दुई कोरियाबीच आज उच्चस्तरीय भेटवार्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

दुई कोरियाबीच आज उच्चस्तरीय भेटवार्ता

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरूको बैठक सीमावर्ती गाउँ पानमुनजोममा बस्ने भएको छ । उत्तर कोरियाको एक प्रतिनिधिमण्डलले चीन भ्रमण गरको दुई दिनपछि उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक बुधबार बस्न लागेको हो । उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार चीन पुगेको थियो ।

उत्तर र दक्षिण कोरियाबीच दुई महिनामा दोस्रोपटक बुधबार उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । गत २७ अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच उच्चस्तरीय बैठक भएको थियो ।

सो बैठकमा भएका शान्ति सम्झौतालगायतका विषयको समीक्षा र कार्यान्वयन गर्न दुई कोरियाबीच मन्त्रीस्तरीय बैठक हुन लागेको जनाइएको छ । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी १२ जुनमा सिंगापुरमा उच्चस्तरीय बैठक हुँदै छ । सोही बैठकको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेताले चीन भ्रमण गरेका थिए । उत्तर कोरियाली नेता किम केही दिन मात्र अघि चीन पुगेका थिए । किमले एक महिनामा दोस्रोपटकसम्म चीनको भ्रमण गरेका थिए ।

सिंगापुरमा हुने अमेरिका—उत्तर कोरिया वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि रिहा गरिसकेको छ ।

सो वार्ताको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाली विभिन्न देशका नेताहरूसँग फोनवार्ता गरेका छन् । उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि गत आइतबार फोनवार्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया