बार्सिलोनाको पोस्टमा लाभान्टेको ५ गोल - Naya Patrika
eNaya Patrika
  • ePaper

बार्सिलोनाको पोस्टमा लाभान्टेको ५ गोल

सिजनभरि नै अपराजित रहँदै स्पेनिस ला लिगा उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै हुन पुगेको छ । ला लिगाअन्तर्गत आइतबार राति बार्सिलोना १५औँ स्थानमा रहेको लाभान्टेसँग ५–४ ले स्तब्ध भयो । लाभान्टेविरुद्धको हार बार्सिलोनाको सिजनकै पहिलो हो । बार्सिलोना ४५औँ खेलमा पराजित भएको हो । लाभान्टेविरुद्धको प्रतिस्पर्धामा बार्सिलोनाले सहजै जित निकाल्ने अपेक्षा गरिएको थियो । तर, बार्सिलोनाका डिफेन्डरले यस सिजनकै अत्यन्तै कमजोर डिफेन्स देखाउँदै कीर्तिमान रच्नबाट चुके ।

बोएटिङको ह्याट्रिक
सिजनभरि नै कडा प्रतिस्पर्धीलाई सहजै पाखा लगाएको बार्सिलोनाको पोस्टमा लाभान्टेका स्ट्राइकर इमानुएल बोएटिङले ह्याट्रिक लगाए । यति मात्र होइन, इनिस बार्धिचले व्यक्तिगत दुई गोल थप्दा लाभान्टेले खेलको ५६औँ मिनेटमा ५–१ को सानदार अग्रता लिइसकेको थियो । अधिकांश स्पेनिस मिडियाले बार्सिलोनाजस्तो क्लबविरुद्ध अंकतालिकाको १५औँ स्थानमा रहेको क्लबले ५–१ अग्रता लिनु अकल्पनीय रहेको जनाएका छन् । बोएटिङले खेलको ९, ३० तथा ४९औँ मिनेटमा गोल गरेका थिए । बार्धिचले खेलको ४६औँ तथा ५६औँ मिनेटमा गोल गरे ।

काउन्टिन्होद्वारा आशा
स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा बार्सिलोनाले काउन्टिन्हो कोरेसिया तथा लुइस सुआरेजलाई फिनिसिङ जिम्मा दिएको थियो । तर, लाभान्टेको उत्कृष्ट प्रदर्शनसामु बार्सिलोनाका खेलाडी निरीह देखिए । बार्सिलोनालाई कम्तीमा बराबरी नतिजा आत्मसात् गराउन काउन्टिन्होले भरपुर प्रयास गरेका थिए । खेलमा उनले पनि एक ह्याट्रिक लगाए । उनले खेलको ३८, ५९ र ६४औँ मिनेटमा हयाट्रिक गर्दा बार्सिलोनाले ५–३ को गोलअन्तर बनायो । त्यसपछि खेलको ७१औँ मिनेटमा सुआरेजले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई ५–४ को स्थितिमा पु-याए ।

पहिलो हार, पाँच गोल
३६ खेलसम्म अपराजित रहेको बार्सिलोनाको एक हार महँगो साबित भयो । सन् १९३० पछि बार्सिलोना अपराजित रही लिग जित्ने पहिलो क्लब बन्नबाट चुक्यो । त्यसपछि सिजनमै पहिलोपटक पाँच गोलले पराजित भयो । ३६ खेलसम्म बार्सिलोनाको पोस्टमा विपक्षी क्लबले केवल २४ गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया