घरनिकाला गरिएकी ममताको विराटनगरमा उपचार - Naya Patrika
eNaya Patrika
  • ePaper

घरनिकाला गरिएकी ममताको विराटनगरमा उपचार

सिरहा गोलबजारका प्रकाश मरिकले कान्छी श्रीमतीले छोरी जन्माएको भन्दै कुटपिट गरी घरनिकाला गरेका छन् । जेठी श्रीमतीले छोरी जन्माएपछि एक वर्षअघि उनले सुनसरी गढी गाउँपालिका–७ सतेरझोडाकी १२ वर्षीया ममता मरिकसँग ढाँटेर विवाह गरेका थिए । तर, ममताले पनि छोरी नै जन्माएपछि प्रकाशले उनलाई गत १ वैशाखमा घरनिकाला गरेका हुन् ।

ममताले गत चैतमा छोरी जन्माएकी थिइन् । १३ वर्षमै आमा बनेकी ममता र नवजात शिशु दुवैलाई कुपोषण भएपछि इनरुवा जिल्ला अस्पतालन भर्ना गरिएको छ । श्रीमान् दिनभरि रक्सी खाएर हिँड्ने, घरपरिवारको वास्ता नगर्ने भएपछि ममतालाई स्थानीयको सहयोगमा एक साताअघि अस्पताल भर्ना गरिएको थियो । मंगलबार नयाँ पत्रिका दैनिकमा गम्भीर अवस्थाको विषयमा समाचार छापिएपछि उनलाई विराटनगर उपचारका लागि रिफर गरिएको हो ।

कुपोषण र छातीको इन्फेक्सन
१३ वर्षमै बच्चा जन्माएकी उनलाई मातृत्वबारे केही थाहा छैन । स्तनपान गराउनै जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहारसुसार कसरी गर्ने भन्ने पनि उनलाई ज्ञान छैन । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ ।

आमालाई छातीमा इन्फेक्सन, रक्तअल्पता र कुपोषणको समस्या रहेको उपचारमा संलग्न डा. तुषार झाले बताए । बच्चा र आमा दुवैलाई एउटै समस्या रहेकाले थप उपचार आवश्यक भएको अस्पतालमा कार्यरत लैंगिक हिंसा एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मीना भण्डारीले बताइन् । ममतालाई मंगलबार नै कोसी अञ्चल अस्पताल विराटनगरको पोषण युनिटमा उपचारका लागि लगिएको उनले जानकारी दिइन् ।

पेटमा बच्चा भएका वेला पाँच दिनसम्म नखाई बसेँ : ममता
जेठमा मेरो विवाह भयो । साउनमा गर्भ बस्यो । त्यही समयदेखि ममाथि कुटपिट सुरु भयो । उसकी जेठी श्रीमती अन्तै गएकी रहिछ । असारमै फर्केर आई । मलाई मैले गर्न नसक्ने र नजान्ने काम लगाउने गर्थी । सौताले पोल लगाएर बेलुका ममाथि कुटपिट हुन्थ्यो ।

कति दिनसम्म केही नखाई बसेँ । चार–पाँच दिनसम्म पनि मलाई खान दिएनन् । पेटमा बच्चा हुर्कंदै थियो । मलाई शारीरिक तथा मानसिक यातना दिइरहे । प्रकाश बजारमा एउटा अफिसमा सफाइको काम गर्थें ।

मलाई खाना लगाउन दिँदैनथे । केही नजान्ने, अटेरी भनेर सधैँ हेला गर्थे । गत चैतमा मैले खेतमै बच्चा जन्माएँ । बच्चा जन्माएपछि श्रीमान्ले माया गर्लान् भनेको झन् छोरी जन्माइस् भनेर थप पीडा दिए । छोरा किन नजन्माएको भनेर मुखमा औँला हाल्ने गर्थें, लाती र लाठी प्रहार हुन्थ्यो । कति रात रोएर बिताएँ । यो मेरी छोरी होइन भनेर यातना दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु