अष्टमी गुरुङ प्रकरण : आरोपित काजी निर्दोष रहेको अबुधावी अदालतको फैसला - Naya Patrika
eNaya Patrika
  • ePaper

अष्टमी गुरुङ प्रकरण : आरोपित काजी निर्दोष रहेको अबुधावी अदालतको फैसला

युएईमा आत्महत्या गरेकी गोर्खा आरुघाटकी अष्टमी गुरुङको हत्या भएको भन्दै भिडियो बाहिरिए पछि आरोपी मानिएका अष्टमीको कम्पनीमा कार्यरत बंगलादेशी नागरिकलाई यहाँको उच्च अदालतले निर्दोष रहेको फैसला सुनाएको छ ।

अरेवियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरुङ्गले गत नोभेम्बर ४ मा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन । गुरुङको शव नेपाल लगेर अन्तिम संस्कार सकिए पश्चात उनले आत्महत्या गर्नु अघि रेकर्ड गरेको भिडियो बाहिरिएको थियो । आत्महत्या नभइ हत्या भएको भन्दैै नेपाली राजदुतावास मार्फतले कुटनैतिक तरिकाले मुद्दा दर्ता गरिएको थियो ।


अष्टमीले रेकर्ड गरेको भिडियोअनुसार आरोपित भनिएका बंगलादेशी नागरिक साइमन काजी निर्दोष रहेको अवुुधावीको अदालतले फैसला गरेको नेपाली राजदुतावासका कार्यवहाक राजदुत सागर फुँयालले नयाँ पत्रिकालाई बताए ।

उनका अनुसार अबुधावी अदालतले आरोपित काजीलाई गत अप्रिल २८ मा निर्दोष रहेको फैसला गरेको थियो । उनले उक्त फैसला भएको भएको बारेमा अष्टमी कार्यरत कम्पनीले पनि दुतावासलाई पत्रचार गरेको बताए ।

दुतावासले आधिकारिक रुपमा यहाँको निकायबाट केही दिन भित्र जानकारी प्राप्त गरे लगत्तै नेपालमा पत्रचार गरिने बताए । साथै आरोपित साइमन काजी र उनी कार्यरत कम्पनीको बारेमा सामाजिक सञ्जालमा भएको नकारात्मक टिका टिप्पणीको बिषयमा कम्पनीले चासो राखेको तथा त्यस्ता संवेदनशिल विषयहरुमा सचेत हुनुपर्ने पनि कार्यवहाक राजदुत फुँयालले बताए ।

के हो अष्टमी भिडियो प्रकरण ?
गत नोभेम्बर ४ का दिन आत्महत्या गरेकी गुरुङको शव १४ दिन पछि नेपाल लगेर अन्तिम संस्कार पनि सकिएको थियो । तर गुरुङले प्रयोग गर्ने मोवाइलमा उनका भाइले भिडियो भेटेपछि उक्त भिडियो नेपालका सञ्चार माध्यम मार्फत प्रसारण भएको थियो ।

स्थानीय गुरुङ भाषामा मृतक अष्टमीले आफुलाई कम्पनीमा कार्यरत सुपरभाइजरले बलात्कार गरेको बताएकी छन् । आफु बलात्कृत भएको, सबैकुरा गुमेको भन्दै भिडियोमा बुवा आमासँग माफी मागेकी छन् ।

भिडियो सार्वजानिक भएपछि गुरुङको आत्महत्या नभएर बलात्कार पछि हत्या गर्न बाध्य पारिएकोले छानविन गरि दोषीलाई कारवाही गर्न चौतर्फी आवाज उठेका थियो । गुरुङको परिवारले न्याय पाउनु पर्ने भन्दै आवाज उठ्न थालेपछि एनआरएन युएईको पहलमा उक्त भिडियो नेपालबाट ल्याएर नेपाली दुतावासमा बुझाएको थियो ।

दुतावासले कुटनैतिक पहलमा युएई सरकार वादी रहनेगरी मुद्दा दर्ता गराएर छानविनको लागि पहल गरेको थियो ।

तपाईको प्रतिक्रिया