रहेनन् नेपाली फुटबलका 'म्याराडोना' - Naya Patrika
eNaya Patrika
  • ePaper

रहेनन् नेपाली फुटबलका ‘म्याराडोना’

घरेलु फुटबलमा डिएगो म्याराडोना उपनाम पाएका मणि शाहको उपचारका क्रममा सोमबार नर्भिक अस्पतालमा निधन

नेपाली फुटबलमा म्याराडोना भनी उपनाम पाएका पूर्वराष्ट्रिय टोलीका कप्तान मणिविक्रम शाहको सोमबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । ५१ वर्षीय शाहलाई अकस्मात ज्वरो आएपछि आइतबार राति नै थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । अस्पताल पुग्दा नै शाहको स्वास्थ्य अवस्था गम्भीर भइसकेको जनाउँदै अस्पतालले आइसियूमा राखी उपचार गरेको थियो । शाह लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट ग्रस्त थिए ।

भेन्टिलेटरमा उपचार
शाहको स्वास्थ्यस्थिति नाजुक बनेपछि सोमबार बिहान ५ बजे नै उनलाई भेन्टिलेटरमा राखी उपचार गरियो । साँझ ५ः४२ मा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वकप्तान शाहको उपचारको सम्पूर्ण खर्च बेहोरेको जनाएको छ । एन्फाले मंगलबार बिहान ९–११ बजेसम्म दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि शाहको पार्थिव शरीर राखिने जनाएको छ ।

१७ वर्षमै राष्ट्रिय टोलीमा
सानैमा एथलेटिक्स खेलबाट प्रभावित शाहले १७ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले १९८५ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् । त्यसपछि एक दशक उनी नेपाली टिमका निर्विकल्प खेलाडीका रूपमा रहेका थिए । सन् १९९३ मा ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुदमा नेपालले फुटबलबाट प्राप्त गरेको एक मात्र स्वर्ण जित्दा शाहले निर्णायक भूमिका निर्वाह गरेका थिए । जीवनकै उत्कृष्ट लयमा रहेकै अवस्थामा उनले सन् १९९७ मा औपचारिक रूपमा फुटबलबाट अलग हुने निर्णय लिँदै सन्न्यास लिए ।

क्लबदेखि राष्ट्रिय टोलीसम्म
उनका बुबा लक्ष्मणविक्रम शाह एथलेटिक्स र फुटबलका प्रशिक्षक थिए । बुबाकै कारण शाहलाई खेलकुदमा नजिक हुने अवसर मिल्यो । घरको वातावरण नै खेलकुदमय भएपछि उनलाई खेलकुदमा लाग्न त्यति अप्ठ्यारो भएन । २०३८ सालमा थ्री स्टार र ठमेल ११ बीच ठूलो झडप भएको थियो । त्यस झगडाले ठमेल ११ पुनः फुटबलमा माथि उठ्नै सकेन । लामो समयका लागि ठमेल प्रतिबन्धमा परेपछि ०३८ सालमै मनाङमस्र्याङ्दी देखाप-यो । शाहले मनाङको ए डिभिजन लिग यात्रासम्म प्रमुख खेलाडीका रूपमा भूमिका निर्वाह गरे । ०४० सालमा सी डिभिजन विजेता बनेको मनाङ ०४२ सालमै ए डिभिजन च्याम्पियन बनेको थियो । यसमा शाहले प्रेरणादायी खेल प्रस्तुत गरेका थिए । सन् १९८३ मा नेपालले पहिलोपटक थाइल्यान्डमा हुने यू–१३ प्रिन्सेस कपमा सहभागिता जनाएको थियो । शाहले युवा टोलीमा आफ्नो स्थान बनाउँदै राष्ट्रिय टोलीको बाटो तयार पारे । सन् १९८४ मा शाहको कप्तानीमै नेपालले यू–१३ च्याम्पियनसिप खेलेको थियो । सन् १९८५ मा शाह नेपालको राष्ट्रिय नीलो टोलीमा पहिलोपटक परे । शाह महावीर क्लबका पूर्वअध्यक्ष पनि थिए ।

फुटबललाई ठूलो क्षति
एन्फा महासचिव इन्द्रमान तुलाधरले लामो समयदेखि लिभरको समस्या रहेका शाहलाई एन्फाले उपचारका लागि आवश्यक सबै तयारी गरे पनि बचाउन नसकेको बताए । सिइओ तुलाधरले भने, ‘उहाँलाई लामो समयदेखि लिभरमा समस्या थियो, हामीले उहाँको उपचारका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने निर्णय पनि गरेका थियौँ । तर, अब उहाँ रहनुभएन ।’ गत साता एन्फा चुनाव हुनुअघि केही दिन शाह अस्पताल भर्ना भएका थिए । त्यसपछि उनी घर फर्के । बीचमा उनी नियमित फलोअपमा रहँदै आएका थिए ।

किन भनिन्थ्यो म्याराडोना ?
सन् १९८० देखि ९० सम्म विश्व फुटबलमा अर्जेन्टिनी कप्तान डिएगो म्याराडोनाले राज गरेका थिए । म्याराडोनाको एकल प्रदर्शनमा अर्जेन्टिना सन् १९८६ मा विश्व च्याम्पियन तथा सन् १९९० मा उपविजेता बनेको थियो । नेपालमा त्यही समयमा मिडफिल्डबाट १० नम्बर जर्सी लगाउने शाह प्रख्यात थिए । ठ्याक्कै म्याराडोनाको उचाइसँग मिल्ने शाहले कपाल पनि अर्जेन्टिनी लिजेन्डको जस्तै बनाएका थिए ।

म्याराडोनाले जस्तै विपक्षी खेलाडीलाई उत्कृष्ट ड्रिब्लिङ गरी सहजै गोल गर्न सक्ने क्षमता शाहसँग पनि थियो । यसैकारण तत्काल फुटबलर तथा समर्थकले शाहलाई ‘नेपाली म्याराडोना’ उपनाम दिएका थिए । शाहले राष्ट्रिय टोलीबाट ४८ खेलमा ६ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया