मलेसिया : महाथिर नेतृत्वका चुनौती र अवसर - Naya Patrika
eNaya Patrika
  • ePaper

मलेसिया : महाथिर नेतृत्वका चुनौती र अवसर

हालै सम्पन्न मलेसियाको १४औँ आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री महाथिर मोहमद नेतृत्वको गठबन्धनले अप्रत्यासित जित निकालेसँगै मलेसियाको प्रगतिले सकारात्मक मोड लिने विश्लेषण हुन थालेका छन् ।

विदेशी तथा मलेसियाली विश्लेषकका अनुसार निर्वाचन नतिजाले तत्कालका लागि बजार तथा नीतिगत तहमा अनिश्चितता निम्त्याउने सम्भावना भए पनि कालान्तरमा मलेसियालाई प्रगतिपथमा लैजानेछ । यो निर्वाचन परिणामसँगै मलेसियामा व्याप्त संस्थागत समस्याको हल हुने विश्वास उनीहरूको छ ।

‘मुडेज इन्भेस्टर्स सर्भिस’मा कार्यरत एक वरिष्ठ विश्लेषक अनुष्का साहको शब्दमा विपक्षी दलको जितले मलेसियाको राजनीतिमा उथलपुथल ल्याएको छ । सन् १९५७ देखि यस निर्वाचनसम्म सत्तामा पकड बनाइरहेको बरिसान नासिओनल (बिएन) पार्टीको सत्ता महाथिर मोहमद नेतृत्वको गठबन्धनको हातमा पुग्नु साँच्चै अप्रत्यासित भएको निष्कर्ष साहको छ ।

तत्कालको अवस्था विपक्षीय गठबन्धनले घोषणापत्रमा बाचा गरेका नीतिले मलेसियाली बजारमा नकारात्मक प्रभाव पर्ने तर्क उनको छ । महाथिर नेतृत्वको गठबन्धनले वस्तु तथा सेवा कर (जिएसटी) हटाउने बाचा गरेको छ ।

यसर्थ, यथेस्ट गृहकार्य नगरी यो व्यवस्था हटाइएको खण्डमा पेट्रोलियमजन्य पदार्थको आम्दानीमा देशभर प्रभाव पर्ने अवस्था सिर्जना हुनाले सरकारको आम्दानी खुम्चिने भनाइ साहले गरेकी छिन् । यसैगरी, इन्धन अनुदानलाई पुनः व्यवहारमा ल्याउने उद्घोष पनि विजेता गठबन्धनको छ । यसले गर्दा, बजेट सन्तुलनमा असर पर्ने तर्क उनको छ ।

यसैबीच, नमुरा रिसर्चले पनि लगानीकर्ता र बजारसम्बद्ध केही अनिश्चितता आउन सक्ने आ“कलन गरेको छ । यसका अलावा सत्तापक्षीय पार्टी बरिसान नासिओनलबाट महाथिर मोहमद नेतृत्वको पाकातान हरापन (पिएच) गठबन्धनलाई शक्ति हस्तान्तरण कत्ति सहज हुन्छ भन्ने पक्षले महत्वपूर्ण अर्थ राख्ने विश्लेषण रिसर्चको छ ।

महाथिर नेतृत्वको पिएच गठबन्धन चारवटा पार्टी मिलेर गठन गरिएकाले गठबन्धन सरकारले कस्तो प्रभाव पार्ला भन्ने प्रश्न नमुरा रिसर्चको छ । यसका अलावा आर्थिक परिवर्तन गर्न भनी पार्टीले वाचा गरेका नीतिगत अनिश्चितताले पार्न सक्ने असरलाई पनि हेर्नुपर्ने तर्क रिसर्चको छ । पार्टीका अनिश्चित नीतिले लगानीकर्ताको मन जित्न मुस्किल हुने उसको भनाइ छ ।

 

मलेसियामा विपक्षी गठबन्धनको जितसँगै आर्थिक नीतिमा देखिएको अनिश्चितता नहटाइएको खण्डमा लगानीकर्ताले हात झिक्न सक्ने खतरा छ

 

यसैगरी, आर्थिक नीतिमा देखिएको अनिश्चितता नहटाइएको खण्डमा लगानीकर्ताले हात झिक्न सक्ने खतरा रहेको तर्क आरएचबी रिसर्च इन्टिच्युसनले पनि गरेको छ । यसर्थ निर्वाचित पार्टीले ल्याएको नीतिलाई थप स्पष्टताको खाँचोलाई यस इन्टिच्युटले औँल्याएको छ ।

पिएच गठबन्धन सरकारले आफूले घोषणापत्रमा गरेका प्रतिवद्धता हुबहु व्यवाहरतः उतार्ने हो भने मलेसियाले आर्थिक घाटाको सामना गर्ने अवस्था आउने भनाइ उसको छ । आइएचएस मार्किट एसिया प्यासिफिकले गरेको अनुमानअनुसार यो वर्ष मलेसियाको आर्थिक वृद्धिदर ५.५ हुने अनुमान छ, जब कि गत वर्षको वृद्धिदर ५.९ प्रतिशत थियो ।

यद्यपि, तत्कालीन अवस्थामा पिएच गठबन्धनका नीतिले अनिश्चितता ल्याउने सम्भावना देखिए पनि यस गठबन्धनले कालान्तरमा मलेसियामा सकारात्मक परिणाम ल्याउने विश्लेषण केही विश्लेषकले गरेका छन् । यस्तैमा क्यापिटल इकोनोमिक्सको विश्लेषणअनुसार मलेसियामा संस्थागत समस्या हल गर्न गठबन्धनले महत्वपूर्ण भूमिका खेल्नेछ ।

पिएच गठबन्धनले विजय हासिल गर्नुको प्रमुख कारण ‘वानएमडिबी काण्ड’ पनि हो, जसका कारण अन्तर्राष्ट्रियस्तरमा मलेसियाको बदनामी भएको थियो । मेलसियाका निवर्तमान प्रधानमन्त्री नाजिब तुन रजाकले सरकारी विकास संस्था ‘वान मलेसिया डेभलपमेन्ट बेहार्ड’मा रहेको लगभग ७० करोड अमेरिकी डलर रकम आफ्नो व्यक्तिगत बैंक खातामा सारेको घटना सार्वजनिक भएपछि देशको नै बेइज्जत भएको थियो ।

–सिन्ह्वा समाचार समिति

तपाईको प्रतिक्रिया