मोदी भ्रमणको सन्देश - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

मोदी भ्रमणको सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धर्म र राजनीतिमिश्रित राजकीय भ्रमण सकेर दिल्ली फर्केका छन् । उनले तराई, हिमाल र पहाडका सांस्कृतिक प्रतीक क्रमशः जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा पूजापाठ गरे, जनकपुरधाम तथा काठमाडौंमा नागरिक अभिनन्दन ग्रहण गरे, अनि नेपाली समकक्षी केपी शर्मा ओली, राष्ट्रपति, उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेतासँगको वार्तालापपछि भ्रमण ऐतिहासिक रह्यो भन्दै ट्विट गर्नसमेत भ्याए ।

पर्शुराम काफ्ले

मोदीले नेपाल र भारतबीच गहिरो सांस्कृतिक र पारिवारिक सम्बन्धको पृष्ठभूमि केलाएर अखण्ड, सार्वभौम, समृद्ध र सशक्त नेपालका लागि शुभेच्छा र सम्मान प्रकट गरेका छन् ।

जनकपुरलाई १ अर्ब नगद सहयोग र समग्र नेपालको विकासमा सगरमाथा चढ्ने शेर्पाजस्तो सहयोगी भूमिका निर्वाह गर्ने मात्र होइन, मोदीले खुला सिमानाको निरन्तरतासहित सुरक्षा र प्रतिरक्षा चासोसमेत व्यक्त गरे ।

विभिन्न शैली र भावभंगीमा मोदीले परिवर्तित सन्दर्भमा नेपालसँग भारतको चासो, चिन्ता र प्राथमिकता स्पष्ट पारेका छन् । उनले तराई र पहाडको मनोविज्ञानलाई सम्बोधन गरेका छन् ।

मोदीले पटक–पटक निर्वाचनपछिको जनमतलाई सम्मान गर्दै ओली सरकारको विकासे प्राथमिकतामा पूर्ण सहयोग र साथ दिने विगतको वचन यसपटक पनि दोहो¥याए । तीन वर्षअघि नेपालको संविधानलाई लिएर सुरु भएको तिक्तता अब नयाँ जनमतपछि नरहेको सन्देश मोदीले दिल्लीबाट दिँदै आएकोमा उनले जानकी, मुक्तिनाथ र पशुपतिनाथलाई साक्षी राखेर नेपालबाटै यो सन्देश दिएका छन् ।

मोदी भ्रमणको आकस्मिकता
सामान्यता पाँच साताको अन्तरालमा दुई देशका प्रधानमन्त्रीको पारस्परिक भ्रमण गर्न समय र तयारी पर्याप्त हुँदैन । तर, मोदीले ओली भ्रमणको छोटो अन्तरालमा नेपाल भ्रमण गर्नुमा भारतको उच्च चासो र आवश्यकता प्रतिबिम्बित भएको छ ।

नेपालमा स्थानीय, प्रान्तीय र संघीय संसद्को निर्वाचन परिणामलगत्तै सुरु भएको मोदी–ओली टेलिफोन संवादको परिणाम भारतीय विदेशमन्त्री सुष्मा स्वराजको गत माघ १८ र १९ को नेपाल भ्रमण, २३ देखि २५ चैतमा ओलीको दिल्ली भ्रमण हुँदै २८ र २९ वैशाखमा मोदीको नेपाल भ्रमण हुन पुगेको छ । जनस्तरमा आधारित द्विपक्षीय सम्बन्ध सञ्चालनमा दुई देशको नयाँ जनमत निर्णायक हुन्छ भन्ने यथार्थ दुवै देशले बुझेका छन् ।

नेपालमा संविधान जारीपछि नेपालसँग उत्पन्न तिक्तता छँदै थियो, विभिन्न विषयमा चिसिँदै गएको चीनसँगको सम्बन्ध भुटानको डोक्लाम प्रकरणपछि उत्कर्षमा पुगेपछि भारतभित्र मोदीको छिमेकनीतिप्रति आलोचना सुरु भयो ।

भारतीय राष्ट्रिय कांग्रेसले त मोदीको छिमेक प्रथम नीति होइन, छिमेक गुमाउने नीति भन्दै सार्वजनिक रूपमा आलोचना गरिरहँदा महत्वपूर्ण राज्यमा हुन लागेको निर्वाचनमा पनि त्यसको असर पर्ने नै भयो ।

यो आलोकमा मोदीले छिमेकमा सम्बन्ध नवीकरणको प्रयास चीनबाट थालेका छन् । चीनसँगको सम्बन्ध भारतको द्विपक्षीय महत्वको मात्र होइन, छिमेक सम्बन्धमा पनि चीन महत्वपूर्ण हो भन्ने भारतीय नीति–निर्माताको स्वीकारोक्ति छ । मोदीले छिमेकमा सम्बन्ध सञ्चालन प्रभावकारी नहुँदा चीनको प्रभाव ऐतिहासिक रूपमा बढेको आलोचना खेपिरहेका छन् ।

त्यसकारण उनले आसन्न निर्वाचनलाई समेत दृष्टिगत गर्दै छिमेकमा सम्बन्ध व्यवस्थापनको प्रयास चीनबाट थालेका छन् । त्यसकै निरन्तरताका लागि उनी नेपाल आएका हुन् । अब बंगलादेशका प्रधानमन्त्री शेख हसिना भारत जाँदै छिन् भने मोदी आफैँ भुटान जाँदै छन् । पाकिस्तान, मालदिभ्ससँग भारतको सम्बन्ध तिक्ततापूर्ण छ भने श्रीलंकासँग विश्वसनीय सम्बन्ध छैन ।

जानकारहरूका अनुसार मध्यप्रदेश र राजस्थानको निर्वाचनमा नेपालीहरूको प्रभाव निर्णायक हुन्छ । हुन त २०१५ को विहार निर्वाचनमा मधेसी जनमतले फाइदा हुने निक्र्योल भाजपाका महासचिव राममाधवलगायतले निकालेका थिए, तर परिणाम भाजपाका लागि अनुकूल सावित भएन ।

कर्णाटकको निर्वाचन भइसकेको छ भने अब मध्यप्रदेश, राजस्थान, छत्तिसगढको निर्वाचन हुँदै छ । यी निर्वाचनले आगामी वर्ष हुने लोकसभा निर्वाचनमा प्रभाव पार्नेछ । यीमध्ये राजस्थान र मध्यप्रदेशमा उल्लेखनीय नेपालीभाषी जनमत पनि छ, नेपालको उच्च पारिवारिक खान्दानी सम्बन्ध रहेका कारण नेपालको एउटा निर्णायक पारिवारिक मत त्यहाँ प्रभावशाली हुनेछ ।

मोदी छिमेक सम्बन्ध व्यवस्थापन हुँदै गएको सन्देश दिएर नेपाली मनोविज्ञानसँग जोडिएको मत आगामी निर्वाचनमा प्राप्त गर्न चाहन्छन् । यसमा मोदी कति सफल हुन्छन्, समयले देखाउनेछ ।

 

मोदी न मधेसलाई समर्थन गर्न आएका थिए, न त प्रधानमन्त्री ओलीसँग युद्ध लड्न नै । न मोदीले हारेका छन्, न ओलीले जितेका नै । बरु, यसअघि असामान्य भइसकेको सम्बन्धमा रहेका अविश्वास हटेका छन् । तर, हामीले आफूलाई विजेता र अर्कालाई हारेको अर्थमा लिन थाल्यौँ भने अहिले बनेको सकारात्मक माहोलको दिगोपन नरहन पनि सक्छ ।

 

नेपालको अडान र लघुताभास

प्रधानमन्त्री ओलीले २३ देखि २५ चैतमा गरेको भारत भ्रमणमा भारतसँग जोडिएका नेपालका समस्या उजागर गरिसकेका थिए, यसपटक त्यो दोहोरिएको छ । विगतमा बाढी डुबानका बारेमा स्पष्ट नभएका मोदी यसपटक समाधानका लागि तत्पर देखिएका छन् । रेलमार्ग, जलमार्ग र कृषिमा अर्थपूर्ण साझेदारीमा भारत सहमति भएको छ ।

मोदीले नेपालको विकासमा खुलेर सहयोगको वचन सार्वजनिक गरेका छन् । पूर्ववत सम्झौताको समयबद्ध कार्यान्वयनमा यसपटक जोड दिइएको छ, जसको निर्णायक पहलकदमी प्रचण्ड नेतृत्वको सरकारका पालामा भएको थियो ।

तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको पहलकदमीमा संयुक्त अनुगमन संयन्त्र गठन भएर ठूला परियोजनामा नेपाल र भारतका समस्या वा कमजोरी पहिचान हुन सफल भएका छन् । मोदी काठमाडौंबाट ओलीले पठाएको कुर्ता पाइजामा सजिनु, नेपाली भाषामा ट्विट गर्नु, तराईदेखि हिमालसम्म ओलीको सकारात्मक चर्चा उल्लेखनीय थियो । मोदी गएपछि ओलीले गुजराती भाषामा मोदी भ्रमणबारे ट्विट गरेर व्यक्तिगत तहमा सम्बन्ध सुदृढ भएको सन्देश दिएका छन् ।

तर उपेक्षा गर्न नसकिने अर्को पाटो हो, मोदी गएको भोलिपल्ट ओलीले संसद्मा उजागर गरेको लघुताभास । मोदीको भ्रमणलाई आफ्नो कूटनीतिक विजयका रूपमा प्रस्तुत गर्दै ओलीले विजेता शैलीमा राष्ट्रियता बचाउन सफल भएको र अब चाँडै चीन भ्रमण गर्ने उद्घोष गरेका छन् । अब ओलीको प्रतिस्पर्धा सी जिनपिंग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मात्रै बाँकी होला भनेर खिसिटिउरी गर्ने ठाउँ ओलीले बनाइदिएका छन् ।

तर, उनको शब्दचयनलाई कतिपयले कूटनीतिक केटाकेटीपन भन्न थालेका छन् । जसरी फरक सन्दर्भमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीको अगाडि जनकपुरमा नेपाल राज्यलाई आलोचना गरेर जनमत बचाउने कोसिस गरे । यी दुवै अभिव्यक्तिले नेपालको कूटनीतिक केटाकेटीपन स्पष्ट पार्छ ।

मोदी न मधेसलाई समर्थन गर्न आएका थिए, न त प्रधानमन्त्री ओलीसँग युद्ध लड्न नै । न मोदीले हारेका छन्, न ओलीले जितेका नै । बरु, यसअघि असामान्य भइसकेको सम्बन्धमा रहेका अविश्वास हटेका छन् । तर, हामीले आफूलाई विजेता र अर्कालाई हारेको अर्थमा लिन थाल्यौँ भने अहिले बनेको सकारात्मक माहोलको दिगोपन नरहन पनि सक्छ ।

आफू राष्ट्रवादी, अरू लम्पसारवादी ?
०७२ फागुन ८ गते नयाँदिल्लीको हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगै उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए– आजदेखि भारतसँग असमझदारी हटेका छन् ।

ओलीले आइतबार (वैशाख ३०) नेपालको संसद्मा भने– भारतसँग तीन वर्षअघि तिक्ततापूर्ण सम्बन्ध थियो, अब सम्बन्ध समानताको आधारमा नयाँ उचाइतर्फ अघि बढेको छ । अनि यसबीचमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारले केही गरेनन् ? ओलीले ती सरकारले भारतसँग गरेका वार्ता र समझदारीलाई पूरै उपेक्षा गरेर केटाकेटीपन व्यक्त गरे ।

यो ओलीको कूटनीतिक अपरिपक्वता वा मजाक हो । सरकार जोसुकैले चलाओस् कूटनीति निरन्तरतामा त्यो प्राविधिक विषय मात्रै हो । के उनले नेतृत्व गर्दा मात्रै सरकारले राष्ट्रियता जोगाउने हो ? अरू सरकार सबै लम्पसारवादी हुन् ? देशको सार्वभौमसत्ताका पक्षमा ओली बलियो खम्बाका रूपमा उभिएका छन् । तर, यसको अर्थ उनीबाहेकले नेतृत्व गर्ने सरकार राष्ट्रघात गर्नका लागि बनेका हुन् भन्ने उनको सन्देश आपत्तिजनक छ ।

मोदीको राजनीतिक र धार्मिक सन्देश
मोदीले मुक्तिनाथ, पशुपतिनाथ र जनकपुरमा गएर दिएको सन्देश हो– भारतको हिमाल, पहाड र तराई सबैसँग सांस्कृतिक सम्बन्ध छ र एकैसाथ विकसित गर्न चाहन्छ । उनले राष्ट्रिय सभागृहमा पनि यो यथार्थ उजागर गरेका छन् ।

जनकपुरको नागरिक अभिनन्दनमा प्रदेश सरकारले मधेस आन्दोलन जोडेर मोदीलाई विवादित बनाउन खोज्यो । उनी मधेसको विवादित राजनीतिबाट टाढा देखिए । जनकपुरमा उद्घोषक जितेन्द्र सोनलले नेपालको लोकतान्त्रिक आन्दोलनको केन्द्र, संघीयताको केन्द्र भन्दै मधेसलाई चित्रित गरे, मुख्यमन्त्री लालबाबु राउतले केन्द्रबाट हेपिएको, गरिबी केन्द्रले थोपरेको जस्तो चाकरीपूर्ण टिप्पणी गरे ।

तर, मोदी राजनीतिक झमेलामा फसेनन्, उनले मिथिला संस्कृतिको तारिफ गरे, मधेस भन्ने शब्दसमेत उच्चारण गरेनन् । ओलीको चर्चा गर्दा जनकपुरमा ताली बजेन, यो मनोविज्ञानको प्रश्न हो । ओलीले मधेसलाई सम्बोधन गर्नुपर्ने पक्ष यहीँनेर हो ।

मोदीले छिमेकनीतिमा नेपाल पहिलो प्राथमिकतामा रहेको जनकपुरमा बताएका छन् भने काठमाडौं आएर छिमेक प्रथम नीति कूटनीति नभएर जीवनशैली भएको अर्थपूर्ण सन्देश दिएका छन् । मधेससहित सबै तप्कालाई इन्गेज्ड गर्ने तर काठमाडौंसँग डिल गर्ने परिवर्तित भारतीय नीतिको प्रतिबिम्ब यो भ्रमणमा मोदीले छाडेका छन् । यसको निरन्तरता हुन सक्यो भने नेपाल–भारत सम्बन्ध थप सुदृढ हुनेछ ।

तपाईको प्रतिक्रिया