जापानको पहरामा बुद्ध बनाउँदै मञ्जुलको टिम - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

जापानको पहरामा बुद्ध बनाउँदै मञ्जुलको टिम

अवसरको खोजी, पारिवारिक उल्झन र निजी जिन्दगीकै व्यवस्थापनमा अधिकांश मानिस रुमल्लिरहेका छन् । यही नेपाली समाजमा केही व्यक्ति यस्ता पनि छन्, जो आफ्नो ‘कृति’ सदियौँसम्म रहिरहोस् भन्ने चाहन्छन् । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकाको टाँडीमा जन्मिएका मञ्जुल मितेरी (बराइली) पनि ‘सम्झनलायक’ काम गर्ने उद्देश्य लिएर हिँडेका छन् ।

दश वर्षअघि नै ‘आफ्नै  खर्चमा ढुंगाका एक हजार मूर्ति निर्माण गरेर राज्यलाई निःशुल्क प्रदान गर्नेछु’ भनेका मञ्जुल व्यावसायिक मूर्तिकलासँगै दान दिने मूर्ति पनि संग्रह गरिरहेका छन् । यता राज्यलाई हजार मूर्ति दिने वाचाको भाका थपेर उनी चारजना नेपालीको टोली लगेर हाल जापानमा विश्वकै अग्लो बुद्ध मूर्ति निर्माण गर्न तल्लीन छन् ।


डेढ वर्ष जापानको पहरामा मूर्ति कुँद्न खर्चिसकेका उनीहरूलाई संसारकै ठूलो बुद्ध मूर्ति निर्माण गर्न अझै ६ वर्ष लाग्नेछ । ‘अझै ६ वर्ष काम गर्ने हो भने सम्झौताअनुसारको मूर्ति निर्माण सकिनेछ,’ मञ्जुलले भने । हालै घर आएर उनी मूर्ति बनाउन पुनः जापान फर्केका छन् ।

मञ्जुलको जापान यात्रा
चितवनका विद्यार्थी दिलीप लामिछानेलगायतका नेपाली जापानमा इन्जिनियरिङ पढ्दै थिए । उनीहरूमार्फत जापानका होटेल व्यवसायी तथा समाजसेवी ओसिमा सिजुकीले कलाकार मञ्जुलका बारेमा जानकारी पाए । र, जापानको पर्यटकीय क्षेत्रमा रहेको पहरामा चर्चित बुद्धको मूर्ति निर्माण गर्ने योजना बनाए । ‘नेपाली विद्यार्थीकै सम्पर्क सूत्रबाट म डेढ वर्षअघि सन् २०१७ सेप्टेम्बरमा मूर्ति बनाउन जापान पुगेको हुँ,’ मञ्जुलले भने । त्यहाँ पढ्ने नेपाली विद्यार्थीले जापानका पर्यटन व्यवसायी तथा समाजसेवी ओसिमासँग जोडिदिए ।

‘विश्वकै अग्लो (६५ फिट) बुद्धमूर्ति बनाउने एग्रिमेन्टसँगै अन्य तीनजना साथी पनि झिकाएँ,’ उनले भने, अहिले बुद्धको मूर्तिसँगै स्थानीय देवी–देवताका समेत सातवटा ठूला मूर्ति बनाउने काम भइरहेको छ ।’ सात वर्षमा पूरा गर्ने लक्ष्यअनुसार हाल ३० प्रतिशत काम सकिएको उनले बताए । बुद्ध र ४५ फिट अग्लो सहायक देवताको मुहार तयार भइसकेको उनले जानकारी दिए ।

मूर्ति निर्माणका सहयोगी
मञ्जुल मितेरीको टोलीमा चारजना सक्रिय छन् । उनीहरू जापानको कुमामोतो जिल्लाको सकिबुचोयामा नामक विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर दिनरात खटिएका छन् । नेपालमा जन्मिएका विश्व शान्तिदूत गौतम बुद्धको स्वरूप उक्त पहरामा कुँदिरहेका छन् ।

स्थानीय पर्यटन व्यवसायी ओसिमाले स्थापना गरेको ‘ओसिमा सेकिबुचुयामा’ नामको संस्थाले सहरभन्दा ८० किलोमिटर पर ग्रामीण अत्यासलाग्दो पहाडमा रहेको ढुंगालाई कुँदेर गौतम बुद्धको मूर्ति तयार गर्न लगाइरहेका हुन् । ढुंगामा बुद्धका सहायक देवीदेवताका गरी सातवटा पूर्णकदका मूर्ति निर्माण भइरहेको मञ्जुलले बताए । समयमै काम सक्ने आत्मविश्वास मञ्जुल र उनको टिमसँग छ । मञ्जुलको टिममा युवा मूर्तिकार काभ्रेका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र गणेश राई छन् ।

आधुनिक ‘अरनिको’
मूर्तिकार मञ्जुलको टिमले जापानको पहरामा संसारकै अग्लो ६५ फिटे बुद्धमूर्ति बनाइरहेको कुरा सार्वजनिक भएपछि थाहा पाउनेहरूले उनलाई ‘आधुनिक अरनिको’को संज्ञा दिइरहेको उनी सम्झन्छन् । बिदामा घर आएका वेला मञ्जुललाई विभिन्न व्यक्ति र संघसस्थाको सम्मान थाप्न भ्याइनभ्याइ भयो । ‘बिदाका दिन कसरी बिते थाहै पाएन,’ मञ्जुलले भने, ‘सबैको सम्मान र सहयोगले हामीलाई झन् उत्साह थपेको छ ।’ मूर्ति बनाउने कामलाई मञ्जुल र उनको टिमले अवसरका रूपमा लिएको उनले बताए ।

‘एक समय (सन् १२६० को दशकमा) नेपालबाट अरनिकोले चीन गएर अद्वितीय कालीगढी गरेर नेपालको ख्याति फैलाए,’ मञ्जुलले भने, ‘वर्षौंपछि यो पनि ख्याति फैलाउने अवसर हो । हाम्रातर्फबाट कमी हुनेछैन ।’ आफूहरू देशको शानका लागि मरिमेटेर लागिपर्ने उनको प्रतिबद्धता छ । सातवटा ठूला मूर्ति बनाउन साढे सात वर्षको समय कम चूनौतीपूर्ण काम होइन । तर, पनि उनीहरू विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति बनाउने ऐतिहासिक अवसर पाएकोमा खुसी छन् ।

सबै मूर्ति तयार भएपछि जापान सरकारले यसलाई विश्वसम्पदा सूचीमा राख्ने योजना बनाएको छ । काम सम्पन्न भएपछि नेपालको नाम पनि अगाडि आउने कुराले आफूहरू गौरवान्वित भएको मञ्जुलले बताए ।

बुद्धबारे भ्रमले मन कटक्क
जब मञ्जुल जापान पुगे, त्यहाँका सरकारी अधिकारीको आतिथ्यतामा दाताले भव्य कार्यक्रम आयोजना गरे । मूर्ति निर्माण अभियानको उद्घाटन कार्यक्रम थियो । मञ्जुल दौरा–सुरुवाल र पाल्पाली टोपीमा ठाँटिए । आयोजक संस्थाले जापानका सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिसँग मञ्जुलको चिनजान गराइयो । उनलाई थाहा भयो नेपाली पोसाक र बुद्ध नेपालमा जन्मिएकाबारे धेरै जापानीलाई थाहै रहेनछ ।

 

प्रदर्शनीमा राखिएका तथा त्यहाँ लेखिएका सामग्रीमा बुद्ध भारतमा जन्मिएको र भारतका हुन् भन्ने उल्लेख थियो । लुम्बिनी भारतमा पर्छ भनेर भारतीय प्रचारको प्रभाव परेको रहेछ । त्यो पढेपछि खिन्न भए पनि मञ्जुलले आफ्नो बोल्ने पालोमा बुद्धसम्बन्धी तथ्यहरू प्रस्तुत गरे । ‘बुद्ध नेपालमा जन्मिएका र नेपालका हुन् भनेर सच्याउने काम भयो,’ उनले गर्व गर्दै भने, ‘भ्रमलाई सच्याउने काम भयो । खुसी लाग्यो ।’

उनीहरू जापानमा बुद्धको मूर्ति मात्रै बनाइरहेका छैनन्, जहाँ जान्छन् बुद्ध नेपालमा जन्मिएका र उनको जन्मस्थान लुम्बिनी हो भनेर जानकारी गराउँछन् । ‘नेपाली संस्कृति र बुद्धबारे बुझाउन सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि प्रयास गर्न आवश्यक छ,’ उनले भने ।

नेपाली पहराको याद
‘देश भक्ति त मर्दैन चुत्थै देश भए पनि’ साहित्यकार बालकृष्ण समको कवितांशको भावझैँ जापानको पहरामा मूर्ति कुँदिरहेका नेपाली सिल्पीको मनमा पनि देशभक्तिले पिरोलिरहन्छ । मूर्ति बनाइरहँदा उनीहरू भावुक पनि हुन्छन् । ‘किनकि, आफ्नै देशका भिर पहरा याद आउँछन्,’ मञ्जुलले भने, ‘जहाँ पुगे पनि देश त सँगै हुँदोरहेछ ।’ उनीहरू सोच्छन्, नेपालका पहरामा पनि यस्तै चर्चित बुद्धका मूर्ति निर्माण गर्न पाए ! जापानको भन्दा नेपाली पहरा धेरै ठूला र अग्ला रहेको र ढुंगाको गुणस्तर पनि उत्कृष्ट रहेको मञ्जुलको भनाइ छ ।

देशको नाकामी प्रवृत्तिले भने दिक्क पनि बनाउँछ । उनी एउटा दृष्टान्त सम्झन्छन् । उर्लाबारीमा मूर्ति बनाउँदा–बनाउँदै चर्चित भएका मञ्जुललाई झापाको दमकमा केही समयअघि सम्मानका लागि बोलाइयो । ‘एउटा संस्थाले मलाई सम्मान गर्न बोलायो । प्रमुख अतिथि उद्योगमन्त्री थिए । मलाई होनहार कलाकार भनेर दोसल्ला ओढाइयो । सम्मान गरियो,’ उनले भने, ‘त्यही क्रार्यक्रममा सँगै बसेका मन्त्रीले भाषण गर्दा भने– दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति बनाउने तयारी छ । यसका लागि चीन सरकार र चिनियाँ कलाकारसँग कुराकानी भइरहेको छ । कलाकार चाँडै आएर मूर्ति निर्माण थाल्नेछन् ।’

मूर्ति निर्माण अभियानको उद्घाटन कार्यक्रम थियो । मञ्जुल दौरा–सुरुवाल र पाल्पाली टोपीमा ठाँटिएका थिए । प्रदर्शनमा राखिएका सामग्रीमा बुद्ध भारतमा जन्मिएको र भारतका हुन् भनेर लेखिएको थियो । मन खिन्न भए पनि मञ्जुलले आफ्नो बोल्ने पालोमा बुद्धसम्बन्धी तथ्य प्रस्तुत गरे ।

त्यसवेला मञ्जुलले पनि ताली बजाए, तर मन खिन्न भयो । आखिर राज्यले त्यो अवसर दिएको भएर मञ्जुल र उनको टिम आज जापानमा होइन, आफ्नै देशमा विश्वकै अग्लो बुद्धको मूर्ति बनाइरहेको हुन्थ्यो । मञ्जुलका अनुसार एक नम्बर प्रदेशमा मात्रै ढुंगामा मूर्ति बनाउने सिपालु मूर्तिकार एक सयजति छन् ।

हजार मूर्ति बनाउँदै कौशिला
०७२ को राष्ट्रिय प्रतिभा पुरस्कारप्राप्त मञ्जुल मात्र होइन, उनकि जीवन संगिनी कौशिला पनि व्यावसायिक मूर्तिकार हुन् । मञ्जुलसँग प्रेमविवाह गरेकी उनी मञ्जुललाई सघाउँदा–सघाउँदै कलाकार बनेकी हुन् । दश वर्षअघि राज्यलाई एक हजार मूर्ति उपहार दिने घोषणा गरेपछि देशभर चर्चा भयो ।

मञ्जुलको त्यो मूर्ति सपना आधा पूरा भएको छ । आर्थिक समस्याले गर्दा उनले चाहे जसरी सपना अगाडि बढाउन नसकेको बताए । स्थानीय सहयोगीको प्रयासले उनले उर्लाबारीमा मूर्ति संग्रहालय स्थापना गरे । राज्यका लागि केही सय मूर्ति बनाएर राखेका छन् । यही बीचमा उनलाई जापानमा मूर्ति बनाउने प्रस्ताव आयो ।

आर्थिक अवस्थामा पनि सुधार आउने र देशको नाम पनि फैलाउन पाउने लोभले उनी जापानमा छन् । पत्नी कौशिलाको सल्लाहमा उनी जापान हान्निए पनि उनको राज्यलाई उपहार दिने हजार मूर्तिको सपनालाई पत्नी कौशिलाले साकार बनाउन सहयोग गरिरहेकी छिन् । मञ्जुल र कौशिलाले एक सय पचासजति विभिन्न प्रसिद्ध व्यक्तिका मूर्ति निर्माण गरिसकेका छन् ।

मञ्जुल विदेशमा भए पनि हजार मूर्तिका लागि ढुंगा संकलन गरेर कटिङ गरिसक्ने र फर्केपछि सँगसँगै मूर्ति बनाउने योजना कौशिलाको छ । व्यावसायिक मूर्ति पनि बनाउनुपर्ने भएकाले हजार मूर्तिका लागि ढुंगा संकलन गर्न ढिलाइ भएको कौशिला बताउँछिन् । उनले भनिन्, ‘राज्यलाई उपहार दिने हाम्रो हजार मूर्तिको सपना हामी जीबित हुँदा नै पूरा गर्छौं, अधुरो राख्दैनौँ ।’

तपाईको प्रतिक्रिया