँच करोड बजेट विनियोजन भएको छ ।

 

मुख्यमन्त्री शंकर पोखरेलले बुद्धसँग सम्बन्धित पर्यटकीय स्थल र अन्य पर्यटकीय क्षेत्रसमेतलाई समेटी सार्वजनिक निजी साझेदारीमा पर्यटकीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्ने बताए । उनले बजेट भाषणमा पर्यटन क्षेत्रलाई यस प्रदेशको समृद्धिको आधारका रूपमा लिइएको बताएका थिए । मुख्यमन्त्री पोखरेल पर्यटकीय बस बुद्ध सर्किटबाट सञ्चालन सुरु गरी अन्यत्र विस्तार गर्ने बताए ।

के भन्छन् बुटवलका मेयर ?
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रममा उपमहानगरपालिका सधैँ सकारात्मक रहेको बताए । उनले मुख्यमन्त्रीसँग छलफल गरी उपमहानगरपालिकाले अध्ययन सुरु गरेको बताए ।

 

सुवेदीले भने, ‘रिपोर्ट आएपछि थप काम अगाडि बढ्छ ।’ बुटवलबाट शान्तिका अग्रदूत गौतमबुद्धको मावली भूमि देवदह हुँदै बुद्धसँग सम्बन्धित नवलपरासीको रामग्रामबाट भैरहवा, लुम्बिनी हुँदै तिरौलाकोट पु-याइनेछ । बुटवल पर्यटकीय विश्रामस्थल बन्ने प्रदेश सरकारको विश्वास छ । सञ्चालनको विधि बनाएर काम सुरु गर्ने सरकारको तयारी छ ।

तपाईको प्रतिक्रिया