प्रदेश ५ मा विकास निर्माणमा ढिलाइदेखि कुकुरले सताएका गुनासासम्म - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ५ मा विकास निर्माणमा ढिलाइदेखि कुकुरले सताएका गुनासासम्म

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग वेबसाइटमार्फत सर्वसाधारणले विकास निर्माणदेखि कुकुरले सताएकासम्म गुनासा गरेका छन् । सर्वसाधारणले वेबसाइटमार्फत गुनासा तथा सुझाब दिएपछि मुख्यमन्त्रीले कतिपय समस्या समाधानको पहलसमेत गरेका छन् ।

गत १४ चैतमा मुख्यमन्त्रीको आधिकारिक वेबसाइट सुरु भएको थियो । त्यसपछि आएका गुनासालाई मुख्यमन्त्री पोखरेलले सम्बोधनसमेत गरेका छन् । केही समयअघि वसन्त रानाले बेलहिया–भैरहवा सडकखण्डको चार किलोमिटर बाटो बनाउन पाँच वर्ष लागेको र मजदुरले काम गरेको नदेखिएको गुनासो मुख्यमन्त्रीको वेबसाइटमा पठाएका थिए ।

गुनासो प्राप्त गरेपछि मुख्यमन्त्री कार्यालयले तत्कालै त्यसको सम्बोधन गरेको थियो । १९ चैतमा गुनासो आएकोमा अर्को दिनमै व्यापारिक मार्ग आयोजनालाई मुख्यमन्त्री कार्यालयबाट पत्र पठाएर कामबारे चासो राखेको थियो । त्यसलगत्तै आयोजनाले सो सडकखण्डको ठेकेदारलाई कारबाही ग-यो ।

थरीथरीका गुनासा
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले धेरै किसिमका गुनासा आएको बताए । भन्सार कार्यालयमा हुने चुहावट रोक्न माग गर्नेदेखि राजधानीको विषय र सवारीचालक अनुमतिपत्रमा हुने अनियमिततालगायत गुनासा छन् । देव थापाले भन्सार चुहावट रोक्न र कर्मचारीलाई ६ महिनाभन्दा बढी भन्सारमा बस्न नदिन सुझाब दिएका छन् ।

वन डढेलो रोक्नसमेत माग छ । विद्यार्थी विवेक पौडेलले कलेज जाँदा बाटोमा गाई, गोरु र कुकुरले समस्या परेकाले समाधान गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्रीसँग सीधा सम्पर्कमा आएका गुनासो सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कार्यालयले सडक चौपया (छाडा गाईवस्तु)को समस्या हल गर्न बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । त्यस्तै, यातायात व्यवस्था कार्यालयलाई पनि अनियमितताका कार्यबारे पत्र पठाएको छ ।

प्रदेशको विकास, कार्यालयहरूमा हुने ढिलासुस्ती, अनियमिततादेखि सार्वजनिक सरोकारका विषयमा केन्द्रित रहेर सुझाब तथा गुनासा आउने गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

भेटघाटको समय लिनेदेखि सूचनासमेत अनलाइनमै
मुख्यमन्त्री सचिवालयका अनुसार अब मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमको सूचनासमेत यसमा समावेश छ । मुख्यमन्त्रीसँग भेटघाटका लागि अनलाइनबाट समय लिने व्यवस्था मिलाइएको छ । यसैगरी, प्रदेशमा रहेका साना–ठूला सबै प्रमुख आयोजनाको अद्यावधिक स्थितिसमेत वेबसाइटमै उपलब्ध हुनेछ ।

४५ सुझाब तथा गुनासा
मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीका अनुसार १४ चैतबाट सुरु भएको वेबसाइटमार्फत मुख्यमन्त्रीसँगको सीधा सम्पर्कमा अहिलेसम्म ४५ गुनासा तथा सुझाब आएका छन् । तीमध्ये अधिकांश मुख्यमन्त्री कार्यालयबाट सम्बोधन भएका छन् ।

तपाईको प्रतिक्रिया