विदेशी लगानी प्रतिबद्धता तीन गुणा बढ्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

विदेशी लगानी प्रतिबद्धता तीन गुणा बढ्यो

१० महिनामै ५० अर्ब लगानी प्रतिबद्धता, सबैभन्दा बढी चीनको –

नेपालमा व्यावसायिक वातावरणअनुकूल बन्दै गएपछि विदेशी लगानीकर्ता आकर्षित हुन थालेका छन् । तीनै तहको निर्वाचन सफल भई स्थिर सरकार बनेपछि विदेशी लगानीकर्ताको चासो र उपस्थिति बढ्न थालेको हो ।

उद्योग विभागका अनुसार पछिल्ला १० महिनामा नेपालमा करिब ५० अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । यो अघिल्लो आवभन्दा तीन गुणाले बढी हो ।

अघिल्लो आवमा नेपालमा १५ अर्ब १ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको थियो । खासगरी मुलुकमा लगानीको वातावरण अनुकूल बन्नुका साथै प्रक्रिया पनि सरल बनाइएकाले विदेशी लगानीकर्ता आकर्षित भइरहेको विभागका महादिर्नेशक शंकर अर्यालले बताए ।

२ सय ५५ उद्योगमा आधा खर्ब लगानी
समीक्षा अवधिमा उद्योग विभागमा २ सय ५५ वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । ती उद्योगमा ४९ अर्ब ८७ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो । विभागमा दर्ता भएका उद्योग स्थापना भएपछि ९ हजार ५ सय ७३ जनाले रोजगारी पाउनेछन् । यस अवधिमा सबैभन्दा बढी होटेल तथा रेस्टुराँमा लगानी आएको देखिन्छ । त्यस्तै, सिमेन्ट, जलविद्युत्, स्टिल, जुस, सफ्टवेयरलगायत उद्योगमा पनि विदेशी लगानी आएको विभागको तथ्यांक छ ।

३ वर्षयताकै धेरै लगानी प्रतिबद्धता
समीक्षा अवधिमा आएको विदेशी लगानी प्रतिबद्धता ३ वर्षयताकै सबैभन्दा धेरै हो । आव ०७३/७४ मा नेपालमा १५ अर्ब १ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै, ०७२/७३ मा १५ अर्ब २५ करोड रुपैयाँ लगानी आएको थियो । यसअघि आव ०७१/७२ मा सबैभन्दा धेरै अर्थात् ६७ अर्ब ४५ करोड लगानी प्रतिबद्धता आएको थियो । त्यसअघि भने विदेशी लगानी प्रतिबद्धता २० अर्बभन्दा बढ्न सकेको थिएन ।

सबैभन्दा बढी लगानी चीनको
१० महिनामा आएको विदेशी लगानीको प्रतिबद्धतामा ९० प्रतिशत हिस्सा चीनको छ । विभागमा चिनियाँ लगानीका ९२ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगमा चीनले ४३ अर्ब १० करोड रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता गरेको हो । चीनपछि धेरै लगानी प्रतिबद्धता गर्नेमा भारत छ । यस अवधिमा भारतबाट ४ अर्ब ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उत्साहप्रद लगानी आइरहेको छ

शंकर अर्याल, महानिर्देशक, उद्योग विभाग
पछिल्ला समयमा नेपालमा विदेशी लगानी बढ्दै गएको छ । चालू आवको १० महिनामै ५० अर्ब रुपैयाँको प्रतिबद्धता आएको छ, जुन पछिल्ला ३ वर्षयताकै सबैभन्दा धेरै हो । खासगरी राजनीतिक संक्रमण सकिएर स्थिर सरकार बनेको तथा प्रक्रियालाई पनि सरल बनाइएकाले विदेशी लगानी बढेको हो । हामीले विदेश तथा नेपालमा पनि लगानीका लागि आग्रह गर्दै व्यापक प्रचार–प्रचासर गरिरहेका छौँ । आगामी दिनमा विदेशी लगानी अझ बढ्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया