हराएका तीन बालबालिका ६ दिनपछि सकुशल भेटिए - Naya Patrika
eNaya Patrika
  • ePaper

हराएका तीन बालबालिका ६ दिनपछि सकुशल भेटिए

रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकामा एक साता देखि हराइरहेका तीन बालबालिका बिहीबार (आज) सकुशल फेला परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नं. एकका उनीहरु अाज बिहान रन्माको हिउँचोइमा फेला परेका हुन् । गाउँलेहरु मिलेर खोजी गर्दा बालबालिका भेटिएको अमरधन पुनले बताए । उनका अनुसार भेटिएका मध्ये सात वर्षीय डायमण्ड पुन र दुबै पुन बोल्न नसक्ने अवस्थामा छन भने ६ वर्षीया सुहाना पुन अलि अलि बोल्न सक्ने अवस्थामा छिन् ।

गत बैशाख २९ गते घरमा कसैलाई पनि नसोधेर आफन्तलाई लिन भन्दै पिपलटुङ तर्फ आएका उनीहरु गरघाटबाट हराएका थिए । गरघाटसम्म पुगेर घर मैकोट तर्फ फर्किनुपर्ने उनीहरु बाटो बिराएर रन्माको वनतिर लागेको बताईएको छ । उनीहरुसंगै हराएका ६ वर्षीय काल्या पुन भने ३० गते नै भेटिएका थिए । बाटो बिराएर वनमा पुगेका उनीहरु बिहीबार बिहान रुखको फेदमुनि पल्टिएको अवस्थामा फेला परेका हुन् । रन्माको भिरै भिर भएर हिउँचोई पुगेको र पछि फर्किन नसकेको हराएर भेटिएकी सुहानाले बताएको स्थानीय मरिचमान पुनले बताए ।

उनीहरु भोग र प्यासले शिथिल भएको अवस्थामा फेला परेका थिए । हराएका बालबालिकालाई ६ दिनपछि फेला पार्दा उनका परिवार खुशी भएका छन् । सकुशल भेटाउने आश मारिसकेका परिवारजन छोरा छोरीलाई सकुशल फेला पारेपछि हर्षित भएका हुन् । जंगल त्यसमा पनि हिउँले ढाकेको ठाउँमा ६ दिनपछि सकुशलनै फेला पारिएपछि गाउँले समेत खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया