गर्मीमा बगैँचाको हेरचाह - Naya Patrika
eNaya Patrika
  • ePaper

गर्मीमा बगैँचाको हेरचाह

बगैँचाको पारखीहरूका लागि गर्मी मौसम निकै उपयुक्त हो । किनकि, यो बगैँचामा फूल फुलाउने निकै उपयुक्त समय हो । तर, यसका लागि बिरुवा छनोटमा भने ध्यान दिनुपर्छ । बगैँचालाई हराभरा राख्न तातो तापक्रममा हुने फूलका बिरुवाको छनोट गर्नुपर्छ । यस्तो बिरुवा विज्ञको सल्लाहअनुसार नजिकैको नर्सरीबाट लिन सकिन्छ । सयपत्री, जिनिया, साल्भिया, फिलोसिया, लाहुरेलगायतका फूलका बिरुवा गर्मी मौसममा लगाउन उपयुक्त हुन्छ । र, बगैँचाको हेरविचारमा पनि विशेष ध्यान पु-याउन आवश्यक हुन्छ ।

ताफक्रम बढेको समयमा जमिनको पानी वाष्पीकरण भएर उड्ने भएकाले बिरुवालाई पर्याप्त मात्रामा पानी नपुग्न सक्छ । त्यसैले बिरुवालाई हराभरा कायम राख्न पर्याप्त पानीको आवश्यकता पर्छ । माटोलाई सुक्खा हुन दिनुहुँदैन । अन्यथा, बिरुवा मर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ ।

गर्मी मौसम गार्डेनमा झारपात पनि बढ्ने गर्छ । त्यसैले बगैँचामा नियमित रूपमा गोडमेल गर्न आवश्यक हुन्छ । अन्यथा, झारपातले नै बिरुवालाई आवश्यक पर्ने पौष्टिक तत्व सोस्ने गर्छ । परिणामस्वरूप बिरुवा नबढ्ने तथा ओइलाउने सम्भावना पनि हुन्छ ।

बगैँचामा फूलका बिरुवा राम्ररी बढ्नका लागि दुईदेखि तीन हप्ताको बीचमा मल राख्न जरुरी हुन्छ । बिरुवाको आकारअनुसार कम्पोस्ट मलको प्रयोग गर्न सकिन्छ । मध्यम अवस्थाको फूल फुल्न लागेको बिरुवालाई अन्य समयभन्दा बढी पोषण आवश्यक पर्छ । त्यसैले यस्तो समयमा बिरुवालाई प्रत्येक दुई हप्तामा मल दिइरहनुपर्छ ।


तर, यो समय बिरुवामा रोग तथा किरा लाग्ने पनि उत्तिकै सम्भावना हुन्छ । यस्तो प्रकोपबाट जोगाउन वेला–वेलामा उपचार गर्न आवश्यक हुन्छ । बिरुवामा रोग लाग्नुभन्दा अगाडि ढुसी लाग्न नदिन फंगिसाइटलगायत स्प्रे गर्नुपर्छ । नत्र, रोग र किराको संक्रमण बढी भएमा यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।

न्यूनतम आठ इन्चको गमलामा बिरुवा रोप्नुपर्छ । यस्तो आकारको गमलामा बिरुवाले आवश्यक मात्रामा जरा फैलाउन तथा झाँगिन सक्छ । त्यस्तै, बगैँचाको जमिनमा बिरुवा रोप्दा भने एक फिटको दूरी कायम राख्नुपर्छ । यसरी बिरुवा रोप्दा बगैँचाको स्याहार गर्न पनि सहज हुन्छ । र, फूल फुलेपछि आकर्षक पनि देखिन्छ ।

बिरुवा बढ्दै गएपछि विभिन्न कारणले पात पहेँलो देखिने तथा रोग लाग्ने समस्या हुन्छ । यस्तो भएमा बिग्रिएका पात टिपेर फाल्नुपर्छ । जसले बिरुवालाई सजिलै हुर्किन मद्दत पुग्छ । त्यस्तै, अव्यवस्थित रूपमा फैलिएका हाँगा पनि काटछाँट गर्नुपर्छ ।

रोग धेरै लागेको बिरुवा छ भने उपचार गर्नतिर लाग्नुहुँदैन । त्यसलाई उखेलेर नष्ट गर्दा बढी फाइदाजनक हुन्छ । नत्र, बिग्रिएको बिरुवाले अरूलाई पनि संक्रमित गर्न सक्छ ।

यो अत्यधिक हावा चल्ने मौसम पनि हो । यस्तो मौसममा बगैँचामा विभिन्न फोहोर जम्मा हुने पनि गर्छ । त्यसैले नियमित सरसफाइ गर्न आवश्यक हुन्छ । यस्तो अवस्थामा झरेका पातलाई खाल्डोमा राखेर कम्पोस्ट मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया