पार्किङ शुल्क बढेपछि नेपाली व्यवसायीलाई समस्या - Naya Patrika
eNaya Patrika
  • ePaper

पार्किङ शुल्क बढेपछि नेपाली व्यवसायीलाई समस्या

चीनको केरुङमा रहेको पार्किङस्थलमा सवारीसाधनको पार्किङ शुल्क बढाइएपछि नेपाली व्यापारी समस्यामा परेका छन् । चिनियाँ पक्षले पार्किङस्थलको संख्या बढाई पार्किङ शुल्कमा वृद्धि गर्दा नेपाली व्यापारी समस्यामा परेका हुन् ।

यसअघि दुईवटा पार्किङस्थल रहेकोमा अहिले बढाएर तीन पु-याइएको छ । तीनवटै पार्किङमा शुल्क तिर्नुपर्दा मारमा परेको नेपाली व्यापारी पुरुषोत्तम पौडेलले बताए । तीनवटा पार्किङ परिवर्तन गरेर गाडीमा सिल लगाउँदा चार सयदेखि पाँच सय आरएमबी शुल्क तिर्नुपर्ने व्यापारी पौडेलले बताए ।

यसअघि पार्किङस्थलमा सवारी राख्दा १०० आरएमबी शुल्क तिर्नुपर्ने भए पनि अहिले थप दैनिक ५० आरएमबी शुल्क बढी तिर्नु परिरहेको चालक डोलप्रसाद आचार्यले बताए ।

नेपालबाट सामग्री लिन केरुङ पुगेका कन्टेनरले तीनवटै पार्किङमा शुल्क बुुझाउनपर्ने भएपछि चाँडो सामान लोड गरी कन्टेनर नेपालतर्फ फर्कन थालेका छन् । तयारी सामग्री आयात गर्दा थोरै समय बस्नुपर्ने र स्याउ आयात गर्दा ६ दिनदेखि नौ दिनसम्म बस्नुपर्ने नेपाली चालकहरू बताउँछन् ।

चिनियाँ पक्षसँग छलफल गर्छौं : प्रजिअ

चिनियाँ पक्षले पार्किङ शुल्कमा गरेको वृद्धिको विषयमा आगामी बैठकमा चिनियाँ अधिकारीसँग छलफल हुने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलेले बताए । केरुङ नाका हुँदै चीनबाट रेडिमेड कपडा, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ ।

नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायतका सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया