अलैंची प्रवर्द्धनका लागि राष्ट्रिय नीति बनाउन माग - Naya Patrika
eNaya Patrika
  • ePaper

अलैंची प्रवर्द्धनका लागि राष्ट्रिय नीति बनाउन माग

लमजुङका किसानले अलैंची खेतीको प्रवद्र्धन र बजारीकरणका लागि राष्ट्रिय नीति र विकास बोर्ड गठन गर्न माग गरेका छन् । तेस्रो मुलुकमा निर्यात हुने कृषिजन्य सामाग्रीमा अलैंची पहिलो रहेपनि अहिलेसम्म राष्ट्रिय नीति तथा अलैंची विकास बोर्ड बन्न नसक्दा व्यवसाय प्रवद्र्धन र बजारीकरणमा समस्या भएको किसानहरुले गुनासो गरेका छन् ।

कफी र चियाको व्यापार प्रवद्र्धन गर्न बोर्ड गठन भएजस्तै अलैंचीको पनि बोर्ड गठन गर्नुपर्ने किसानले माग गरेका छन् । मंगलबार सुधारिएको अलैंची भट्टी वितरण कार्यक्रममा प्रदेश ४ का सांसद धनन्जय दवाडी समक्ष लमजुङका अलैंची किसानले अलैंचीको बजारीकरणका लागि सरकारको स्प्रष्ट राष्ट्रिय नीति आउन आवश्यक रहेको बताएका हुन् । ‘सरकारले राष्ट्रिय नीति घोषणा गरेमा अलैंची खेती विस्तार, उत्पादनमा बृद्धि र तेस्रो मुलुकमा निर्यात बढ्छ ।’, नेपाल अलैंची ब्यवसाय महासंघ लमजुङका अध्यक्ष अजय तामाङले भने, ‘अलैंची व्यवसायमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय नीति अपरिहार्य छ ।’
सरकारले अलैंचीको बजारीकरण गर्न नसक्दा मूल्यमा उतारचढाव भैरहेको उनको भनाइ छ । भारतको मागअनुसार बेच्नुपर्दा आफुहरुले घाटा बेहोर्नुपरेको किसानहरु बताउँछन् ।

प्रदेश नं. ४ का सांसद धनन्जय दवाडीले किसानलाई सुधारिएको अलैंची भट्टी वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दवाडीले अलैंचीको बजारीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । प्रदेश सरकार कृषिलाई ब्यवसायिक र उत्पादनमुखी बनाउँदै राज्यलाई आत्मनिर्भर बनाउने लक्ष्यमा अघि बढ्ने भएकाले उत्पादनलाई जोड दिन आग्रह गरे । प्रदेश सरकारले अलैंची उत्पादन गर्ने क्षेत्रलाई पहिचान गरी किसानको समस्यालाई समाधान गर्न लागी पर्ने उनले बताए । जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले जिल्लामा अलैँची उत्पादन राम्रो भएतापनी बजारीकरणमा समस्या भएको बताए । उनले किसानले उत्ािलन गरेको अलैंचीले मुल्य नपाउँदा समस्या भएको बताए ।

अलैंची व्यवसायी महासंघ लमजुङका अधयक्ष तामाङका अनुसार अलैंची व्यवसायमा दक्ष जनशक्तिको अभाव, कृषकले परम्परागत खेती अपनाउनु, रोग तथा किराको प्रकोप बढ्नु, मूल्यमा उतारचढाव आउनु, उत्पादन, उत्पादकत्व वृद्धि र गुणस्तर सुधारका लागि पूर्वाधारको कमीजस्ता समस्या रहेका छन् । अध्यक्ष तामाङले लमजुङमा अलैंचीको पकेट क्षेत्र, ब्लकहुँदै ‘अलैंची जोन’ को कार्यक्रम सञ्चालन भइरहेको बताए ।

अलैची सुकाउने सुधारीएको भट्टी वितरण
लमजुङका कृषकहरुलाई अलैँची सुकाउने सुधारिएको भट्टी प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागु भएका क्षेत्रका अलैँची कृषकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तरगत विभिन्न समुहहरुको माग अनुसार भट्टी वितरण गरिएको हो । मंगलबार जिल्ला कृषि विकास कार्यलय लमजुङमा एक कार्यक्रम गरी अलैँची सुकाउने भट्टी वितरण गरिएको परियोजना कार्यन्वयन इकाई अलैंची जोनका कार्यालय प्रमुख गोन्दिराज कोइरालाले बताए ।

परियोजना अन्र्तगत मस्र्याङ्दी, दोर्दी, क्होलासोंथर, दुधपोखरी गाउँपालिका र बेसीशहर नगरपालिकाका अलैँची कृषकहरुलाई १५ वटा सुधारिएको अलैंची भट्टी वितरण गरिएको हो । उत्पादन बढी गर्ने कृषक समुहलाई अलैंची भट्टी वितरण गरिएको नेपाल अलैंची व्यावसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।समुहलाई जाली, रड, धुवाँजाने पाईप, मेन ड्रम गरि प्रति सेट ७९ हजार रुपैयाँको बराबारको भट्टी वितरण गरिएको हो ।

प्रदेश नं. ४ का सांसद धनन्जय दवाडीले किसानलाई सुधारिएको अलैंची भट्टी वितरण गरेका थिए । यसवर्ष अलैंची किसानलाई विभीन्न संघसंस्थाको सहयोगमा अलैंची कृषक र अलैंची कृषक समुहलाई ६४ सेट अलैंची भट्टी वितरण गरिएको अध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया