मदनको २५ औं स्मृति दिवश: ईश्वर पोखरेलको नजरमा यस्ता थिए भण्डारी - Naya Patrika
eNaya Patrika
  • ePaper

मदनको २५ औं स्मृति दिवश: ईश्वर पोखरेलको नजरमा यस्ता थिए भण्डारी

 

                                ईश्वर पोखरेल

ठ्याक्कै दिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागिसकेको हुनुपर्छ । मध्यवर्षात्मा हराभरा बनेका खेतबारी र वन–बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णता थियो । म भने कहिल्यै नगएका–नपुगेका बस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिँडिरहेको थिएँ ।

सो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भई को–अर्डिनेसन केन्द्र (कोके)मा भर्खरै सामेल भएका एकजना क्रान्तिकारी ‘जीवन शर्मा’लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट प्रेरित थियो ।कुरा के थियो भने– पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टीको ‘मोर्चा संगठन’सँग सम्बन्धित अधिकांश नेता–कार्यकर्ताले भर्खरै विद्रोह गरेका थिए ।

नेतृत्वको ‘अवसरवादी आचरण’का कारण देखाउँदै विद्रोह गरी उनीहरूले ‘झापाली क्रान्तिकारीहरू’ले गठन गरेको ‘को–अर्डिनेसन केन्द्रमा सामेल हुने घोषणा गरेका थिए । उनीहरूको संगठनको नाम ‘मुक्ति–मोर्चा’ थियो । ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो । म वहाँलाई सम्पर्क गरी २०३५ साउन ४–९ गते हुन लागेको ‘कोके’को ‘तेस्रो सम्मेलन’मा सहभागी गराउन गएको थिएँ ।

सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’को गाउँ इटहरा पुगेँ । एकदिनको पखाइपछि कालो टोपी, फिक्का आकासे रङको टेरिकटनको सर्ट र हाफप्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई भेटेँ । आखिर ‘जीवन शर्मा’को नामले मसँग परिचय गराइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदो रहेछ ।

पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आमजनताको विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, उहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनासमेत मदनलाई सुन्न लालायित देखिन्थे । तर, अचम्म ! मदनले हजारौँको त्यो उपस्थितिमा बोल्न पाउनुभएन ।

 

सम्मेलनमा बन्दुक भिरेका मदन
‘कोके’को ‘तेस्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका बीच भइरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पञ्चायती व्यवस्थाका पुलिसहरू बाहिर बाक्लै गस्तीमा थिए । कार्यक्रमस्थलमा कुन वेला छापा मारिने हो त्यसको ठेगान थिएन । जनस्तरबाट तह–तहमा सुरक्षा प्रबन्ध त हामीले गरेका थियौँ, तर पनि पुलिसको अस्वाभाविक आक्रमणको सम्भावनालाई टार्न सकिन्नथ्यो ।

हामीले सहभागीकै तर्फबाट थप सुरक्षाको व्यवस्था ग-यौँ । यसका लागि हामीसँग भएका दुई थान बन्दुक प्रयोग गर्ने निधो भयो । बन्दुक प्रयोग गर्न जान्ने साथीहरूको छनोट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र संखुवासभाबाट आउनुभएका वासु शाक्यको टिमलाई जिम्मेवारी तोकियो । रत्न र वासुका बारेमा त साथीहरूले थोरै बुझ्नुभएको थियो, तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन ।

जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सबै चकित भए । यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो– वैचारिक रूपमा प्रखर नेता त उहाँ हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाइँका निम्ति पनि तयार नेताका रूपमा हामीले उहाँलाई चिन्यौँ ।

मालेका संस्थापक र शीर्ष नेता
‘कोके’को संगठन विस्तारमा मदनको भूमिका बेगवान थियो । मेची–कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व–दक्षिण क्षेत्र’ नामको सांगठनिक संरचना खडा गरियो । त्यसको प्रमुख मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्रअन्तर्गत पर्ने सबै जिल्लाका नेतृत्वदायी कमिटीलाई पुनव्र्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो । २०३५ साल पुस ११–१४ मा ‘कोके’को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’को जन्म भयो ।

मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको बस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । व्यवस्थापनको नेतृत्व मदनले गर्नुभएको थियो । सम्मेलन चलिरहँदा नै एकातिर संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या ग-यो भने अर्कातिर पार्टीभित्रै धनुषा जिल्ला कमिटी सदस्य रामचन्द्र र अशेश्वर यादवले उग्रवामपन्थताको वकालत गरे । केही साथीले ‘कोके’ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै विर्सजनउन्मुख विचार पनि अघि सारे ।

‘राष्ट्रिय सम्मेलन’स्थलमै केही साथीले बाहिर कतै प्राप्त गरेको एउटा लामो पर्चा ल्याउनुभयो– पर्चाको शीर्षक नै ‘पथभ्रष्ट चन्द्र नेतृत्वदायी गुटके उपर गोलाबारी करेँ !’ थियो । त्यसवेला चन्द्र्रकाश (सिपी) मैनाली पार्टी महासचिव हुनुहुन्थ्यो । उहाँ बहुचर्चित हुनुहुन्थ्यो ।

हिन्दीमा छापिएको उक्त पर्चाले हामीलाई आक्रोशित बनायो । पार्टी स्थापना गर्ने दिनमै रामचन्द्र–अशेश्वरहरूको उग्रवामपन्थी चिन्तन र दक्षिणपन्थी चिन्तनको सामना गर्नुपर्ने भयो । त्यसको प्रतिवादमा मदनले सक्रियताका साथ भूमिका खेल्नुभयो । केही समयभित्रै यी दुवै विचारलाई निष्प्रभावी बनायौँ ।

०४६ चैत २६ गतेको ऐतिहासिक र संयुक्त विजयसभामा राधाकृष्ण मैनालीलाई सभास्थलबाट बाहिर ल्याइयो, बोल्न दिइएन । अहिले मलाई एउटा प्रश्नले सधैँ लखेटिरहन्छ– त्यसवेला मदनसहितका हामीले राधाकृष्णप्रति विवेक पु-याउन सकेका थियौँ कि थिएनौँ ? मदन यसवेला रहनुभएको भए यो प्रसंगमा कसरी सोच्नुहुन्थ्यो होला ?

महासचिव मदन
२०४६ भदौमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनबाट मदन सर्वसम्मत महासचिवमा निर्वाचित हुनुभयो । त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलनपश्चात् राजनीतिक पार्टीहरू वैधानिक ढंगले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालीन नेतामध्ये पृथक उचाइका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गढेको सहजै बुझ्न सकिन्थ्यो ।

विभिन्न वामपन्थी समूहलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता मदनको थियो । सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयमा एउटै धारणा र मान्यता भएका, तर कार्यनीतिमा भने एक ठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत् बहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता मदनको थियो ।

छरिएका वाम पार्टीलाई गोलबद्ध गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो– मदन । यिनै मान्यतामा तत्कालीन माले पार्टीले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सक्यो ।

मदन महासचिवजस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी सम्भव भयो ? त्यसवेला वहाँ केवल ३९ वर्षको मात्र हुनुहुन्थ्यो । मदनको यो विकासक्रमलाई अहिले एमालेभित्रकै कतिपयले समेत राम्ररी बुझ्न सकेका छन् जस्तो लाग्दैन ।

मदनबारे आ–आफ्नै धारणा राख्नेहरू छन् । कतिपयले त वहाँलाई भावनात्मक हिसाबले मात्र बुझिरहेका छन् जस्तो लाग्छ । मदन भण्डारीलाई बुझ्नु एउटा व्यक्तिलाई बुझेजस्तो मात्र होइन । यो त कम्युनिस्ट आन्दोलनभित्रका सही विचारलाई कसरी बुझ्ने भन्ने विषय हो । मदन कम्युनिस्ट आन्दोलनभित्रको व्यक्ति मात्र नभएर, विचार–प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको बाहक पनि हो ।

मदनको वैचारिक आधार पूर्वीय साहित्य, दर्शन तथा माक्र्सवादी साहित्यको गहन एवं समीक्षात्मक अध्ययन थियो । तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिबद्धताले विकसित भएको व्यक्तित्व हुनुहुन्थ्यो । मैले नेकपा (एमाले)को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दा वहाँमा रहेको त्यो क्षमतालाई बेजोड मानेको छु । २०४० सम्म मदन केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । तर, बैठकहरूमा उपस्थिति र वैचारिक छलफलमा स्पष्ट दृष्टिकोणका कारण उहाँ सबैको केन्द्र बन्दै जानुभयो ।

२०३९ मा सिपीसँगको विवादपछि महासचिव बन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिटब्युरो र मदनको अगुवाइमा केन्द्रीय कमिटीजस्तो भएको थियो । बैठकमा छलफल हुँदा मदनले अगुवाइ गर्ने बहसमा पक्षमा उभिँदा मलगायत साथीहरूलाई गौरवबोध हुन्थ्यो । पछिपछि त वहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी बन्दै जान थाल्यो कि उहाँलाई पोलिटब्युरोमा ल्याउनैपर्ने भयो ।

मदन पोलिटब्युरोे सदस्य बनेपछि वैचारिक नेताका रूपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त बन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण गर्ने र विषयलाई अध्यावधिक गर्ने सवालमा वहाँको क्षमता प्रकट हुन थाल्यो । यिनै क्षमताले उहाँ २०४६ को चौथो महाधिवेशनबाट सर्वसम्मतिका साथ महासचिव हुनुभएको थियो ।

ध्रुवीकरणका सूत्रधार
मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजना कार्यान्वयनमा सामञ्जस्य, पार्टी शक्तिको सही विन्यास, सबै राजनीतिक शक्तिका बीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले कांग्रेस र वामपन्थीबीच सहकार्यको मार्गचित्र तय ग-यो । उहाँको नेतृत्वले जनआन्दोलन सफल बनाउन निर्णायक भूमिका खेल्यो ।

आन्दोलन अगाडि बढाउन हामीबीचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर, प्रक्रियाको ढिलाइ र विषयलाई बोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैनथ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्ने खासगरी, मदन, केपी शर्मा ओली, माधव नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो ।

२०४६ चैत २६ गतेको राजा, कांग्रेस र वाम मोर्चासँगको त्रिपक्षीय सम्झौतामा राधाकृष्ण मैनालीले जसरी ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी औसरवादी रुझान राखेको भन्ने हामीलाई लागेको थियो । हाइकमान्डसँग परामर्श नगरी सम्झौताका लागि लहसिएको आरोप लाग्यो । मदन पनि राधाकृष्णसँग आक्रोशित बन्नुभयो ।

यही ‘सेन्टिमेन्ट’मा चैत २६ गतेको ऐतिहासिक र संयुक्त विजयसभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो, बोल्न दिइएन । अहिले मलाई एउटा प्रश्नले सधैँ लखेटिरहन्छ– त्यसवेला मदनसहितका हामीहरूले राधाकृष्णप्रति विवेक पु-याउन सकेका थियौँ कि थिएनौँ ? मदन यसवेला रहनुभएको भए यो प्रसंगमा कसरी सोच्नुहुन्थ्यो होला ?

२०४७ मा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका बीच एकीकरण हुने स्थिति बन्यो । मदन यी दुई समूहका बीचमा एकीकरण गराएर कम्युनिस्ट आन्दोलनमा इतिहास र ऊर्जाको सम्मिश्रण गराउने पक्षमा हुनुहुन्थ्यो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिस्ट समूहका बीच एकता गर्नु जिम्मेवारीपूर्ण काम थियो । तर, यही काम पूरा गरी छाड्ने संकल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाउने कुरामा पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिनेमा वहाँ संकल्पबद्ध हुनुहुन्थ्यो ।

उहाँ मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकीकरणको सन्देशसभा गर्दै निस्किनुभयो । नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रूपमा अभियान बनेर देशव्यापी रूपमा निस्केको थियो, मदनको नेतृत्वमा । अभियानले मुलुकमा राजनीतिक तरंग मात्र होइन, एमाले नामको नयाँ शक्तिलाई स्थापित ग-यो ।

तीव्र वैचारिक बहसकै बीचमा २०४९ माघमा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशन गरियो । त्यो महाधिवेशनले मदनको नेतृत्वमा जनताको बहुदलीय जनवादलाई अत्यधिक बहुमतले पारित गरेको थियो । त्यसले मुलुकको प्रजातान्त्रिक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उद्घोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीको ठूलो समर्थनले मदन भण्डारीलाई एमालेको महासचिव चुन्यो ।

जब मदनलाई रोकियो
आमनिर्वाचनमा कांग्रेसका लोकप्रिय नेता एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्ने मदनले बहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रीकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने घारणा अघि सार्नुभएको थियो । मैले अहिले पनि बुझ्न नसकेको एउटा प्रसंगको सम्झना भइरहन्छ । पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको दशरथ रंगशालामा बिसौँ हजार जनताका बीचमा आयोजना गरिएको थियो ।

प्रतिनिधि, पर्यवेक्षक र आमजनताको विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, वहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनासमेत मदनलाई सुन्न लालायित देखिन्थे । तर, अचम्म ! मदनले हजारौँको त्यो उपस्थितिमा बोल्न पाउनुभएन । त्यहाँ मनमोहन, माधव, झलनाथ र सिपीले बोल्नुभयो, तर मदनले बोल्न पाउनुभएन । मदनले बोल्नुपर्छ भनेर मैदानमा बस्नेहरू कराइरहेका थिए, तर पनि वहाँले बोल्ने अवसर जुरेन । यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नि ?

त्यहाँबाट मदन र म सँगै फर्केका थियौँ । उद्घाटन सभामा आफूलाई बोल्न नदिएको बारेमा मुखै खोलेर त केही बोल्नुभएन, तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दै गरेको अस्वस्थ्यताका बारेमा केही संकेत भने गर्नुभयो । यी सबै कुराका बाबजुद पनि महाधिवेशनको बन्द–सत्रमा वहाँले प्रस्तुत गर्नुभएको विचार, योजना र नेतृत्वको सानदार विजय भएको थियो ।

कोअर्डिनेसन केन्द्र (कोके)को ‘तेस्रो सम्मेलन’मा बन्दुक प्रयोग गर्ने जानकार साथीहरूको छनोट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र वासु शाक्यको टिमलाई जिम्मेवारी तोकियो । रत्न र वासुबारे त साथीहरूले थोरै बुझ्नुभएको थियो, तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन ।

गणेशमानसँग सहकार्य चल्दाचल्दै…
२०४८ को आमनिर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको थियो । जसले ऊभित्र उन्माद जन्मायो । कांगे्रसले एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न सकेन । उसको व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति बन्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिविरूद्ध एमाले मात्र होइन, कांग्रेसभित्रै पनि विरोध हुन थालेको थियो ।

त्यसको अगुवाइ कांग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमानजीकै आग्रहमा यस मोर्चाबन्दीको एउटा महत्वपूर्ण योजनाकार मदन भण्डारी बन्नुभएको थियो । यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफल भए । मलाई लाग्छ, केही महत्वपूर्ण योजनासमेत बनेका थिए ।

२०५० जेठ २ गते मदन र मेरो लगभग एक घन्टा लामो भेटमा वहाँले यही जानकारी तथा अन्य केही सम्भावित विषयतर्फ पनि संकेत गर्नुभएको थियो । गणेशमानजीसित त्यसबीच पटकपटक भएका भेटघाटबारे जानकारी गराउँदै आफू काठमाडौंबाहिर रहेका वेला सम्पर्क सूत्रका रूपमा रहन मलाई निर्देशन दिनुभयो ।

त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्यान्डलाइन टेलिफोन नम्बर गणेशमानजीलाई दिएको बताउनुभयो । कुनै पनि वेला वहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरुन्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिबारे विवरणसहितको एउटा टिपोट दिनुभयो । मैले त्यसवेला मदनले भन्नुभएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहेँ ।

आवश्यक केही कुराहरू नोट गरेँ । आफूलाई लागेका केही विषयका बारेमा जिज्ञासा राखेँ । मदनको निर्देशन थियो– यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन्, गोपनीयता बचाउनुहोला, मैले दिएको कार्यक्रमको चिट पनि सुरक्षित राख्नुहोला ।’

कुराकानीपछि मदन कास्की जिल्ला अधिवेशनको उद्घाटनका लागि हिँड्ने तयारीमा लाग्नुभयो । मदनलाई शुभ–यात्रा भन्दै म आफ्नो ज्ञानेश्वरको कोठातिर लागेँ । २०३५ असार मसान्ततिर पहिलोपटक मदनलाई भेटेको थिएँ । २०५० सालको जेठ २ गते बिहान साढे ८ बजेको यो भेटपछि वहाँ फेरि कहिल्यै भेट नहुने गरी अस्ताउनुभयो । हार्दिक श्रद्धाञ्जली जननेता मदन भण्डारी !

(लेखक एमाले महासचिव हुन् ।)

तपाईको प्रतिक्रिया