रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा सचिवविहीन - Naya Patrika
eNaya Patrika
  • ePaper

रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा सचिवविहीन

रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकाका १४ वडा मध्ये अहिले कुनैपनि वडामा सचिव छैनन् । साविकका ६ वटा गाविस मिलेर बनेको यस गाउँपालिकामा एउटा पनि सचिव छैनन् । साविकका हुकाम, रन्मामैकोट, तकसेरा, कोल, रांशि र जाङ गाविसमा रहेका सचिव जति सबै सरुवा मिलाएर गएपछि गाउँपालिका लामो समयदेखि सचिवविहीन भएको हो ।

साविकका ६ गाविस मध्ये रन्मामैकोट गाविसका सचिव तिलक रावत यसै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत छन् । अन्य सचिव भने गाउँपालिका बन्ने वित्तिकै सरुवा मिलाएर अन्यत्रै गएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए ।

वडा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती
भौगोलिक रुपमा विकट र अन्य सुविधाबाट बञ्चित, त्यसमा पनि वडा सचिव नहुँदा यस गाउँपालिकाका नागरिकहरु मर्कामा परेका छन् । वडा सचिवको अभावमा वडा सहायक र स्वास्थ्य चौकी इन्चार्जहरुले काम गर्ने गरेका छन् । गाउँपालिका अध्यक्ष घर्तीका अनुसार वडाबाट हुने पञ्जिकरणको काम सम्बन्धित वडाका स्वास्थ्य चौकी इन्चार्जहरुले गर्ने गरेका छन् भने अन्य काम वडा सहायकहरुले गरिरहेका छन् । सचिवको अभावमा सचिवको काम अन्यले गर्दा कागजात तथा व्यहोरा नमिल्ने भएकाले सेवाग्राहिले सास्ति भोग्नु परेको छ ।

‘सचिवको काम अन्य व्यक्तिले गर्नुपर्दा कहिले काहि कागजात तथा व्यवहोरा नमिल्ने हुँदा सेवाग्राहिले सास्ति भोगिरहेका छन्, प्रमुख प्रशासकिय अधिकृत रावतले भने–‘सचिवहरु नहुँदा नागरिकहरुले समयमै तथा भरपर्दो सेवा पाउन सकिरहेका छैनन् ।’ टाढा टाढाबाट दैनिक लामो दुरी पैदल हिँडेर वडा कार्यालयमा पुगेपनि सचिव नहुँदा सेवा पाउन गाह्रो भएको पुथाउत्तरगंगा गाउँपालिका ५ का हिमाल बुढाले बताए । सचिव नहुँदा रित्तो हात फर्कनुपर्ने बाध्यता रहेको समेत उनको भनाई छ ।

दुर्गममा आउँनै मान्दैनन् सचिव
रुकुम(पूर्व)का अन्य दुई स्थानीय तहको तुलनामा यो गाउँपालिका विकट छ । यहाँका अधिकांश वडामा अझै पनि यातायातको सेवा पुग्न सकेको छैन । टेलिफोन लगायतका अन्य अत्यावश्यक सेवाको पनि सुविधा छैन । जसका कारण यहाँ वडा सचिव सहितका अन्य कर्मचारी आउँन मान्दैनन् । आफू निर्वाचित भैसकेदेखि नै वडा सचिव ल्याउन पहल गरेपनि एक वर्षसम्म कोहि पनि सचिव यहाँ आउन नमानेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । वडा सचिव पठाईदिन जिल्ला समन्वय समिति देखि अन्य सरोकारवाला निकाय सम्म पहल गरेपनि कुनै सुनुवाई नभएको उनको दुखेसो छ ।

‘सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको भनिएको छ, अनि स्थानीय तहलाई अधिकार सम्पन्न स्थानीय तह भनिएको छ र त्यहि अनुसार अधिकार पनि दिईएको छ,’ उनले भने– ‘तर हामीलाई आवश्यक कर्मचारीको व्यवस्था नै छैन भने यस्तो अवस्थामा हामीले नागरिकलाई कसरी सेवा दिने ।’ अहिले काम चलाउ रुपमा वडा सहायक तथा स्वास्थ्यका कर्मचारीहरुलाई प्रयोग गरिरहेपनि यसरी लामो समयसम्म काम चलाउन नसकिने उनले बताए । वडा सचिवको व्यवस्थाका लागि उनले सरोकारवाला निकाय समक्ष आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया