ट्रम्प–किम शिखर वार्ता सिंगापुरमा नै किन ? - Naya Patrika
eNaya Patrika
  • ePaper

ट्रम्प–किम शिखर वार्ता सिंगापुरमा नै किन ?

केही साता लामो अड्कलबाजीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता सिंगापुरमा हुने भएको छ । वार्तास्थल सिंगापुर चयनसँगै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सबैभन्दा निकट र साझेदार राष्ट्र बेइजिङ आवश्यक छैन भन्ने सन्देश दिन खोजेका छन् । यसका बाबजुद विभिन्न प्रश्न तेर्सिएका छन् । सुन्दर बगैँचा र ठूला–ठूला विमानस्थलले भरिपूर्ण सिंगापुर नै वार्तास्थलका लागि किन रोजाइमा प-यो ?

उत्तर कोरियाले सिंगापुरमा सहज अनुभूति गर्छ
उत्तर कोरियासँग व्यापार गर्ने राष्ट्रहरू सीमित छन् । प्योङयाङले व्यापार गर्ने सीमित मुलुकहरूमध्ये सिंगापुर महत्वपूर्ण मुलुक हो । तथापि, सन् २०१६ मा यी दुई मुलुकबीचको व्यापार आदान–प्रदान दर सामान्य थियो । गत वर्षको अन्त्यसम्म सिंगापुरले उत्तर कोरियासँग व्यापार आदान–प्रदान गरेको थियो । दुई देशबीच विनाभिसा पनि यात्रा सम्भव छ । त्यस्तै, उत्तर कोरियाली दूतावास भएका सीमित राष्ट्रहरूमध्ये सिंगापुर पनि महत्वपूर्ण देश हो । र, राष्ट्रसंघको प्रतिबन्धका बाबजुद सिंगापुरका कम्तीमा दुई कम्पनीले उत्तर कोरियासँग व्यापार गरिरहेका छन् ।

कार्गो बोेकेका जहाज विनाकुनै रोकावट प्योङयाङ र सिंगापुरमा आवातजावत गर्छन् । सिंगापुरका अधिकारीहरूको निगरानी नहुँदा दुई देशबीच निर्वाध कार्गो आदान–प्रदान हुने सन् २०१६ मा वासिङ्टन पोस्टको एक रिपोर्टमा उल्लेख छ । दुई देशबीचको घनिष्टता यत्तिकैमा सीमित छैन ।

गुप्तचरी स्रोतका अनुसार किमले सिंगापुरमा निकै सुरक्षित महसुस गर्छन् । कोरियाली नेताले विदेशमा सबैभन्दा सुरक्षित महसुस गर्ने एक मात्र स्थल नै सिंगापुर हो । कोरियाली नेताहरूको सिंगापुरमा बैंक अकाउन्ट छ । उनीहरू बारम्बार स्वास्थ्य परीक्षण गर्ने बहानामा सिंगापुर जान्छन् । ‘उत्तर कोरिया र सिंगापुरबीच आर्थिक र कूटनीतिक सम्बन्ध छ,’ जोन हप्किन्स युनिभर्सिटीका मिसेल म्याडन भन्छन् ।

सिंगापुर तटस्थ भूमि
वार्तास्थलका लागि सिंगापुरलाई किमले स्वीकार गर्नुमा अन्य गैरआर्थिक कारणहरू पनि छन् । दी डिप्लोम्याट्सका अकित पान्डाका अनुसार सिंगापुर तटस्थ मुलुक हो र अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले रोम घोषणापत्रमा उसले हस्ताक्षर गरेको छैन । तसर्थ, सिंगापुरमा रहँदा उत्तर कोरियाली नेतालाई सैद्धान्तिक रूपमा मानवअधिकार दुरुपयोग उल्लंघनका विषयमा तानिने वा पक्राउ पर्ने खतरा छैन । त्यस्तै, सिंगापुरमा किम वा ट्रम्पविरुद्ध प्रदर्शनको दृश्य देखिने सम्भावना पनि छैन । किनकि, एक पार्टी प्रणालीमा सञ्चालित सिंगापुरमा प्रहरी अनुमतिविना सार्वजनिक भेला गर्न प्रतिबन्ध छ । सिंगापुरले सन् २०१५ मा चीन र ताइवानका हाई प्रोफाइल नेताहरूबीचको विवादास्पद बैठक आयोजना गरेको थियो ।

सिंगापुर चीन र अमेरिका दुवैको मित्र
वर्तमान राजनीतिक परिदृश्यमा भूराजनीतिक खेलाडी हुन सजिलो छैन । यसको अर्थ उत्तेजक अमेरिकी नेतासँग कुशलतापूर्व व्यवहार गर्दै चीनको उदयलाई मार्गनिर्देशन गर्नु हो । तर, केही खराब पथका बाबजुद सिंगापुरले अमेरिका र उत्तर कोरिया दुवैका लागि राम्रो काम गरेको छ । ‘ट्रम्पको युगको भूराजनीति उच्च रूपमा जटिल छ,’ स्वतन्त्र सम्पत्ति प्रबन्धक धीरज भारवानी भन्छन्, ‘सिंगापुरले विगतदेखि नै विश्वका प्रमुख खेलाडी राष्ट्रहरू अमेरिका, चीन र उत्तर कोरियाबीच एउटा पुलको काम गर्दै आएको छ । सिंगापुर व्यापार व्यवसाय गर्नेका लागि सुरक्षित क्षेत्र पनि हो । यसअघिका क्लिन्टन र ओबामा प्रशासनले सिंगापुरलाई प्योङयाङसँगको सम्बन्ध रोक्न दबाब दिए पनि अहिले सिंगापुर अमेरिका–उत्तर कोरियाबीचको संवादको पुल बनेको छ ।

सिंगापुर अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण क्षेत्र बनेको छ । तसर्थ, प्योङयाङ र वासिङ्टनबीचको शीर्ष बैठक केवल राजनीतिक भेट मात्र हुनेछैन । सिंगापुरले दुई देशबीच व्यापारका लागि पनि महत्वपूर्ण मध्यस्थता गर्ने निश्चित छ ।

ट्रम्पलाई सिंगापुर भ्रमणको निम्तो
सिंगापुरका प्रधानमन्त्री ली सिन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणका लागि निम्तो दिएका छन् । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैटौँ आसियान–अमेरिका शिखर सम्मेलन र १३औँ पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणको निम्तो दिएका हुन् ।

दुई देशका शीर्ष नेताबीच भएको टेलिफोन वार्तामा लुङले ट्रम्पलाई निम्तो दिएको सिंगापुरको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार प्रधानमन्त्री लीले यही १२ जुनका दिन सिंगापुरमा हुने ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेताको शिखर सम्मेलनका लागि ट्रम्पलाई स्वागत गर्न आतुर रहेको जनाइएको छ ।

लीले दुई नेताको शिखर सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक हुने विश्वाससमेत ट्रम्पसँगको टेलिफोन कुराकानीमा व्यक्त गरेका थिए । सिंगापुरले आफ्नो देशमा आयोजना हुने शिखर सम्मेलनको पर्याप्त व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सिंगापुरमा हुने शिखर सम्मेलन एउटा महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ । ट्रम्पले भने सम्मेलनको आयोजना गर्न लागेकोमा सिंगापुरका प्रधानमन्त्री लीलाई धन्यवाद दिएका छन् ।

उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काउने
उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थल नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनएले जनाएको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले पछिल्लो कदम चालेको हो ।

केसिएनएले उत्तर कोरियाको विदेश मन्त्रालयको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै भनेको छ, ‘यदि मौसम अनुकूल रहेमा हतियार परीक्षणस्थललाई यही मे २३ र २५ गते नष्ट गर्ने कार्यक्रम तय भएको छ ।’

चीन, रसिया, अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने पनि सो समाचार संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया