क्रिप्टोकरेन्सीको घोटाला - Naya Patrika
eNaya Patrika
  • ePaper

क्रिप्टोकरेन्सीको घोटाला

कुनै पनि कम्पनीमा पुँजी जुटाउन प्राथमिक सेयर निष्कासन इनिसियल पब्लिक अफरिङ (आइपिओ) गरेजस्तै इनिसियल कोइन अफरिङ (आइसिओ) मार्फत क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)का लागि वित्तीय स्रोत जुटाउने सबैभन्दा प्रचलित माध्यम हो । अहिले प्रचलनमा रहेका धेरैजसो क्रिप्टोकरेन्सीमा सुरुमा लगानी गर्ने यस्ता मानिसको संख्या करिब १ हजार ६ सयको हाराहारीमा रहेको र यसपछि भने थप गर्दै लगिएको देखिन्छ । कुनै पनि राष्ट्रको मुद्रा (डलर, पाउन्ड, युरो वा अन्य कुनै पनि राष्ट्रको राष्ट्रिय मुद्रा)लाई आइसिओमार्फत विशेष प्रकारका ‘टोकन’ वा ‘कोइन’मा विनिमय (परिवर्तन) गरी क्रिप्टोकरेन्सी माइनिङ गर्ने काम गरिन्छ । तर, यस्तो टोकन वा कोइन बजारका कुनै पनि वस्तु तथा सेवा खरिद गर्ने काममा प्रयोग हुन पनि र नहुन पनि सक्छन् ।

नोउरिएल रोउबिनी

आइसिओ परामर्श सेवा प्रदायक कम्पनी स्याटिस गु्रपका अनुसार ८१ प्रतिशत आइसिओ कुनै पनि लगानीकर्ताका पैसा ठगीमार्फत लिएर चलाउने ठगहरूको गिरोहबाट नै निर्माण गरिएको हुनाले यस्ता कोइन ठगी वा घोटाला नै हुन् । यो कुरा कुनै आश्चर्यको कुरा होइन । यसका साथै करिब ८ प्रतिशत मात्र क्रिप्टोकरेन्सीको कारोबार बजारमा हुने गरेको कुरामा पनि अचम्म नमान्दा हुन्छ । यसको अर्थ के भने ९२ प्रतिशत क्रिप्टोकरेन्सी प्रणालीमा आउन नै सक्दैन । लगानीकर्ताको हकअधिकार संरक्षण गर्न र ठगीबाट बचाउनका लागि विद्यमान धितोपत्रसम्बन्धी कानुन उल्लंघन गर्नुभन्दा अन्य काम कमै मात्र गरेको देखिन्छ ।

यदि कुनै पनि लगानीकर्ताले परम्परागत व्यवसाय (क्रिप्टोकरेन्सीबाहेकको अन्य लगानी)मा लगानी गर्दा विभिन्न प्रकारका कानुनी अधिकार प्राप्त गरेको हुन्छ । परम्परागत लगानीमा लगानीकर्ताले लाभांश प्राप्त गर्छन्, कर्जादाताले ब्याज प्राप्त गर्छन् । अथवा कम्पनी सबल हुन सकेन र धराशायी बन्यो भने कम्पनीको सम्पत्ति बिक्री गरी सेयर अनुपातमा केही रकम फिर्ता पनि पाउँछन् । लगानीकर्ताले यी अधिकार कुनै पनि जोडबलविना नै प्राप्त गर्छन्, किनभने कुनै पनि कम्पनी स्थापना गर्दा नै राज्यमा दर्ता गरिएको हुन्छ र त्यसरी दर्ता भएका कम्पनी कानुनका दायरामा रहेका हुन्छन् ।
यसका साथै लगानी कारोबारलाई वैधानिकता दिन लगानी आह्वान गर्ने कम्पनीले सत्यतथ्य वित्तीय विवरण, व्यावसायिक योजना र सम्भावित जोखिमका विषयमा सार्वजनिक जानकारी गराउनुपर्ने हुन्छ । उच्च जोखिम हुन सक्ने खालका सेयरमा लगानी गर्न जोखिम बहन क्षमता भएका लगानीकर्ताले मात्र लगानी गर्न पाउने व्यवस्था हुन्छ । अर्थात्, त्यस्ता जोखिम हुने सेयरमा लगानी गर्न सामान्य लगानीकर्ताका लागि प्रतिबन्ध गरिएको पनि हुन्छ । यसका साथै यसमा सम्पत्ति शुद्धीकरणको कानुन पनि लागेको हुन्छ । यसैगरी, ग्राहकको विस्तृत पहिचानसहितको विवरण ‘केवाइसी’ले पनि कर छलीलाई रोक्न मद्दत गरेको हुन्छ । खराब तरिकाले आर्जन गरिएको सम्पत्ति र आतंकवादमा सहयोग पुग्ने गरी वित्तीय कारोबार हुने सम्भावनासमेत रोक्ने प्रयास परम्परागत लगानीमा हुन्छ ।

पश्चिमा राष्ट्रमा निष्कासन भएका धेरैजसो क्रिप्टोकरेन्सी माथि उल्लेख गरिएका सबैजसो कानुन तथा नियम उल्लंघन गरी सिर्जना गरिएका हुन् । तर, धितोपत्र कानुनका नजरमा सबै क्रिप्टोकरेन्सीहरू पटक्कै वैधानिक होइनन् । किनभने, आइसिओ लगानीकर्ताका कानुनी वा वैधानिक आधार स्वीकार गर्न तयार छैनन् । साधारणतया क्रिप्टोकरेन्सीले ‘श्वेतपत्र’ मात्र जारी गरेका हुन्छन्, कुनै ठोस व्यावसायिक योजना नै हुँदैन । यस्ता अभौतिक मुद्रा जारी गर्ने कम्पनीका मुद्दा कसैलाई पनि थाहा नहुने र अदृश्य हुन्छन् । यसका साथै क्रिप्टोकरेन्सीले सम्पत्ति शुद्धीकरण र ग्राहकका विस्तृत विवरण ‘केवाइसी’को निमयन पनि हुँदैन । यसकारण जस्तोसुकै अपराध गरेका लगानीकर्तालाई त्यसमा प्रवेश गर्ने ढोका पनि खुला नै हुन्छ ।

अमेरिकी धितोपत्र तथा विनिमय आयोगका अध्यक्ष जे क्लेटोनले हालै एक वक्तव्यमार्फत क्रिप्टोकरेन्सीबारे स्पष्ट पारेका थिए । उनका लागि सबै क्रिप्टोकरेन्सी धितोपत्र नै हुन्, तर पहिलो श्रेणीमा रहेका बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी भने धितोपत्र होइनन् । बिटक्वाइनजस्ता पहिलो श्रेणीका मानिने धितोपत्र कमोडिटी मात्र हुन् । बिटक्वाइनजस्तै इथेरियम र रिप्पलले पनि पछिल्लो समय अवैधानिक काम गरिरहेका छन् । यिनीहरू कुनै पनि स्थानमा दर्ता भएका छैनन् । यी दुवै क्रिप्टोकरेन्सी सबैभन्दा ठूला क्रिप्टोकरेन्सीको सूचीमा दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अमेरिकामा फ्युचर्स र अप्सन मार्केट नियमन गर्ने अमेरिकी संस्था कमोडिटी एन्ड फ्युचर्स टे«डिङ कमिसनका पूर्वअध्यक्ष हाल म्यासाच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजीमा ब्लकचेन विषय प्राध्यापन गर्दै आएका ग्यारी गेनस्लरले समेत यस विषयमा विभिन्न सुझाब दिँदै आएका छन् ।

तसर्थ, पछिल्लो समय आइसिओका नाममा सयौँ कम्पनीले लगानीकर्ताबाट संकलन गरेको अर्बौँ रकम प्राविधिक रूपमा गैरकानुनी नै हो । योभन्दा पनि खराब त तिनीहरूको व्यावसायिक मोडल छ । ‘धेरै क्रिप्टोकरेन्सीको मुख्य ध्येय लगानीकर्ता ठग्नु नै हो,’ वित्तीय समाचार सेवा प्रदायक संस्था फाइनान्सियल टाइम्सकी इजाबेला कामिन्स्का र बेलायती संस्था सेन्टर फर इभिडेन्स बेस्ड म्यानेज्मेन्टका मार्टिन वाकरले हालै बेलायतको हाउस अफ कमनको वित्तीय समितिमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सामान्य व्यावसायिक कारोबारमा ग्राहकले परम्परागत मुद्रा प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्न सक्छन् । तर, आइसिओमार्फत कुनै पनि वस्तु तथा सेवा खरिद गर्नुपर्दा पनि त्यस्तो मुद्रालाई विशेष प्रकारको टोकनमा परिवर्तन गर्नुपर्ने हुन्छ । नाफा आर्जन गर्न खोलिएको, तर वैधानिक कुनै पनि व्यवसायले ग्राहकलाई यति धेरै झन्झट दिँदैन ।

वास्तवमा टोकन होल्डरले पनि पर्याप्त वस्तु तथा सेवा खरिद गर्न पाउँदैनन् । यसो गर्नुको पछाडि उनीहरू कम टोकन उत्पादन गरी बजारमा माग बढाउन चाहन्छन् । उनीहरू बजारमा हुने प्रतिस्पर्धाबाट पनि टाढै हुन्छन् । उदाहरणका लागि डेन्टाकोइनलाई नै लिऔँ । यो कतिसम्म हाँसोलाग्दो क्रिप्टोकरेन्सी हो भने दाँतसम्बन्धी सेवा प्रदायक संस्थामा मात्र कारोबार हुने गरी निर्माण गरिएको हो । तर, वास्तवमा यो कोइन स्वीकृत गर्ने डेन्टिस्टचाहिँ कोेही पनि छैनन् । तर, सभ्य भनिएका राष्ट्रमा पनि व्यावसायिक कार्टेलिङ किन गैरकानुनी मानिन्छ भन्ने कुरा बुझ्नचाहिँ गाह्रो हुने देखिन्छ ।

निश्चय पनि क्रिप्टोकरेन्सी खरिद गर्ने क्षमता भएका ग्राहकले मात्र कार्टेलिङको विरोध गर्छन् । किनभने, यदि त्यस्ता कोइनको मूल्य वृद्धि भयो भने तिनी थोरै संख्याका लगानीकर्तालाई मात्र फाइदा पुग्छ । तर, यसको कुनै पनि खास अर्थ हुँदैन । बजारका वस्तु तथा सेवाको मूल्यभन्दा बढी मूल्य टोकनको कायम भयो भने टोकन खरिद गर्न चाहने कोही पनि हुँदैनन् । यस्तो टोकन प्रयोग गर्न दबाब दिनुका पछाडि रहेको कारणचाहिँ मूल्य वृद्धि गराउनु वा लगानीकर्तालाई ठगी गर्नु नै हो ।

गैरकानुनी काम गर्नु मात्र नभएर क्रिप्टोकरेन्सीले बजार मूल्य प्रणालीलाई पनि सशंकित गरेको छ । किनभने, एउटै कोइनले पनि निश्चित मुद्राबराबर कारोबारका लागि स्वीकृत गरिन्छ । क्रिप्टोकरेन्सीको संसारमा प्रत्येक वस्तु तथा सेवाका लागि भिन्दै प्रकृतिको टोकन प्रयोग गर्नुपर्ने हुन्छ । तर, एउटा साधारण लगानीकर्तालाई भिन्न–भिन्न प्रकृतिका टोकनको मूल्यले अप्ठ्यारोमा पारेको हुन्छ भने एक प्रकृतिका वस्तु तथा सेवाको कारोबारमा समेत असहज पारेको हुन्छ । यसका साथै धेरै लगानीकर्तालाई त्यस्तो टोकनको बजार मूल्य निरन्तर परिवर्तन भइरहने हुनाले त्यस्ता कोइनको वास्तविक क्रयशक्ति क्षमता कति हो भन्नेसम्म पनि थाहा हुँदैन  ।

क्रिप्टोकरेन्सीको कारोबार गर्ने नै हो भने कुनै पनि वस्तु तथा सेवाको खरिद गर्न उपभोक्ताले एक निश्चित राष्ट्रको राष्ट्रिय मुद्रा प्रयोग गर्नुको सट्टा कम्तीमा पनि २ सयवटा क्रिप्टोकरेन्सीको कारोबार गर्नुपर्ने भएकाले यो प्रक्रिया निकै झन्झटिलो हुन्छ । यसमा पनि क्रिप्टोकरेन्सीको मूल्य मापन गर्न एकदमै गाह्रो छ । यसका साथै कुनै एक प्रकारको क्रिप्टोकरेन्सीलाई अर्को प्रकारको क्रिप्टोमा बदल्दा लाग्ने खर्च पनि उपभोक्ताले नै तिर्नुपर्ने हुन्छ ।

कुनै पनि राष्ट्रमा एउटैे मुद्रा प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ । मुद्रा सार्वजनिक सम्पत्ति हो, जसले गर्दा कुनै पनि वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा सहज हुन्छ । आइसिओका ठगहरूले सिचुएसन कमेडी ‘द जेस्टोन’मा वर्णन गरिएको जस्तो भविष्यतर्फ लैजाँदैन, बरु सोही प्रकृतिको कमेडी ‘द फ्लिन्टस्टोन’मा वर्णन गरिएजस्तो सबैखाले वस्तु खरिद गर्न विभिन्न प्रकारका टोकन प्रयोग गर्नुपर्ने ‘आधुनिक ढुंगेयुग’तर्फ चाहिँ लैजान्छ । कडा श्रम गरी आर्जन गरेको सम्पत्ति बचत गर्ने विश्वसनीय प्रणालीबाट अलग गर्ने चाहना नै क्रिप्टोकरेन्सीको वकालत गर्नेहरूले कल्पना गरेको ‘आदर्श समाज’ हो भन्ने कुरा पहिचान गर्ने समय यही हो ।

नोउरिएल रोउबिनी आर्थिक विश्लेषण संस्था रोउबिनी म्याक्रो एसोसिएटस्का अध्यक्ष तथा न्युयोर्क विश्वविद्यालयअन्तर्गत ‘स्टर्न स्कुल अफ बिजनेस’मा अर्थशास्त्र विषयका प्राध्यापक हुन् ।
कपिराइट: प्रोेजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु