गल्फ कोर्समा एक्लो नेता - Naya Patrika
eNaya Patrika
  • ePaper

गल्फ कोर्समा एक्लो नेता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गल्फ राम्रो खेल्छन् । फ्लोरिडामा उनको निजी गल्फ कोर्स नै छ । जापानी प्रधानमन्त्री सिन्जो आबे पनि गल्फका राम्रा खेलाडी हुन् । डेढ वर्षअघि एसिया भ्रमण गर्दै जापान पुगेका डोनाल्ड ट्रम्पसँग आबेले सुरुमै गल्फ कोर्समा भेटेको खबर विश्वभर फैलिएको थियो । उनी अमेरिका भ्रमणमा जाँदा पनि फ्लोरिडामा ट्रम्पसँग गल्फ खेलेका थिए ।

अमेरिकी पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लू बुस पनि गल्फ खेलाडी हुन् । युरोप, एसिया र अफ्रिकी मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीमाझ गल्फ लोकप्रिय छ । विश्वभर ‘गल्फ कूटनीति’ हुर्किंदै गइरहेको छ । विश्वका धेरै राजनीतिज्ञ गल्फ कोर्समै भेटिन्छन् । अनौपचारिक रूपले महत्वपूर्ण कूटनीतिक छलफल पनि गल्फ कोर्समा हुने गरेका छन् । गल्फ कोर्स मजबुत सम्बन्ध विस्तारको गतिलो फोरम बन्दै गएको छ ।

तर, नेपाली राजनीतिक दलका नेताले गल्फ खेल्ने गरेको देखिँदैन । धेरै नेतालाई गल्फबारे जानकारीसमेत नहुन सक्छ । ८ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण क्लब पुगेर गल्फ सिकेका थिए । तर, उनले गल्फलाई निरन्तरता दिएनन् । गल्फ कोर्समा एकाधबाहेक नेताहरू नदेखिने गोकर्ण गल्फ क्लबका प्रशिक्षक दीपक आचार्यको अनुभव छ ।

गल्फ कोर्समा धाउने एकाध नेतामा पर्छन्, नेपाली कांग्रेसका नेता डा. रामशरण महत । गल्फप्रतिको उनको लगाव गज्जबकै छ । व्यस्त समयमा पनि उनी समय निकालेर गल्फ कोर्स धाउँछन् । प्रशिक्षक आचार्यका अनुसार देशको ढुकुटी सम्हाल्ने अर्थमन्त्री हुँदा पनि धेरैपटक डा. महत गल्फ खेल्न गएका छन् । सरकारमा रहँदा उनी गल्फलाई कम समय दिन्छन्, सरकारबाहिर रहँदा हप्तामा २–३ पटकसम्म गल्फ खेल्छन् ।

 

गल्फ कोर्समा पुराना साथीहरू, विदेशी कूटनीतिक नियोगका अधिकारी, राजदूतहरू भेटिन थाले । हरियाली, शान्त र स्वच्छ वातावरणमा खेलिने गल्फले डा. महतलाई आकर्षित गर्यो । उनले राजनीतिसँगै गल्फलाई पनि उत्तिकै महत्वमा राखे । र, समय दिन थाले ।

 

नेपालका प्रायः नेता गल्फ खेल्दैनन् । तन्दुरुस्तीका लागि बरु टेबलटेनिस र ब्याडमिन्टन खेल्छन् । मर्निङवाक जान्छन्, हेल्थ क्लब धाउँछन् । गल्फको महत्व बुझेकै छैनन् । गल्फको महत्व राम्रोसँग बुझेका डा. महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको गल्फ कोर्स धाउँछन् । उनले गल्फ खेल्न थालेको डेढ दशक नाघिसक्यो ।

‘म अरू खेल खेल्दिनँ, फुर्सद निकालेर गल्फ खेल्न जान्छु,’ डा. महत भन्छन्, ‘अहिले फुर्सद पनि छ, हप्तामा दुईपटक गल्फ खेल्छु ।’ उनको बुझाइमा गल्फ ‘पिसफुल जेन्टलमेन गेम’ हो । गल्फमा ‘हाई प्रोफाइल’ सहभागिता हुन्छ । दैनिक खेलिरहनुपर्दैन । व्यस्तताबीच पनि समय निकालेर गल्फ खेल्न सकिन्छ । ‘अम्योचर’का लागि हप्तामा २–३ दिन गल्फ कोर्स धाउँदा पर्याप्त हुन्छ ।

‘विश्वका नेतामाझ गल्फ लोकप्रिय भइसकेको छ,’ उनी भन्छन्, ‘नेपालका नेताले गल्फ खेलेको देख्दिनँ ।’ दैनिक खेलिरहनु नपर्ने हुनाले राजनीतिज्ञका लागि गल्फ उपयुक्त खेल पनि हो । वरिपरि हरियाली जंगल हुन्छ । गल्फ मैदानमा पनि घाँस उमारिएको हुन्छ । शान्त र स्वच्छ वातावरणमा आनन्दसँग रमाएर खेल्न पाइने हुनाले गल्फप्रति रुचि बढेको उनी बताउँछन् । कहिल्यै नभेटिएका साथीहरू गल्फ कोर्समा भेटिनु सुन्दर पक्ष हो, उनका लागि । सबैभन्दा राम्रो पक्ष, बुढो हुँदासम्म पनि गल्फ खेल्न सकिन्छ । अरू खेल उमेर ढल्किँदै गएपछि खेल्न सकिँदैन । ‘गल्फ मैदानको वातावरण र त्यहाँ हुने सहभागिताले आकर्षित गरिरहन्छ,’ उनले भने, ‘बिस्तारै खेले पनि गल्फबाट भौतिक र मानसिक कसरत हुन्छ ।’

मर्निङवाक छाडेर गल्फ
माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै थियो । दैनिक मरेका खबर छ्याप्छ्याप्ती आइरहन्थे । समाज आतंकित थियो । डा. महत हरेक दिन बिहान एक/डेढ घन्टा मर्निङवाक गर्थे । मर्निङवाकबाट घर फर्किएपछि कार्यकर्ता भेट्ने उनको दैनिकी थियो । त्यहीवेला (२०५९ माघ १२)मा सशस्त्र प्रहरीका आइजिपी कृष्णमोहन श्रेष्ठ ललितपुरको बागडोलमा मर्निङवाक गरिरहेकै वेलामा माओवादीद्वारा मारिए । त्यसपछि एक्लै दौडिन असुरक्षित महसुस गरेर ‘मर्निङवाक’ गर्नै छाडेको डा. महत बताउँछन् ।

मर्निङवाक छाडेपछि शरीरलाई कसरत त चाहियो ! माओवादीको सशस्त्र द्वन्द्वले बाहिर निस्किनै डर थियो । संसद् विघटन भएकाले फुर्सद पनि थियो । सुरक्षित रूपमा व्यायाम गर्न उनी घरमै ‘ट्रेडमिल’मा दौडिन थाले । तर, दैनिक ‘ट्रेडमिल’मा दौडिँदा उनलाई दिक्क लाग्यो । त्यहीबखत छिमेकी मीनबहादुर राउतले गज्जबकै विकल्प सुझाए । उनको सुझाब थियो, ‘गल्फ खेल्नुस्, रमाइलो पनि हुन्छ, व्यायाम पनि ।’

राउतकै आग्रहमा शाही नेपाल गल्फ क्लब जोइन भएको डा. महतले अहिले पनि बिर्सिएका छैनन् । ‘म हरेक दिनजसो गल्फ खेल्न जान्थेँ,’ उनी भन्छन्, ‘तीन–चार हप्ता मिहिनेत गरेर खेलेपछि गल्फ सिकिहालेँ ।’

गल्फ कोर्समा पुराना साथीहरू, विदेशी कूटनीतिक नियोगका अधिकारी, राजदूतहरू भेटिन थाले । हरियाली, शान्त र स्वच्छ वातावरणमा खेलिने गल्फले उनलाई आकर्षित गर्यो । उनले राजनीतिसँगै गल्फलाई पनि महत्वमा राखे । समय दिन थाले । उनी बिहानको फुर्सदिलो समयमा गल्फ कोर्स जान थाले । फर्किएपछि कार्यकर्ता भेट्थे । कहिलेकाहीँ दिउँसो फुर्सद हुँदा पनि उनी गल्फ कोर्स पुगेका छन् । गल्फ खेल्न यही समय हुनुपर्छ भन्ने छैन । ‘घरबाट गल्फ कोर्स जान र आउन आधा घन्टा लाग्छ, करिब डेढ घन्टामा ९ होल खेलेर घर फर्किहाल्छु,’ उनी भन्छन्, ‘अहिले गल्फ जीवनको अभिन्न पाटो बनिसकेको छ ।’ उनी देशमा मात्र होइन, विदेश जाँदा पनि समय मिलाएर गल्फ कोर्स जान्छन् ।

 

देशको ढुकुटी सम्हाल्ने अर्थमन्त्री हुँदा पनि धेरैपटक डा. महत गल्फ खेल्न गएका छन् । सरकारमा रहँदा उनी गल्फलाई कम समय दिन्छन्, सरकारबाहिर रहँदा हप्तामा दुई–तीनपटकसम्म गल्फ खेल्छन् ।

 

गल्फ टुर्नामेन्टमा सहभागी
नेपालमा गल्फका प्रशस्त टुर्नामेन्ट हुन्छन् । उनले २–४ वटा टुर्नामेन्ट पनि खेलिसकेका छन् । राजाले साशनसत्ता हातमा लिएपछि फुर्सदिलो बनेका वेला टुर्नामेन्ट खेलेको उनी सम्झिन्छन् । ‘म गल्फको औसत खेलाडी हुँ, अवार्डचाहिँ जितेको छैन,’ उनी थप्छन् । खेलकुदमा उनको सानैदेखि रुचि थियो । डा. महत भलिबल, टेबलटेनिस र क्यारेमबोर्ड पनि राम्रो खेल्थे । तर, उनलाई सबैभन्दा बढी मन परेको गल्फ नै हो । ‘अरू खेल उमेर ढल्किँदै गएपछि खेल्न सकिँदैन, गल्फ खेल्न उमेरले छेक्दैन,’ उनी भन्छन्, ‘यो गल्फको राम्रो पक्ष हो ।’ उनले गल्फबारे पहिल्यै सुनेका थिए । तर, गल्फ ‘लक्जरी गेम’ लाग्थ्यो । सम्भ्रान्त वर्गले मात्र खेल्ने खेलका रूपमा बुझेका रहेछन्, उनले । अाफैँ खेल्न थालेपछि गल्फको वास्तविकता थाहा भयो । उनी भन्छन्, ‘गल्फ सबैले खेल्न सक्ने रहेछन् । उनी गल्फलाई माथिल्लो दर्जाको खेल भन्ठान्छन् । यो विश्वभरका ‘हाई प्रोफाइल’ जमघट हुने खेल हो ।

मन्त्री हुँदा गल्फ कम
सरकारमा धेरैपटक मन्त्री हुनेमा पर्छन्, डा. महत । कांग्रेस सरकारमा रहँदा प्रायः अर्थमन्त्रीको पद उनकै भागमा परिहाल्थ्यो । मन्त्री हुँदा फुर्सद कम हुने हुँदा उनी गल्फमा समय दिन भ्याउँदैनथे । सन् २००२ मा गल्फ खेल्न सुरु गरेका महत त्यसयता धेरैपटक मन्त्री भइसकेका छन् । ‘सरकारमा हुँदा महिनामा २–४ पटक फुर्सद निकालेर गल्फ खेल्न जान्थेँ,’ उनी भन्छन्, ‘हामी राजनीतिज्ञको निश्चित समय हुँदैन, फुर्सद हुनेबित्तिकै गइहाल्छु ।’

अहिले कांग्रेस सरकारमा छैन । पार्टीका राजनीतिक गतिविधि पनि सुस्ताएका छन् । केही फुर्सदिलो भएपछि उनी हप्तामा एक–दुईपटक गल्फ कोर्स जान्छन् । तर, उनी योजना बनाएर समूहमा गल्फ खेल्न जान भ्याउँदैनन् । धेरैजसो सिनामंगल पुग्छन्, कहिलेकाहीँ साथीहरूले बेलाउँदा गोकर्ण पनि पुगिहाल्छन् । गोकर्ण १८ होलको एक मात्र फुल गल्फ कोर्स हो । महिनामा १–२ पटक गोकर्ण जाने गरेको उनी बताउँछन् ।

विदेश जाँदा पनि गल्फ
उनी विदेश जाँदा फुर्सद मिलेसम्म गल्फ खेल्न रुचाउँछन् । थाइल्यान्ड, अमेरिका, जापानलगायत मुलुकमा पुगेर उनले गल्फ खेलिसकेका छन् । ‘फुर्सदमा गल्फ खेल्न गइहाल्छु,’ उनी भन्छन्, ‘कहिले साथीहरू हुन्छन्, कहिले खोज्नुपर्छ ।’ उनको बुझाइमा विदेशमा एउटा वर्ग गल्फ भनेपछि हुरुक्कै हुन्छ । विदेशी नेतामाझ गल्फ लोकप्रिय छ । ‘विकसित मुलुकमा गल्फ खेल संस्कृतिजस्तै बनेको छ । तर, विकासोन्मुख मुलुकका नेताको गल्फमा त्यति लगाव देखिँदैन,’ उनी भन्छन् । कुनै समय गल्फमा सम्भ्रान्त वर्गको मात्र पहुँच थियो होला । अहिले इच्छा हुने जो–कोहीले गल्फ खेल्न सक्छन् । विकासोन्मुख मुलुकका नेताले गल्फको महत्व नबुझेकै कारण आकर्षण नदेखिएको एकथरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया