सातामा करिब २८ प्रतिशत बढ्यो कारोबार रकम - Naya Patrika
eNaya Patrika
  • ePaper

सातामा करिब २८ प्रतिशत बढ्यो कारोबार रकम

गतसाता नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से ओरालो लागे पनि अघिल्लो साताको तुलनामा गतसाता कारोबार रकम करिब २८ प्रतिशत बढेको छ । अघिल्लो साता तीन कारोबार दिनका लागि मात्र बजार खुलेका कारण कारोबार रकममा कमी आएको हो । गतसाता पाँचै कारोबार दिन बजार खुला रहेको थियो । गतसाता लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका थिए ।

बजारले निश्चित दिशा लिन नसकेका कारण लगानीकर्ताले सो रणनीति अपनाएको एक ब्रोकरले बताए । बजार सुस्त गतिमा उतारचढाव भएका कारण लगानीकर्ता अन्योलमा परेका हुन् । सूचीकृत कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

कम्पनीहरूले लगानीकर्ताको अपेक्षाअनुसार नाफा आर्जन गर्न नसकेको वित्तीय विवरणमा देखिएको छ । यसले लगानीकर्ता निराश भएका छन् । त्रैमासिक वित्तीय विवरणलाई लगानीकर्ताले प्राथमिकता दिने गर्छन् । वित्तीय विवरणअनुसार नै लगानीकर्ताहरू कम्पनी छान्ने गर्छन् ।

वाणिज्य बैंकहरूको नाफा सन्तोषजनक रहे पनि अन्य कम्पनीको वित्तीय विवरण नाफामूलक नरहेपछि लगानीकर्ताको मनोबलमा कमी आएको हो । नेप्सेको १४ दिने आरएसआई गतसाताको अन्तिम कारोबार दिन ५२ दशमलव ९२ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

गतसाता १ सय ८१ कम्पनीको २९ हजार ३ सय १९ पटकको कारोबारमा २ अर्ब १९ लाख ९९ हजार रुपैयाँबराबरको ४८ लाख १२ हजार ७ सय ७० कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साताको तुलनामा गतसाताको कारोबार रकम २७ दशमलव ७६ प्रतिशत बढेको छ ।

अघिल्लो साता १ सय ७६ कम्पनीको १८ हजार ४ सय ८३ पटकको कारोबारमा १ अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँबराबरको ३२ लाख ४४ हजार ५ सय कित्ता खरिद–बिक्री भएको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ३ सय ६६ दशमलव १५ बिन्दुमा बन्द भएको बजार गतसाताको बिहीबार १ हजार ३ सय ४८ दशमलव ४५ बिन्दुमा बन्द भएको छ ।

परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव १९ अंक घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव ७९ अंक घटेर २ सय ८४ दशमलव ५९ बिन्दुमा पुगेको छ ।

गतसाता तीन कम्पनीले कुल ३५ लाख ८ हजार १ सय ५ दशमलव ६२ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता कन्काई विकास बैंक लिमिटेडले २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत गरेको छ । काबेली विकास बैंकले ३ लाख ५० हजार ८ सय ८० कित्ता र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले २८ लाख ६७ हजार २ सय २५ दशमलव ६२ कित्ता हकप्रद सेयर सूचीकृत गरेका छन् ।

गतसाता कारोबारमा आएको सबै समूहको परिसूचक घटेको छ । होटेल समूहको परिसूचक गतसाता सर्वाधिक ३९ दशमलव ९१ अंक घटेको छ ।

त्यसैगरी, बिमा समूहको परिसूचक १८ दशमलव ४५ अंक, जलविद्युत् समूहको १७ दशमलव ९ अंक, उत्पादनमूलक समूहको १७ दशमलव ८ अंक, विकास बैंक समूहको १० दशमलव ०३ अंक, वित्त समूहको ९ दशमलव ०८ अंक, लघुवित्त समूहको ७ दशमलव १८ अंक, अन्य समूहको ५ दशमलव ९७ अंक, व्यापार समूहको ५ दशमलव ८३ अंक र वाणिज्य बैंक समूहको १ दशमलव ८ अंक घटेको छ ।

गतसाता कारोबार रकम र कारोबार संख्याका आधारमा बुटवल पावर कम्पनी लिमिटेड अगाडि रहेको छ भने सेयर संख्याका आधारमा सिभिल बैंक लिमिटेड अगाडि रहेको छ । सो साता बुटवल पावरको ३ हजार ९ सय ३५ पटकको कारोबारमा १२ करोड ७३ लाख ४० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सिभिल बैंकको ६ लाख ३८ हजार कित्ता कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया