यार्सा संकलनका लागि विद्यार्थी लेकतिर, विद्यालय सुनसान - Naya Patrika
eNaya Patrika
  • ePaper

यार्सा संकलनका लागि विद्यार्थी लेकतिर, विद्यालय सुनसान

जुम्लाका पूर्वी भेग पातारासी गाउँपालिकाका विद्यार्थी यार्सा संकलनका लागि लेकतिर गएपछि विद्यालय सुनसान भएका छन् ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्ने समय सुरु भएसँगै जिल्ला तथा जिल्लाबाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएका छन् । अभिभावकसँगै विद्यार्थी पनि यार्सा संकलनका लागि लेकतिर गएपछि विद्यालय सुनसान भएका हुन् ।

पातारासी गाउँपालिकाका विद्यालय डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा संकलन क्षेत्रतिर गएको सरस्वती मावि पेरे खाला ढिकका प्रधानाध्यापक वासुदेव शाहले बताए । ‘यार्सा संकलनमा सिजनको समय दुई महिना विद्यार्थी विद्यालय नआउने गरेको एक दशक बित्यो ।

सबै विद्यार्थी जीविकोपार्जनका लागि यार्सा संकलन क्षेत्रतिर गएपछि विद्यालय सुनसानजस्तै भएको छ,’ उनले भने, ‘विशेषगरी निमावि र मावि स्तरमा पढ्ने विद्यार्थी सबै लेकतिर गएपछि हामी शिक्षक कामविहीन भएको छौँ ।’

अहिले कक्षामा पढ्न आउने कक्षा ७ मा १७ जना विद्यार्थीमध्ये २ जना आउनेछन् त्यसैगरी कक्षा ८ मा २० जना विद्यार्थीमध्ये एकजना पढ्न आउने र कक्षा ९ मा ४१ जना विद्यार्थीमध्ये १ जना मात्रै कक्षामा आउने गरेको शिक्षक जयसिंह सार्कीले बताए ।

उनले भने, ‘कक्षा १० का सबै विद्यार्थी यार्सा संकलनका लागि लेकतिर गए साना साना विद्यार्थी मात्रै विद्यालय आउने गरेका छन् ।’

जुम्लाका उच्च हिमाली क्षेत्रमा दुई महिना त निमावि र माविको पढाइ नै बन्द हुने गरेको छ । पातारासी गाउँपालिकामा पाँचवटा मावि २० वटा निमावि र ६ वटा प्रावि विद्यालय रहेका छन् । गाउँपालिका अध्यक्ष लछिमन बोहोराले विद्यार्थीलाई विद्यालयबाहिर जान नदिनका लागि वैकल्पिक उपायको खोजी गरिने बताए ।

तपाईको प्रतिक्रिया