५ वर्षपछि चितवनमा बर्डफ्लू, प्रभावित क्षेत्रका कुखुरा धमाधम मारिँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

५ वर्षपछि चितवनमा बर्डफ्लू, प्रभावित क्षेत्रका कुखुरा धमाधम मारिँदै

एक महिनाअघि खैरहनी -९ का राजन चौधरीको फर्ममा व्यावसायिकरुपमा पालेका एक हजार ५०० लेयर्स कुखुरा तीन दिनको अन्तरालमा मरेका थिए । चौधरीको खोरमा मरेको कुखुराको परीक्षण गर्दा बर्डफ्लू अर्थात् एच ५ एन १ (एभिएन इन्फ्लुएन्जा) नामक जीवाणु भेटिएको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईंले बताए । चौधरीको खोरमा मरेका कुखुराको वैशाख १४ गते परीक्षणको लागि नमुना लगिएको थियो । राष्ट्रिय पक्षी रोग अन्वेषण केन्द्रीय प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको चापागाईंले बताए ।

पूर्वी चितवनको खैरहनीमा घातक रोग बर्डफ्लु भेटिएपछि पोल्ट्रीको राजधानी मानिने चितवनमा व्यवसायी, किसान र सर्वसाधारण जनता आतकिंत बनेका छन् । खैरहनी–९ सुर्तनीका एक कुखुरा पालकको खोरमा बर्डफ्लु भेटिएको हो । स्थानीय राजन चौधरीको साइरस पोल्ट्री फर्ममा रहेका एक हजार ५०० कुखुरा बर्डफ्लुको संक्रमणले मरेको पुष्टि भएपछि अहिले दैनिक जसो त्यस क्षेत्रका कुखुरा मार्न थालिएको छ । शुक्रबार संक्रमित क्षेत्रको घरपालुवा हाँस तथा कुखुरा नष्ट गर्न सुरु गरेको चिकित्सक सहितको प्राविधिक टोलीले शनिबार व्यवसायिक रुपमा पालिएको कुखुरा नष्ट गरेको हो ।

३१ गते कुखुरामा बर्डफ्लु भेटिएको रिपोर्ट आए पनि जेठ ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट कुखुरा नष्ट गर्न निर्देशन भए अनुसार अहिले खैरहनी क्षेत्रका कुखुराहरु धमाधम मार्न थालिएको छ । बर्डफ्लु प्रभावित सुर्तनी थारु बस्तीलाई संक्रमित क्षेत्र घोषणा गरी गाउँका हाँस, कुखुरा नष्ट गरिएको छ । थारु बस्तीमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ ।

जिल्ला पशु सेवा कार्यालय भरतपुरले बर्डफ्लुको जिवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सर्तक रहन आग्रह गरेको छ । चितवनमा पाँच वर्षपछि बर्डफ्लु भेटिएको हो । यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो । नेपालको पोल्ट्रीमा झण्डै ८० अर्बको लगानी छ ।

एकै दिन सात हजार नष्ट
खैरहनी–६ सुर्तनीका धिरज श्रेष्ठको पोल्ट्री फर्मको तीन हजार र सोही वडाअन्तर्गत पर्ने पुरानो पर्सानजिक रहेको सुशील रिजालको सम्पदा पोल्ट्री फर्मको चार हजार ४०० लेयर्स कुखुरा नष्ट गरिएको हो ।

विभागअन्तर्गतको भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयका प्रमुख डा डिल्लीराम सेढार्इंको नेतृत्वमा डाक्टर, प्राविधिकको टोली चितवन आएको छ । भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालय, जिल्ला पशु सेवा कार्यालय र राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका डाक्टर, प्राविधिकको टोलीले कुखुरा नष्ट गरेको हो ।

बर्डफ्लु भेटिएको राजन चौधरीको पोल्ट्री फर्मलाई केन्द्रबिन्दु मानी पूर्वमा सुर्तनीको कच्चीबाटोसम्म, पश्चिममा पर्सा बजारको रोड, उत्तरमा पूर्वपश्चिम राजमार्ग र दक्षिणमा पुरानो पूर्वपश्चिम राजमार्गलाई चार किल्ला निर्धारण गरी सो क्षेत्रमा पर्ने पोल्ट्री फर्मका कुखुरा नष्ट गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

७५ प्रतिशत राहत
कुखुराको प्रचलित स्थानीय मूल्यलाई आधार मानि ७५ प्रतिशत क्षतिपूर्ति दिने निर्णय भएको भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए । बजार मूल्यका आधारमा एउटा कुखुराको मूल्य ३०० रूपैयाँ कायम गरी त्यसको ७५ प्रतिशत क्षतिपूर्ति दिने निर्णय भएको छ । कुखुरापालक किसानहरुले आफूहरुलाई सतप्रतिशत क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग राख्दै आएका छन् ।

व्यवसायीद्वारा विरोध
सरकारले रोग नलागेका स्वच्छ कुखुरा मारेको भन्दै चितवनका कुखुरा व्यवसायीहरुले विरोध गरेका छन । गलत तरिकाले प्रभावित क्षेत्रको चार किल्ला निर्धारण गरी रोग नलागेको कुखुरा सरकारले मारेको उनीहरुको भनाइ छ ।

बर्डफ्लु पुष्टि भएको राजन चौधरीको खोरबाट एक किलोमिटर पश्चिममा रहेको सम्पदा पोल्ट्री फर्मको कुखुरा गलत चार किल्ला निर्धारणका कारणले गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्टले बताए । राजन चौधरीको खोरबाट दुई सय मिटर पूर्वमा रहेको पशुराम अधिकारीको फर्मको कुखुरा नष्ट नगरी एक मिलोमिटर पश्चिमको सम्पदा पोल्ट्री फर्मको कुखुरा नष्ट गरिएको भन्दै किसानले विरोध गरेका थिए ।

कुखुरा नष्ट गर्न खटिएको टोलीलाई स्थानीयले अवरोध गरेका थिए । दिनभरको अवरोध पछि बेलुका मात्रै टोलीले कुखरा नष्ट गरेको हो । रोगको संक्रमण क्षेत्र पनि बाटोको आधारमा निर्धारण गरेकोमा स्थानीयले बिरोध गरेका थिए । रोग देखिएको खोरको नजिकै रहेको प्यारेन्ट कुखुरा रहेको ह्याचरी पहुँचको आधारमा संक्रमित क्षेत्रमा नपारिएको स्थानीयको दावी छ ।

मान्छे सुरक्षित
कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाका अनुसार शनिबार जिल्ला आइपुगेको टोलीले आज बिहानदेखि रगतको नमूनासमेत लिन शुरु गरेको छ । मानिसमा हालसम्म बर्डफ्लुको संक्रमण देखिएको छैन । बर्डफ्लु हुँदा देखिने भाइरस मानिसमा पनि सर्नसक्ने हुन्छ ।

तपाईको प्रतिक्रिया