नेप्से करिब ८ अंक घट्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

नेप्से करिब ८ अंक घट्यो

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब ८ अंक ओरालो लागेको छ । बजार खुलेसँगै तीव्र गतिमा ओरालो लागेको नेप्से, कारोबारको एक घन्टा अवधिपछि सामान्य उतार–चढावमा रहेको थियो । कारोबारको अन्तिम एक घन्टा बाँकी हुँदा केही बढ्न थाले पनि सोही गतिलाई निरन्तरता भने दिन सकेन र पुनः ओरालो लागेर बन्द भयो ।

अधिकांश सूचीकृत कम्पनीहरूले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सूचीकृत वाणिज्य बैंकहरूले चैत मसान्तसम्ममा सन्तोषजनक नाफा आर्जन गरे पनि अन्य कम्पनीहरूको नाफा घटेपछि लगानीकर्ताको मनोबलमा कमी आएको छ ।

यद्यपि, यस दिन बजार ओरालो लाग्नुलाई सामान्य रूपमा विश्लेषण गरिएको छ । बजार सुस्त गतिमा तलमाथि भइरहेका कारण लगानीकर्ताहरू अन्योलमा परेका छन् । बजारले आगामी दिनमा कुन दिशा लिन्छ भन्ने निश्चित नभएका कारण केही लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीति अपनाएका छन् ।

यस दिन नेप्से ७ दशमलव ७० अंक घटेर १ हजार ३ सय ४८ दशमलव ४५ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ४८ अंक घटेर २ सय ८४ दशमलव ५९ बिन्दुमा पुगेको छ ।

यस दिन १ सय ६१ कम्पनीको ५ हजार ५ सय ८८ पटकको कारोबारमा ३५ करोड ८८ लाख ४४ हजार २ सय ६० रुपैयाँबराबरको ७ लाख ७३ हजार २ सय १० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ५२ दशमलव ९२ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । कुल बजार पुँजीकरण यस दिन घटेर १५ खर्ब ८२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । यस दिन सो कम्पनीको २ करोड २२ लाखभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन ग्लोबल आइएमई बैंकको संस्थापक सेयर अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा बुटवल पावर कम्पनी अगाडि रहेको छ ।

ग्लोबल आइएमईको यस दिन ५३ हजार ७ सय कित्ता संस्थापक सेयर र बुटवल पावरको ३ सय ४५ पटक सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १ सय ६१ कम्पनीमध्ये यस दिन ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ । यस दिन व्यापार समूहको परिसूचक २ दशलमव ८७ प्रतिशत घटेको छ । त्यसैगरी, होटेल समूहको १ दशमलव ६ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ५१ प्रतिशत, बिमा समूहको शून्य दशमलव ९८ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८६ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८६ प्रतिशत, माइक्रो फाइनान्स समूहको शून्य दशमलव ८२ प्रतिशत, वित्त र विकास बैंक समूहको शून्य दशमलव ३६ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव २९ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया