मैले सम्पादन गरेका राजा वीरेन्द्रका ती भाषण - Naya Patrika
eNaya Patrika
  • ePaper

मैले सम्पादन गरेका राजा वीरेन्द्रका ती भाषण

पूर्वसचिव विहारीकृष्ण श्रेष्ठ तत्कालीन राजा वीरेन्द्रले खुबै रुचाएका प्रशासक हुन् । दरबारको प्रिय भएकै कारण उनको जागिर जोगिएको भन्नेहरू पनि प्रशस्त छन् । ०२० सालमा नासुबाट जागिर सुरु गरेका श्रेष्ठ सचिवसम्म भए । तर, ०४८ सालपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई सचिवबाट हटाए । पञ्चायतका सहयोगी र राजा वीरेन्द्रको विश्वास जितेका प्रशासक भनेर उनको जागिर खोसिएको थियो । हुन पनि श्रेष्ठले राजा वीरेन्द्रका महत्वपूर्ण भाषण सम्पादन गर्ने काम पाएका थिए । उनै श्रेष्ठको स्मरणमा ती भाषण :

मैले सम्पादन गरेको राजा वीरेन्द्रको पहिलो भाषण

०३१ सालको कुरा हो । यो निकै ऐतिहासिक दिन थियो, राजतन्त्रका लागि । जुन दिन राजा वीरेन्द्रको राज्याभिषेक हुँदै थियो । राजा वीरेन्द्रसँगै यो दिन मेरा लागि पनि ऐतिहासिक बन्यो । किनभने मैले सपनामा पनि नसोचेको काम पाएको थिएँ । अर्थात् राजा वीरेन्द्रले राज्याभिषेक ग्रहणपछि वाचन गर्ने वक्तव्य अर्थात् भाषण मैले नै सम्पादन गरेको थिएँ ।

राजा वीरेन्द्रका लागि मैले लेखेको पहिलो भाषण थियो त्यो । मुलुकका नाममा सम्बोधन गर्ने उक्त भाषणको पहिलो मस्यौदा नै मैले बनाएको भने होइन । मस्यौदा मेरो हातमा आइपुगेको हो, सम्पादनका लागि ।

त्यति वेला संसारभरि जुन प्रकारको राजनीतिक प्रवाहले गति लिएको थियो, राजा वीरेन्द्रले आफूअनुुकूलको शासन सञ्चालन गर्ने कुरा निकै महत्वपूर्ण र सोचनीय थियो । त्यसकारणले आमजनताका लागि राजा वीरेन्द्रको शासनले कति फरक पार्छ ? शासन पद्धति कस्तो हुने हो ? भन्ने चासो थियो । तर, त्यो मस्यौदामा यस्तो सन्देश थिएन ।

मस्यौदा पाँच पेजजतिको थियो । सरसर्ती पढेपछि मूल कुरा भाषणमा छैन भन्ने लाग्यो अनि अन्तिमभन्दा अगाडिका लामा–लामा दुईवटा अनुच्छेद हटाइदिएँ । र, एउटा कुरा थपिदिएँ– नेपालको राजगद्दी जनताका निम्ति, नेपाली जनता नेपाली राजगद्दीका लागि ।

यसको अर्थ यी दुवै मिलेर नेपालको विकास गर्ने भन्ने थियो । यो वाक्य वास्तवमा मलाई खुब मन परेको थियो । पछि दरबारले पनि मन परायो । अनि विभिन्न स्थानमा महावाणीका रूपमा प्रयोग पनि गरियो । भाषणमा राम्रो भएर चलेको हो कि दरबारले चल्न दिएको भन्ने यकिन त छैन तर दरबारको इच्छाविना चल्यो भन्ने लाग्दैन ।

केही वर्षपछि इलाम गएको थिएँ, सरकारी काममा । त्यतिवेला इलाम बजारको चोकमा मैँले भाषणमा लेखेको त्यही वाक्यलाई राजा वीरेन्द्रको महावाणी भनेर लेखेको देखेँ । अनि दंग परेँ आफैँप्रति ।

सानातिना भाषण पनि लेख्थेँ । पुस १ गते र विदेश भ्रमणमा जाँदा गरिने सम्बोधन पनि हेरिन्थ्यो । मुलुकको हैसियतअनुसारका सम्बोधनमा उल्लेख गरिने कुरा फरक हुन्थे । म कूटनीतिक सम्बन्धको जानकार मान्छे होइन । त्यति वेलाको सामान्य कर्मचारी न थिएँ ।

तर, अंग्रेजी राम्रो भएकाले कहिलेकाहीँ विदेशमा गरिने सम्बोधनको मस्यौदा पनि आइपुग्थे । मलेसियामा राजा वीरेन्द्रले गरेको सम्बोधनको पुरै अंश मैले तयार पारेको हुँ ।

राजाको भाषणमा व्यक्तिगत स्वार्थ घुसाइन्थ्यो

कहिलेकाहीँ राजाको भाषण लेख्दा आफ्नो कुरा घुसाइन्थ्यो, घुमाउरो पाराले । कहिलेकाहीँ चाहिँ आफैँ दरबार पुगेर राजाका नियमित भाषणमा आफ्ना कुरा घुसाउन लगाइन्थ्यो, विभिन्न तरिकाले । यस्तै एउटा सन्दर्भ छ, आफ्नो कुरा राजाको भाषणमा छिराउन म राजाको ढोका ढकढक्याउन पुगेको छु । जनमतसंग्रह सम्पन्न भएलगत्तैको पुस १ गतेको सम्बोधनको सन्दर्भ हो ।

पञ्चायत जाँचबुझ समिति बनाएका थिए राजाले त्यति वेला । अनि पुस १ गते एउटा सम्बोधन आयो । छोटो भाषणका लागि मलाई बोलाउने थिएनन् । तर, त्यो दिनको भाषणमा एउटा कुरा थियो– जबसम्म अधिकार प्रत्येक पञ्चायतको, प्रत्येक वडाको, प्रत्येक घरधुरीसम्म पुग्दैन, तबसम्म मुलुकको विकास हुँदैन । मलाई त्यहीँनेर राजाले मेरो सोच लागू गर्ने कुरा बोलेका छन् भन्ने लाग्यो ।

पुस १ गते बिदा । त्यो दिन कहिले बित्ला भन्ने लाग्यो । अर्को दिन कार्यालय पुग्नेबित्तिकै पञ्चायत जाँचबुझ समितिमा मेरा साथी नुतनदेव खनाल सदस्यसचिव भएर गएका थिए । उनैलाई फोन गरेँ, ‘ए नुतनजी, हिजो तपार्इंले राजाको भाषण सुन्नुभएको हो ?’

‘सुनेको, खास त्यस्तो के थियो र ?’ नुतनले जवाफ दिए । ‘मलाई पनि त्यस्तो भन्न मिल्छ, राजाबाट यस्तो कुरा हुकुम भएको छ, तपाईंहरूको समिति पञ्चायत प्रवद्र्धन गर्न जन्मेका हो अनि राजाले यस्तो हुकुम भएपछि तपाईंले त्यो क्षेत्रमा काम गर्नुपर्दैन ?’ भनेर नुतनलाई भनेँ ।

‘राजाले विकेन्द्रीकरणको कुरा गरिबक्सेको छ, प्रत्येक वडाका प्रत्येक घरधुरीमा अधिकार पुग्ने भनेको त्यही होइन, अनि यो काम गर्ने अधिकार तपाईंको होइन ?’ उनलाई सम्झाउँदै गएँ । किनभने विकेन्द्रीकरण मेरो सोच थियो र त्यो सोच कार्यान्वयन गर्ने खालको कुरा राजाको सम्बोधनमा आएको थियो । त्यसको एक घन्टाजतिमा मलाई फोन आयो ।

मेरो कुरा त्यहाँ छलफल भएछ । लगत्तै रणध्वज सुब्बाको नेतृत्वमा विकेन्द्रीकरण उपसमिति गठन गरेछन् । त्यसको सदस्यसचिव मलाई राखेछन् । चिठी हातमा पर्नासाथ मैले आफ्नै गाडीमा राखेर पाँचजनालाई सिंहदरबारको मेरो कार्यालयको कोठामा ल्याएँ । अनि त्यही कोठा उपसमितिको कार्यालय र मेरो कुर्सी संयोजक हो भनिदिएँ । मेरो गाडी पनि उपसमितिलाई दिएँ । अनि पहिलो बैठक त्यहीँ राखेँ ।

सूर्यबहादुर थापालाई तनावमा पार्ने त्यो भाषण

प्रतिवेदनमा के लेख्ने भन्ने पहिल्यै सोचिसकेको थिएँ । तर, समितिमा अन्य पाँचजना पनि थिए । उनीहरूलाई मेरो विचारमा कसरी कन्भिन्स गराउने भन्ने सोच्न थालेँ । त्यसैअनुसार प्रश्नावली तयार गरेँ । प्रश्नावली लिएर सदस्यहरूलाई स्थलगत अध्ययनमा जाने व्यवस्था मिलाएँ ।

कुन स्थानको कस्तो परियोजना छ र उनीहरूलाई कहाँ पठाउँदा कस्तो कुरा आउँछ भन्ने थाहा भएको हुनाले आफूले सोचेजस्तो जवाफ आओस् भनेर स्थान पनि त्यसरी नै छनोट गरँ । खासमा मैले जुन परियोजना गर्न भनेको थिएँ र जस्तो प्रश्नावली दिएको थिएँ, यी दुई कामले मेरो निष्कर्षमा उनीहरू पनि नपुगी सुखै थिएन । उनीहरू १ महिनाजति घुमेर मैले सोचेकै निष्कर्ष लिएर आए । त्यही आधारमा मैले प्रतिवेदन तयार गर्न थालेँ । प्रतिवेदन लेखेर हामीले जाँचबुझ समितिलाई बुझायौँ ।

प्रतिवेदन बुझाएपछि समितिमा बस्नेलाई अलि–अलि भत्ता आउँथ्यो । त्यो भत्ता लिन जाँचबुझ समितिमा गएँ, प्रतिवेदन बुझाएको ४–५ दिनपछि । त्यहाँ पुग्दा नुतनदेव आफ्नो कोठामा आधा ढोका खोलेर एउटा कागज पढिरहेका थिए । म गएपछि पूरा ढोका थुनेर कागज देखाए ।

त्यो त राष्ट्रिय पञ्चायतको पहिलो अधिवेशनलाई सम्बोधन गर्ने भाषण रहेछ । हामीले बुझाएको प्रतिवेदनबारे त्यहाँ कुनै कुरा उल्लेख थिएन । अनि मैले भनेँ, ‘यतिले पुग्दैन, भर्खर तपाईंले यत्रो काम सक्नुभएको छ, खै त्यो कुरा ?’ अनि भाषणमा थपिदिएँ– ‘मेरो सरकारले विकेन्द्रीकरणसम्बन्धी एउटा विधेयक राष्ट्रिय पञ्चायतको यही सदनमा प्रस्तुत गर्नेछ ।’ वास्तवमा यो ठूलो इन्टरभेन्सन थियो मेरो ।

असार ७ गते राजाको सम्बोधन हँुदै थियो, राष्ट्रिय पञ्चायतमा । म पनि त्यहाँ गएँ । भाषणमा मैले लेखेको कुरा जस्ताको तस्तै आयो । त्यति वेला सुर्यबहादुर थापा प्रधानमन्त्री थिए । यही सदनमा विधेयक ल्याउने भनेपछि प्रधानमन्त्री थापा तनावमा परे । भोलिपल्ट नै उनले बैठक बोलाए । बैठकमा मलाई पनि बोलाइयो । राष्ट्रिय पञ्चायतको अध्यक्ष मरिचमान सिंह थिए ।

उनलाई पनि बोलाएका थिए । वास्तवमा त्यति वेला प्रधानमन्त्रीको सौता भनेको राष्ट्रिय पञ्चायतको अध्यक्ष हुन्थ्यो । किनभने अध्यक्ष भनेको प्रधानमन्त्रीको दाबेदार हो । त्यसैले यी दुईको कुरा मिलिरहेको थिएन । सिंहलाई रोक्न सूर्यबहादुर थापाले विकेन्द्रीकरणको केही काम गरिरहेका थिए । बैठकमा निकै छलफल भयो । मैले नै तीनपटकसम्म प्रधानमन्त्रीको कुरा काटेँ चित्त नबुझेर ।

‘आफैँ बढ्ता बोल्ने । विकेन्द्रीकरणका नाममा वाहियात काम गर्न खोज्ने ? हामीले विकेन्द्रीकरणका लागि कति काम गरेका छाँै, सुन्दै नसुन्ने’ भनेर मरिचान सिंह रिसाएपछि सूर्यबहादुर थापा केही बोलेनन् । अनि उनले ‘ल ल के गर्नुपर्छ गर्नुहोस्’ भने । तत्कालै संयुक्त समिति बन्यो ।

त्यसमा म पनि थिएँ । हामीले विकेन्द्रीकरणसम्बन्धी विधेयक तयार ग-यौँ । जुन ९५ प्रतिशत मैले लेखेँ । कानुनी भाषा मिलाउन कानुन सचिवलाई बोलाएका थियौँ । त्यो लगत्तै प्रधानमन्त्रीलाई बुझायौँ । प्रधानमन्त्रीले भोलिपल्ट नै स्वीकृत गरेर राष्ट्रिय पञ्चायतमा पठाए । पञ्चायतले पनि पारित ग¥यो । यो ऐनको विशेषता भनेको उपभोक्ता समूह बनाउने भन्ने हो । जुन सोच मेरै थियो ।

रजतजयन्तीको चलाखीपूर्ण भाषण

पञ्चायतको २५औँ वार्षिकोत्सवमा राजाको भाषण सम्पादन गर्ने जिम्मा आयो । म दरबार पुगेँ । भाषण सम्पादन गर्न मस्यौदा देखाइयो । त्यहाँ राजाको निजी सचिव नारायणप्रसाद श्रेष्ठ र गीतकार कालिप्रसाद रिजाल पनि थिए । मैले सरसर्ती मस्यौदा पढेँ । मस्यौदामा मुलुकको प्राकृतिक वर्णन मात्रै थियो । म चुपाचाप बसेँ ।

नारायणप्रसाद श्रेष्ठले मलाई भाषण चित्त नबुझेको संकेत पाएछन् । कालीप्रसादलाई एउटा काम दिएर बाहिर पठाए । अनि मैले भनेँ, ‘सचिवज्यू, जुन व्यवस्थाको २५औँ वर्षगाँठ मनाउँदै हुनुहुन्छ, ‘द्याट सिस्टम ह्याज बिन ननपर्फमेन्स’ । अहिले जनताको अवस्था खराब छ । शासन गर्दा शासकसँग वास्तविकता र शासितसित अन्धविश्वास हुनुपर्छ ।’ श्रेष्ठ बोलेनन् ।

त्यति वेला भारु र नेपाली रुपैयाँको अवमूल्यन भइरहेको थियो । एक सय रुपैयाँ भारुको १३५ बाट बढेर १६० पुगेको थियो । ‘बजार महँगो छ । जनताको जीवन गाह्रो भइरहेको छ । त्यस्तो अवस्थामा राजाले केही बोल्नु पर्दैन ?

अनि, कुनै संस्था वा व्यवस्थाको २५औँ वर्षगाँठ भनेको ‘ऐतिहासिक वाटरसेट’ हो, यस्तो अवस्थामा नेतृत्वले अहिलेसम्मको यात्रा कठिन भए पनि अगाडिको यात्रा राम्रो छ हतास हुनुपर्नेछैन भन्नुपर्छ । खै त्यो कुरा ?’

भाषण लेख्नु थियो, मस्यौदा बोकेर घरमा आए । मस्यौदा पूरा गरेर ११ बजे पु¥याइदिए । पुस १ गते शाही सैनिक मञ्चमा उर्दी थियो । त्यहाँ गइयो । त्यो सम्बोधनमा मैले नारायणजीलाई पनि नभनी एउटा कुरा राखेको थिएँ, ‘आधारभूत आवश्यकतासम्बन्धी कार्यक्रम मेरो राष्ट्रिय योजना आयोगले बनाएर कार्यान्वयन गर्नेछ ।’ किनभने म त्यति वेला योजना आयोगमा थिएँ ।

योजना आयोगमा आयो भने त मैले गर्न पाउँछु भन्ने लागेको थियो । राजाको सम्बोधन सुरु भयो, त्यो कुरा एक शब्द तलमाथि नभई आयो । भोलिपल्ट कार्यालय गएँ । त्यति वेला मोहनमान सैंजु उपाध्यक्ष थिए । केही वर्षपछि त्यो काम गर्ने जिम्मा मीना आचार्य, म र ठाकुरनाथ पन्तलाई प्रधानमन्त्री मरिचमान सिंहले जिम्मा दिनुभएको थियो ।

‘यो आधारभूत आवश्यकताले टाउको खायो, जे गर्नुपर्छ गर्नुस्’ भनेर प्रधानमन्त्रीले भन्नुभयो । वास्तवमा हाम्रो कार्यादेश त्यति नै थियो । तर, त्यो काम गर्ने तयारी गर्दागर्दै ३–४ वर्ष बित्यो । त्यसपछि त पञ्चायत पनि ढल्यो, काम नै सुरु हुन पाएन ।

मेरो अवधारणा विश्वव्यापी बन्यो

म सहसचिव हुँदाको एउटा सन्दर्भ छ । त्यति वेला दातृ निकायले नेपालको विकासका लागि अर्बौँ रुपैयाँ ग्रामीण विकासमा खर्च गरिरहेका थिए । त्यो पैसा परिचालन गर्ने केन्द्रमा मै थिएँ । देशैभरिका ती परियोजनामा भइरहेको कामको अवलोकन र अध्ययनमा त्यतिवेला मैले एउटा साझा चुनौती देखेँ ।

आआफ्ना नीतिअनुसार काम गरिरहेका थिए, ती परियोजनाले । त्यसपछि मलाई लाग्यो दातृनिकाय, कर्मचारी र पैसाको भरले मात्रै विकास हुँदैन । त्यसमा जनता जोडिन आवश्यक छ । त्यो कसरी गर्ने भन्ने प्रश्न उठिरहेको थियो । सन् १९७५ मा कृषि विकास बैंकले नुवाकोटको तुप्चे गाउँमा साना किसान विकास कार्यक्रमको परीक्षण ग¥यो ।

त्यति वेला हरेक तीन महिनामा तुप्चे गाउँ पुग्ने गर्थे । हरेकपटक केही न केही फरक पाउँथेँ । विश्व बैंकले रसुवा, नुवाकोटमा सञ्चालन गरेको परियोजना पनि अवलोकन गरिरहेका हुन्थे । यी दुईको तुलना गर्थेँ । राम्रो लाग्थ्यो ।

जुम्ला अध्ययनमा गएका वेला एउटा कुलो भेटेँ । जसको सयौँ वर्षदेखि स्थानीयले समूह बनाएर संरक्षण र परिचालन गरेका थिए । न सरकारी पैसा, न इन्जिनियर । तर पनि त्यो कुलोका उपभोक्ताले जोखेर एकएक थोपा पानी प्रयोग गर्थे, आपसी समझदारीमा । समुदायले यति राम्रोसँग व्यवस्थापन गरेको मैले कहिल्यै देखेको थिइनँ ।

यी सबै कुराले मलाई अधिकार जनताको हातमा लैजानुपर्छ भन्ने भान गरायो । राजाको भाषण लेख्दा यो कुरा कसरी छिराउँछु भन्ने सोचेँ । त्यही कुराले जन्माएको हो, उपभोक्ता समूहको अवधारणा । र, मैले नै सुरु गरेको अवधारणा अहिले विश्वव्यापी भएको छ ।

तपाईको प्रतिक्रिया