प्रदेश ५ को नीति तथा कार्यक्रम अर्को साता - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ५ को नीति तथा कार्यक्रम अर्को साता

प्रदेश ५ सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । सरकारले अर्को साता नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

प्रदेशका सबै मन्त्रालय आन्तरिक गृहकार्यमा लागेका छन् । ‘सबै मन्त्रालय नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेका छन्,’ प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने । प्रदेश सरकारको नीति तथा कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको उनले बताए । छिट्टै मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उनको भनाइ थियो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई २५ जेठअघि नै अन्तिम रूप दिने गरी तयारी भइरहेको छ । प्रादेशिक योजना आयोगले पनि त्यसको तयारी गरिरहेको छ । २५ जेठमै नीति तथा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले बताए ।

बजेटको आकार घट्ने
प्रदेश सरकारले बजेटको पनि तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रादेशिक योजना आयोग बजेट निर्माणमा जुटिरहेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । ‘सबै मन्त्रालयबाट संकलित विवरण अध्ययन गरी बजेट बनाउने काममा लागेका छौँ,’ उनले भने ।

प्रदेश सरकारले सोचेअनुसार बजेट बनाउन भने गाह्रो भएको मन्त्रीहरूको भनाइ छ । संघीय सरकारले कम बजेट विनियोजन गरेका कारण प्रदेशको बजेटको आकार पनि घट्ने जनाइएको छ । ५० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी थियो । तर, अब ३० अर्बको बजेट ल्याउन पनि मुस्किल भएको जनाएको छ । ‘बजेटको आकार कम हुने भएकाले योजनाहरू पनि त्यहीअनुसार राख्छौँ,’ चौधरीले भने ।

तपाईको प्रतिक्रिया