नागरिकता र यसको महत्व - Naya Patrika
eNaya Patrika
  • ePaper

नागरिकता र यसको महत्व

नेपालमा नागरिकता प्रमाणपत्र दिने/लिने कानुनको सुरुवात नेपाल नागरिकता ऐन –२००९ र नेपाल नागरिकता नियमावली –२०१५ बाट भएको मान्नुपर्दछ । सम्भवतः २०२० पछि नेपाल लोकसेवा आयोगले उम्मेदवारको दरखास्त फारमका साथमा नागरिकता राख्न भन्न थालेपछि (अनिवार्य नगरेको) जागिर खाने मध्ये कोही–कोहीले नागरिकता प्रमाण–पत्र प्राप्त गर्ने प्रचलन आएको हो । नेपालमा नागरिकता प्राप्तिका विभिन्न चरण र कानुनी व्यवस्था निम्नअनुसार छन् ।

कानुनी व्यवस्था, प्रचलन तथा व्यवहार

नेपाल नागरिकता ऐन–२००९, नेपाल नागरिकता नियमावली–२०१५, नेपाल नागरिकता ऐन–२०२० आइसकेपछि पनि बडाहाकिम र अञ्चलाधीशले नागरिकता प्रमाणित दिँदा एउटै व्यहोराको शव्दावली प्रयोग नगरी जसले जुन शब्द उचित ठान्यो, त्यही लेखेर दिएको देखिन्छ । तपाईं जन्मसिद्ध, स्वयंसिद्ध नेपाली नागरिक हो भन्नेजस्ता कुरा उल्लेख भएको पाइन्छ ।

तर, २०२४ सालदेखि प्रमुख जिल्ला अधिकारीले जिल्ला सभापतिको सिफारिसमा २००९ वा २०२० बमोजिम नियमित ढाँचामा नागरिकता प्रमाणपत्र दिन सुरु गरेका हुन् ।

२०७२ सालमा जारी भएको नेपालको संविधानमा ९ अनुसूची, ३५ भाग र ३०८ धारा छन् । संविधानको भाग २ को धारा १० देखि धारा १५ सम्म नागरिकता सम्बन्धी व्यवस्था गरेको छ । संविधानको मौलिक हक भित्रै राखिएको धारा १०को (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनि लेखिएको छ ।

२०७२ मा जारी भएको नेपालको संविधान अनुसार बंशज, अंगीकृत, सम्मानार्थ र गैरआवासीय नेपाली नागरिकता गरी चार प्रकारको नागरिकताको आधार तय गरेको छ । नेपालको अन्तरिक संविधान, २०६३ लाई टेकेर बनेको नेपाल नागरिकता ऐन, २०६३ को नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०६९ अनुसार नेपालको ७५ वटै जिल्ला प्रशासन कार्यालय र त्यस मातहतको इलाका प्रशासन कार्यालयबाट हाल नागरिकता दिने गरिएको छ ।

अन्तरिम संविधान, २०६३ लाई विस्थापित गर्दै २०७२ असोज ३ गते नेपालको संविधान जारी भइसकेपछि नेपालको नागरिकता लगायतका कानुन र ऐनहरु बनाउने काम अझै भइनै रहेको छ ।

नेपालको नागरिकता के हो ?

नेपालमा नागरिकतालाई पहिचानको रुपमा लिइएको छ । तर नागरिकता परिचय मात्र होइन, अधिकार र कर्तव्यको बोध गराउने महत्वपूर्ण कागजात पनि हो । नेपालको संविधान अनुसार नेपालको कुनैपनि नागरिक १६ वर्ष उमेर पुगेपछि नागरिकता प्राप्त गर्न योग्य हुन्छ ।

संविधानमा १६ वर्ष पूरा गरेको व्यक्तिले नागरिकता पाउने प्रावधान छ । गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय र त्यस मातहतको इलाका प्रशासन कार्यालायलाई नागरिकता वितरण गर्ने अधिकार अहिलेको प्रशासनिक संरचना अनुसार विद्यमान छ ।

सरकारी सेवामा प्रवेश गर्न मात्र होइन, हरेक सरकारी कामकाज गराउनलाई निजको नागरिकता अनिवार्य जस्तै माग हुने गरेको छ । कुनै पनि नागरिकले घर जग्गा खरिद गर्न, चुनावमा आफ्नो मत हाल्न चाहिने मतदाता परिचय पत्र बनाउन पनि नेपाल सरकारले नागरिकतालाई अनिवार्य जस्तै गरेको छ ।

त्यति मात्र होइन आफूले आर्जन गरेको रुपैया बचत गर्न बैंक खाता खोल्न समेत नागरिकता नभई हुदैन । यी त उदाहरणका कामहरु मात्रै हुन् हामीले दैनिकी जीवनमा गर्ने धेरै काममा नागरिकता अनिवार्य जस्तै छ नेपालमा ।

हामीले पैसा तिरेर किनेका किताब, कापी, मोबाइल लगायतका चिजबस्तु चाहिने भन्दा बढी जतन गरेर राख्छौ । यतिसम्म कि एक आर्थिक वर्षमा पढेर पास गर्ने किताबलाई हामी दुई वटा सम्म कभर लगाएर राखेको देखिन्छ ।

हाम्रो जीवनमा अतिउपयोगी र जुनसुकै वेला काम लाग्ने महत्वपूर्ण प्रमाणपत्र मध्येका नागरिकतालाई त्यति सुरक्षित राखिएको देखिदैन । यसले नागरिकतालाई नागरिकको कर्तव्य र अधिकारको बोध गराउने महत्वपूर्ण कागजातको रुपमा नबुझेको जस्तो देखिन्छ ।

निःशुल्क दिइने सार्वजनिक सेवा

नेपाल सरकारले आफ्ना नागरिकलाई दुई किसिमले सार्वजनिक सेवा दिइदै आएको छ । सःशुल्क र निःशुल्क । उदाहरणमा सःशुल्कमा राहदानी र निःशुल्कमा नागरिकता छन् । नागरिकता निःशुल्क दिने सेवाको रुपमा राहेकाले व्यक्तिले नागरिकतालाई सुरक्षित रुपमा राख्नुपर्ने कागजातको रुपमा नलिएको पनि हुन सक्छ । वा हराइहाले पनि नागरिकताको प्रतिलिपी पुनः निशुल्क रुपमा कुनै झन्झट नबेहोरी पाइन्छ भनेर पनि हुन सक्छ ।

या त जतन नगर्नुको अर्थ हुन्छ (यसको महत्त्व नबुझ्नु। तथ्यांकले नयाँ नागरिकताको हाराहारीमा प्रतिलिपि नागरिकता जारी भएको देखाउँछ । प्रतिलिपि लिन आउनेहरूमा नागरिकता हराएर आउनेहरूको सबैभन्दा संख्या बढी छ ।

हामीले गर्ने महत्त्वपूर्ण कामको प्रयोजनका लागि चाहिने नागरिकताको प्रमाणपत्र झण्डै ५० प्रतिशतले हराउँछन्, च्यात्छन् वा जतन गर्दैनन् । जिल्ला प्रशासन कार्यालय बैतडीको पछिल्लो तथ्यांकअनुसार चैत महिनामा मात्र २७९ नयाँ नागरिकता जारी भए भने १४६ प्रतिलिपी नागरिकता जारी भए । यो तथ्यांकले नयाँ नागरिकता जारी भएको आधा जति दैनिक प्रतिलिपि नागरिकता जारी भएको देखाउँछ ।

प्रतिलिपि लिन आउनेहरूमा सबैभन्दा बढी नागरिकता हराएर आउनेहरूको संख्या छ । भने त्यस पछाडि सुरक्षित साथ नराखेको कारण नागरिकता झुत्रो बनाएर आउनेहरु छन् । केही नागरिकता भने पानीमा भिजेका कारण बिग्रिएकाहरु पनि आउँछन् । अधिकांश प्रतिलिपि लिन आउनेहरूले नागरिकता हराएको बताउछन् । नागरिकता हरायो भन्नेहरूमा अधिकांश युवाहरू देखिएका छन् । यात्रा गर्दा हराएको, पर्ससँगै हराएको, च्यातिएको भन्दै प्रतिलिपि नागरिकता लिन आउने युवाहरूको लर्को हुने गर्दछ ।

प्रतिलिपि लिन

प्रतिलिपि नागरिकता प्राप्त गर्ने आधारहरू नागरिकता हराउने व्यक्तिले हराएको पुरानो नागरिकताको फोटोकपी सहित तोकिएको फारम भरी गाउँपालिका र नगरपालिकाका वडा कार्यालयका अध्यक्षको सिफारिस पत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ ।

प्रशासनले आफ्नो रेकर्डका आधारमा प्रतिलिपि नागरिकता प्रदान गर्छ । नागरिकता नम्बर थाहा भएमा जिल्ला प्रशासन कार्यालयले करिव एक घण्टामा प्रतिलिपि नागरिकता प्रदान गर्छ । नागरिकताको प्रतिलिपि सहज तरिकाले पाउने भएका कारण पनि मानिसहरू नागरिकता हराएमा खोज्न भन्दा पनि प्रतिलिपि बनाउन लागेका भेटिन्छ ।

सजिलै प्रतिलिपि पाउने भएका कारण पनि मानिसहरूले नागरिकतालाई जतन गरेका देखिदैनन् । यसलाई निरुत्साहित गर्न नेपाल सरकारले प्रतिलिपि नागरिकता सम्बन्धि प्रावधानमा थप व्यवस्था गर्नुपर्ने आवश्यक देखिन्छ ।

नागरिकताको सुरक्षा कसरी गर्ने ?

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरिसकेपछि नागरिकतामा प्लास्टिकको कभर राख्ने गरे पानीबाट वा च्यातिनबाट जोगाउन सकिन्छ । आफूलाई थाह भएको कामको लागि आवश्यक जति नागरिकताको फोटोकपी गरि राख्नुपर्छ । फोटोकपी भए पुग्ने कामका लागि सक्कल नागरिकता नबोक्दा राम्रो हुन्छ ।

अचेल युवाहरुमा आफूसँग भएको सबै कागजपत्र पकेट पर्समा राख्ने चलन बढेको छ । त्यसले गर्दा पनि नागरिकता जस्ता महत्वपूर्ण कागजात हराउन र विग्रिनेको संख्या दैनिक बढ्दै गएको छ । पकेट पर्सको आकार र नागरिकता लगायतका प्रमाणपत्रहरुको आकार उस्ताउस्तै हुँदैन ।

महत्वपूर्ण र दैनिक जीवनमा काम लाग्ने प्रमाणपत्रहरुमा कडा खालको कागजात प्रयोग गरिएको हुन्छ । जसले गर्दा पकेट पर्सको आकार नमिल्दा कडा खालको कागज खुम्चिएर बिग्रिने गर्छ । त्यसैले नागरिकता लगायतका कडा कागजमा बनाइएका महत्वपूर्ण प्रमाणपत्रहरु पकेट पर्समा नबोक्नु नै बेस हुन्छ ।

सुरक्षाको लागि प्रविधि

पहिले भन्दा अहिलेको युग प्रविधि मैत्री भइसकेको छ । २१ औं शताब्दीको यो खण्डमा नेपालले समेत प्रविधिमा निरन्तर फड्को मारिरहेको छ । अधिकांश सरकारी कार्यालयका कामकाजहरु म्यानुअल संगै विद्युतीय माध्यमबाट गर्न थालिएको छ । त्यो भनेकै सुरक्षाको लागि हो । प्रविधिलाई साकारात्मक तरिकाले प्रयोग गर्दा आफूसंग भएको कागजात र तथ्यांकलाई सुरक्षित राख्न सकिन्छ । भने त्यसैलाई लामो समय सम्म आफूलाई काम परेको बेला प्रयोग गर्न सकिन्छ ।

अहिले नेपालमा लगभग केही हिमाली जिल्ला बाहेकका जिल्लाहरुमा निजी तथा सरकारी संचारका साधनहरु पुगिसकेको अवस्था छ । त्यसले गर्दा तल्लो तहको जीवन स्तर बिताइरहेका नागरिकहरुको हातमा समेत मोबाइल छ ।

पछिल्लो समय त मोबाइलमा समेत एन्ड्रोइडलगायतका नयाँ प्रविधियुक्त मोबाइल बोक्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको तथ्यांकले देखाउँछ । एन्ड्रोइडलगायतका नयाँ प्रविधियुक्त मोबाइलहरुमा आफूसंग भएको तथ्यांक र कागजातहरुलाई सुरक्षित राख्ने तरिकाहरु राखिएका छन् । त्यसैले त्यस्ता मोबाइल प्रयोगकर्ताहरुले नागरिकतालगायतका महत्वपूर्ण प्रमाणपत्रहरुलाई मोबाइलमै पनि सुरिक्षत राख्दा आफूलाई काम परेको बेला प्रयोग गर्न सकिन्छ ।

प्रविधिबारे आफूलाई जानकारी भएसम्म सकारात्मक तरिकाले प्रयोग गर्ने हो भने अति अप्ठ्यारो परेको बेलासमेत यसले साथ दिन्छ । सकभर नागरिकता जस्तै अन्य महत्वपूर्ण प्रमाणपत्रहरु जसले आफ्नो दैनिक जीवनमा काम लागि रहन्छ र नभई नुहुने हुन्छ त्यस्तो कागजातलाई स्क्यान गरेर कम्प्युटर वा ईमेलमा राख्ने बानी बसाल्यौँ भने झ्न राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया