पर्यटन प्रवर्द्धनका लागि लाङटाङमा साहित्यिक यात्रा - Naya Patrika
eNaya Patrika
  • ePaper

पर्यटन प्रवर्द्धनका लागि लाङटाङमा साहित्यिक यात्रा

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा सुरु गरिएको लाङटाङ साहित्यिक यात्रा सकिएको छ । २०७२ को विनासकारी भुकम्पमा लाङटाङमा ज्यान गुमाएकाहरुको सम्झनामा २७ वैशाख देखि सुरु भएको साहित्यिक यात्रा बुधबार स्याफ्रु आएर समापन भएको हो ।

एक साताको यात्रामा भुकम्पमा परि ज्यान गुमाएको सम्झना गर्दै साहित्यिक स्रष्टाद्वारा कविता वाचन तथा चित्र कोरिएको साहित्यकार फुर्पा तामाङले बताए । भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा भुकम्प, वातावरण संरक्षण र पर्यटन विकाससँग सम्बन्धित शीर्षकमा कविता वाचन गरिएको उनले बताए । लाङटाङका विभिन्न स्थानका ढुंगा र भित्ताहरुमा चित्र समेत कोरिएको बताइएको छ ।
भूकम्प पछि पनि लाङटाङ क्षेत्रमा सहज रुपमा यात्रा गर्न सकिन्छ भन्ने सन्देश दिने र पर्यटन तथा संस्कृतिको विकासमा योगदान गर्ने उद्देश्यले पदयात्रा संचालन गरिएको तामाङले बताए ।


साहित्यिक यात्रामा रसुवा, नुवाकोट, धादिङ, काठमाण्डौ र ओखलढुङगाका साहित्यकार, कलाकार र पत्रकार गरी ११ जना सहभागी थिए । यात्राले लाङटाङमा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताइएको छ ।
२०७२ वैशाख १२ मा गएको भूकम्पबाट लाङटाङमा दुई सय भन्दा बढीको ज्यान गएको थियो । हिमपहिरोका कारण लाङटाङ घुम्न आएका नेपाली तथा विदेशी पर्यटक, गाइड, भरिया र नेपाली सेनाले ज्यान गुमाएका थिए । भूकम्प पछि काठमाण्डौको पहेँलो गुम्बा पुगेका लाङटाङवासी केही महिनापछि गाउँ फर्किएका थिए ।

एक सय १६ घरधुरी रहेको पर्यटकीय क्षेत्र लाङटाङमा अहिले ४० भन्दा बढी घर निर्माण भईसकेको गोसाईकुण्ड गाउँपालिका ४ नम्बर वडा कार्यालयका वडाध्यक्ष सुब्बा लामाले बताए । ‘निर्माण भएका ४० घरधुरीमा पर्यटकका लागि सहज रुपमा बस्न होटल व्यवसाय संचालन भइरहेको छ’ उनले भने, ‘त्यसैले बिस्तारै हाम्रो गाउँ पहिलेको अवस्थामा फर्कदै जान थालेको छ ।’
बगरमा परिणत भएको देशकै तेस्रो गन्तव्यका रुपमा परिचित लाङटाङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढ्न थालेको छ । लाङटाङमा होटेल तथा लजको व्यवस्थापनसँगै मानव वस्ती बढ्नथालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया