क्रसर र ढुंगाखानीले स्थानीयलाई समस्या - Naya Patrika
eNaya Patrika
  • ePaper

क्रसर र ढुंगाखानीले स्थानीयलाई समस्या

पनौती नगरपालिका–२ को कुशादेवी र कलाँती भूमिडाँडा क्षेत्रमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगका कारण बस्तीसमेत विस्थापित हुने अवस्था सिर्जना भएको छ । क्रसर उद्योगले जथाभावी ढुंगा उत्खनन गर्दा स्थानीय बस्तीसहित प्राकृतिक वनमा समेत असर परिरहेको स्थानीय अर्जुन आचार्यले गुनासो गरे ।

डाँडामा बस्ती छ । बस्तीको तल सञ्चालित ढुंगाखानी र क्रसरको आवाज तथा धुलो र धुवाँले स्थानीय बासिन्दालाई समस्या हुने गरेको छ । ‘क्रसरको आवाज र धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ,’ आचार्यले भने, ‘क्रसरबाट निस्कने धुलोले रुख–बिरुवा ढाकिएका छन् ।

तरकारी र अन्नबालीको उत्पादन पनि कम हुँदै गएको छ ।’ क्रसरको आवाजले राति सुत्नसमेत नसकिने गुनसो उनले गरे ।

सार्वजनिक यातायात सञ्चालनमा समस्या
साँघुरो बाटोमा ढुंगागिटी बोकेका ट्रिफर गुड्दा सार्वजनिक यातायातका साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ । ट्रिफरले गाउँमा दूध र तरकारी ढुवानी गर्ने गाडी सञ्चालनमा समस्या सिर्जना गरिरहेको गुनासो स्थानीयले गरेका छन् । क्रसरले पहाडमा अनियन्त्रित ढंगले ढुंगा उत्खनन गर्दा भूक्षयको जोखिमसमेत बढेको छ ।

अशान्ति भयो भन्दा बस्ती किन्ने धम्की
स्थानीयवासीले क्रसरका कारण शान्तसँग बस्न नपाएको विषयमा सञ्चालकहरूसँग गुनासो गर्दा उनीहरूले गाउँ नै किन्ने भन्दै धम्की दिने गरेको आचार्यले गुनासो गरे ।

‘क्रसर हामी बन्द गर्दैनौँ, तपाईंहरूको घरवासको मूल्य कति हो, हामी किन्छौँ भन्छन्,’ आचार्यले भने, ‘उनीहरू सस्तो भाउमा लिन खोज्छन् । यहाँ सस्तैमा बेचेर हामी कहाँ जानु ?’ क्रसरकै कारण स्थानीय पाँच घर विस्थापितसमेत भइसकेका छन् ।

क्रसरकै कारण विस्थापित स्थानीय साधुराम आचार्यले गाउँमा बस्नै नसकेपछि बसाइँ सर्नुपरेको गुनासो गरे । ‘क्रसरको आवाजले वल्लो घरबाट बोलाएको पल्लो घरमा सुनिन छाड्यो, उनले भने, ‘कि त खानी बन्द गर्नुप¥यो कि बसाइँ नै सर्नुपर्ने अवस्था आयो ।

हामीले खानी बन्द गर्न सकेनौँ । त्यसैले बसाइँ सर्न बाध्य भयौँ ।’ अर्का स्थानीय कान्छालाल तामाङले खानीले धेरै असर गरेकाले खानी हटाउनुपर्ने बताए ।

खोलाको पानी धमिलो
ढुंगा र क्रसर उद्योगबाट निस्केको माटो खोलामा फ्याँक्दा रोसीखोलाको पानी बाह्रै महिना धमिलो हुन्छ । क्रसरकै कारण काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले सञ्चालन गरिरहेको खानेपानीको पाइपसमेत पुरिएको छ । खानी तथा उद्योगको अनुगमन र निरीक्षण गर्ने जिम्मा पाएका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले यसप्रति कुनै चासो देखाएका छैनन् ।

केही गर्न सकिँदैन : मेयर
पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले आफूहरू निर्वाचित भएर आउनुअघि नै खानी विभागमा दर्ता भई क्रसर सञ्चालन भएकाले केही गर्न नसकिने बताए । ‘खानीका कारण स्थानीय बासिन्दालाई समस्या छ । खानेपानी आयोजनामा समेत धेरै असर गरेको छ,’ उनले भने, ‘हामी आएपछि थप उद्योग दर्ता हुन दिएका छैनौँ । पुरानो अन्यत्र सार्ने विषयमा माथिल्लो निकायले नै पहल गर्नुपर्छ ।’

आफूहरू निर्वाचित भएर आएपछि खानी सञ्चालनका लागि अनुमति माग्न आएका ६–७ वटा फाइल नगरपालिकाले रोकेर राखेको उनले बताए । ढुंगाखानीकै कारण भूमेडाँडा र कुशादेवीको सिमानामा पर्ने रोसीखोलामा पानीको सतहसमेत घट्न थालेको छ ।

तपाईको प्रतिक्रिया