बुटवलमा जिओलोजिकल पार्क निर्माणको तयारी - Naya Patrika
eNaya Patrika
  • ePaper

बुटवलमा जिओलोजिकल पार्क निर्माणको तयारी

बुटवल उपमहानगरपालिका नेपालको जैविक विविधता झल्काउने तथा भूगर्भबारे प्रत्यक्ष अध्ययन गर्न मिल्ने नमुना पार्क निर्माणमा जुटेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्क निर्माणमा चासो व्यक्त गरेपछि उपमहानगरले प्राविधिक र सम्भाव्यता अध्ययनसमेत सुरु गरेको छ ।

उपमहानगरले मुख्यमन्त्री पोखरेलसमक्ष प्रदेशस्तरको जिओलोजिकल पार्क बनाउने मौखिक प्रस्ताव गरेको थियो । यस्तो प्रस्ताव सुन्नेबित्तिकै मुख्यमन्त्रीले उपमहानगरलाई तत्काल जग्गा खोज्न निर्देशन दिएका थिए ।

शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क परिषद् क्षेत्र, मणिमुकुन्द सेवा उद्यान क्षेत्रका साथै उपमहानगरमा पर्ने अरू क्षेत्रमा पार्क स्थापनाबारे अध्ययन भइरहेको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

सम्भावित तथा प्रस्तावित क्षेत्रमा मुख्यमन्त्रीसहित प्राविधिकलाई लिएर प्रमुख सुवेदी, उपप्रमुख गोमादेवी आचार्य र निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनाल र योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठसहितको टोली अवलोकनमा गएको छ । ‘वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने खालको पार्क बनाउनेबारे मुख्यमन्त्रीले डिपिआरसहितको लिखित प्रस्ताव माग गर्नुभएको छ,’ प्रमुख सुवेदीले भने, ‘यसले हामीलाई ठूलो उत्साह जागेको छ ।’ बुटवलको करिब ५४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको भन्दै उपप्रमुख गोमादेवी आचार्यले प्राविधिक अध्ययनपछि छिटै स्थान यकिन गरिने जानकारी दिइन् ।

जिओलोजिकल पार्कका लागि उपयुक्त जग्गाको यकिन हुनासाथ डिपिआर बनाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले बताए । उनले अहिले पनि जग्गाको खोजी र प्रस्तावित क्षेत्रको अवलोकन भइरहेको जानकारी दिए ।

उपप्रमुख आचार्यको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुटवल– १२ स्थित जबईमा वाटरपार्क बनाउन प्रस्ताव गरिएको क्षेत्रको समेत अवलोकन गरेको थियो । सम्भावित क्षेत्रको अवस्था र सम्भावनाको यकिनपछि छिटै डिपिआर तयार पारिने योजना प्रमुख ई. सुमन श्रेष्ठले बताए । उनले भने, ‘मुख्यमन्त्री र नगरप्रमुखको विशेष चासो रहेकाले पनि यो काम शीघ्र अगाडि बढ्छ ।’

 

तपाईको प्रतिक्रिया