नदी तालिम तथा तटबन्ध निर्माणमा भारतको १८ करोड सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

नदी तालिम तथा तटबन्ध निर्माणमा भारतको १८ करोड सहयोग

नदी तालिम तथा तटबन्ध निर्माणका लागि भारत सरकारले १८ करोड ७ लाख ४० हजार रुपैयाँ अनुदान दिएको छ । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई चेक हस्तान्तरण गरेका छन् । उक्त अवसरमा मन्त्री वर्षमान पुनको उपस्थिति थियो ।

नदी तालिम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, वाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने तयारी छ । भारत सरकारले नेपाललाई सन् २००८ देखि अहिलेसम्म नदी तालिम र तटबन्धका लागि १३ किस्तामा कुल ४ अर्ब ४८ करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाढी व्यवस्थापनमा दुई देशबीचको सहकार्य महत्वपूर्ण हुने बताए । मन्त्री पुनले कमला नदीमा निर्माण हुने बाँधले पूर्व–पश्चिम राजमार्गभन्दा तलका गाउँको आर्थिक अवस्थामा सुधार हुने बताए । उनले विस्तृत आयोजना प्रतिवेदन तयार भई स्वीकृत हुने प्रक्रियामा रहेका खाडो, पश्चिम राप्ती, भुटाही–बालन, बागगंगा, डुढा, मोहना नदीमा पनि सहयोग गर्न आग्रह गरे ।

चेक हस्तान्तरण गर्दै भारतीय राजदूत पुरीले भारत नेपाललाई नदी तालिम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया