शंकराचार्यको काठमाडौंमा नागरिक अभिनन्दन - Naya Patrika
eNaya Patrika
  • ePaper

शंकराचार्यको काठमाडौंमा नागरिक अभिनन्दन

वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु-याएको योगदानको कदर गर्दै जगन्नाथपुरीस्थित पूर्वयामना ऋग्वेद गोवर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको मंगलबार नागरिक अभिनन्दन गरिएको छ । काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले शंकराचार्यलाई नागरिक अभिनन्दन गरेका हुन् ।

नेपालको साताव्यापी धार्मिक यात्रामा रहेका उनलाई अभिनन्दन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर कुनै धर्मप्रति अनास्था राख्ने काम नगर्ने प्रतिबद्धता जनाए । ‘मेरो निष्ठा जनता र देशप्रति छ ।

म सबै धर्मावलम्बीको मत पाएर चुनाव जितेको मानिस, कुनै धर्म श्रेष्ठ छ भने मन जितेर व्यवहारमा देखाउनुपर्छ,’ ओलीले भने, ‘नेपाल छिर्नेबित्तिकै पवित्र भावना जाग्ने देश बनाउनुपर्छ, यसो भए यहाँबाट विश्व शान्तिको सन्देश प्रवाहित गर्न सकिन्छ भन्ने मेरो मान्यता छ ।’

देवभूमि, वेदभूमि, तपोभूमि नेपालमा धर्मावलम्बीबीच समदृष्टि र समभाव राख्न आफूले प्रयत्न गर्ने बताए । गुटगत स्वार्थभन्दा माथि उठेर गरिबी र अभाव अन्त्य गर्ने आफ्नो धर्म रहेको बताउँदै ओलीले समय मिलाएर गोवर्धन मठको भ्रमण गर्ने प्रतिबद्धता जनाए ।

शंकराचार्यले दुई हिसाबले काठमाडौँ नेपालको राजधानी भएको बताए । भौगोलिक राजधानीमा राजनीतिज्ञले शासन गरिरहेको र धार्मिक राजधानीमा भगवान् पशुपतिनाथले धार्मिक शासन गरेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया