इजरायली सेनाको आक्रमणमा ५९ प्यालेस्टिनीको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

इजरायली सेनाको आक्रमणमा ५९ प्यालेस्टिनीको मृत्यु

गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको छ । गाजा र प्यालेस्टाइनको सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि इजरायली सेनाले गरेको कारबाहीमा मृत्यु हुनेको संख्या ५९ पुगेको हो । जेरुसेलममा अमेरिकी राजदूतावास सार्ने विषयमा प्यालेस्टाइनले आइतबार विशाल प्रदर्शन गरेको थियो । सो प्रदर्शनलाई सन् २०१४ यताकै ठूलो रक्तपात बताइएको छ ।

प्रदर्शनमा सहभागी हजारौँ प्यालेस्टिनीमध्ये २७ सय घाइते भएका छन् । मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीमाथि इजरायली सेनाले गरेको सैन्य कारबाहीका क्रममा अहिलेसम्म १ सय १३ भन्दा बढीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समुदायद्वारा आक्रमणको निन्दा
इजरायली सेनाको पछिल्लो कारबाहीको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबारको हमलालाई नरसंहार भनेका छन् । फ्रान्सेली राष्ट्रपति एम्यानुएल म्याक्रोनले सो हमलाको निन्दा गरेका छन् भने टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगानले इजरायलले आतंक र नरसंहार मच्चाएको आरोप लगाएका छन् । दुवै राष्ट्रले वार्ताबाट नै समस्याको समाधान गर्नुपर्ने अन्तर्राष्ट्रिय जगत्को जोड छ ।

संयम अपनाउन चीनको आग्रह
यसैबीच, चीनले संयम अपनाउन इजरायललाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लुछाङले सो आग्रह गरेका हुन् । इजरायली सेनाको कारबाहीमा ५९ जना प्यालेस्टिनीको ज्यान गएपछि चीनले यो आग्रह गरेको हो । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता लछाङले सो घटनाप्रति चीन गम्भीर रहेको भन्दै इजरायलका सामु संयम अपनाउनुबाहेक अर्काे विकल्प नरहेको बताएका छन् ।

अझै ठूलो नरसंहारको खतरा
तर, बेलायतले आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको तर्क अघि सारेको छ । जेरुसेलममा अमेरिकी दूतावास खोलिएको विरोधमा प्यालेस्टिनीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले सुरक्षा कदमस्वरूप सो कारबाही गर्नुपरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । सो क्षेत्रमा मंगलबार पनि प्रदर्शनको त्रास कायमै रहेको भन्दै ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया