पाकिस्तानद्वारा अमेरिकी कूटनीतिज्ञलाई देश छोड्न रोक - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

पाकिस्तानद्वारा अमेरिकी कूटनीतिज्ञलाई देश छोड्न रोक

पाकिस्तानले इस्लामाबादमा रहेका पाकिस्तानी कूटनीतिज्ञलाई देश छोड्न रोक लगाएको छ । एक साताअघि इस्लामाबादमा भएको सडक दुर्घटनाका दोषी अमेरिकी दूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुअल हललाई देश छोड्न रोक लगाएको हो ।

७ अप्रिलमा हलले चलाएको एउटा गाडीले इस्लामाबादमा मोटरसाइकलचालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलचालकको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटनापछि आमपाकिस्तानी अमेरिकाप्रति आक्रोशित बनेका छन् ।

पछिल्लो समयमा अमेरिका र पाकिस्तानबीचको तनाव बढिरहेका वेला कूटनीतिज्ञ संलग्न भएको सवारी दुर्घटनाले दुई देशबीचको दूरी बढेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामाबादले प्रतिबद्धताबमोजिम आतंकवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का गरेको थियो ।

अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आबद्धता रहेका हललाई शनिबार पाकिस्तानको रावलपिन्डीबाट स्वदेश फर्कने क्रममा रोकिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि अमेरिकामा रहेका पाकिस्तानी कूटनीतिज्ञलाई यही ११ मेदेखि लागू हुने गरी यात्रा गर्न वासिङ्टनले प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी निर्णयबमोजिम न्युयोर्क, लस एन्जलस, टेक्सास र सिकागोमा कार्यरत पाकिस्तानी कूटनीतिज्ञहरूलाई अहिले बसिरहेको स्थानबाट ४० किलोमिटर टाढा जान प्रतिबन्ध छ ।

पाकिस्तानले पनि शुक्रबारदेखि नै लागू हुने गरी इस्लामाबादमा रहेका अमेरिकी कूटनीतिज्ञलाई यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया