करिब ५३ प्रतिशत घट्यो कारोबार रकम - Naya Patrika
eNaya Patrika
  • ePaper

करिब ५३ प्रतिशत घट्यो कारोबार रकम

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२ दशमलव ५१ अंक ओरालो लागेको छ । नेप्से ओरालो लागेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम ५२ दशलमव ९३ प्रतिशत घटेको छ ।

बजार खुलेदेखि सुस्त गतिमा ओरालो लागेको नेप्से, कारोबार अवधिभर शून्य दशमलव ९२ प्रतिशत घटेर १ हजार ३ सय ५३ दशमलव ६४ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन बजारमा खरिदकर्ताहरूको चाप रहेको एक ब्रोकरले बताए ।

खरिदकर्ताहरूले सस्तो मूल्यमा सेयर खरिद गर्ने आदेश दिएका थिए । तर, बिक्रीकर्ताहरूले सो मूल्यमा सेयर बेच्न नचाहेका कारण बजार सुस्ताएको उनको भनाइ छ । केही लगानीकर्ताहरूले भने अहिले ‘पर्ख र हेर’को रणनीति अपनाएका छन् ।

सोही कारण पनि बजारमा सुस्तता आएको हो । तेस्रो त्रैमासको वित्तीय विवरण आउने क्रम जारी नै छ । यसले बजारमा गत साता सकारात्मक प्रभाव पारेको थियो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ९१ अंक घटेर २ सय ८५ दशमलव ३८ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६० कम्पनीको ६ हजार ६ सय ८२ पटकको कारोबारमा ३६ करोड १६ लाख ९६ हजार ७ सय ६३ रुपैयाँबराबरको ८ लाख ४३ हजार ४ सय १० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ५४ दशमलव ९१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा ६ अर्ब ७६ करोड घटेर १५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । तेस्रो त्रैमासमा उल्लेख्य नाफा आर्जन गर्न सफल भएका कारण लगानीकर्ता यस बैंकतर्फ आकर्षित भएका हुन् । यस दिन सो वाणिज्य बैंकको २ करोड ३ लाख ६४ हजार रुपैयाँबराबरको ५६ हजार ९ सय ३० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

कारोबार संख्याका आधारमा भने यस दिन बुटवल पावर कम्पनी अगाडि रहेको छ । सो कम्पनीको यस दिन ९ सय २९ पटक सेयर खरिद–बिक्री भएको छ । एभरेष्ट बैंकको कन्भर्टिबल प्रिफरेन्स सेयरको मूल्य यस दिन ७ दशलमव ७६ प्रतिशत बढेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन ६ दशलमव २५ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६० कम्पनीमध्ये यस दिन ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १३ कम्पनीको सेयर मूल्य भने यस दिन स्थिर रहेको छ ।

आइतबार वित्त समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक ओरालो लागेको छ । यस दिन होटेल समूहको परिसूचक १ दशमलव ५३ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव १६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ९९ प्रतिशत, बिमा समूहको शून्य दशमलव ९६ प्रतिशत, अन्य समूहको शून्य दशलमव ८७ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ८४ प्रतिशत, माइक्रो फाइनान्स समूहको शून्य दशलमव ४३ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ३७ प्रतिशत घटेको छ । वित्त समूहको परिसूचक भने यस दिन शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ ।

तपाईको प्रतिक्रिया