‘नेपाली साहित्य विश्व साहित्यभन्दा अगाडि’ - Naya Patrika
eNaya Patrika
  • ePaper

‘नेपाली साहित्य विश्व साहित्यभन्दा अगाडि’

काठमाडौं÷ प्र्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य विश्व साहित्यभन्दा निकै अगाडि भएको बताए । महाभारत र गीताको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ५ हजार वर्षअगाडि यो साहित्य लेखिँदा विश्व साहित्य कहाँ थियो भन्ने प्रश्न गरे ।

ओलीले एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तक ‘संसद्देखि संविधानसभासम्म’ विमोचन कार्यक्रममा उक्त धारणा राखेका हुन् । अधिकारीको ८२औँ जन्म दिनको अवसरमा शनिबार पुस्तक विमोचन गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यस्त समयका बाबजुद नेता अधिकारीले पुस्तक लेख्नु महत्वपूर्ण भएको बताए । ‘आफ्नो जीवन भोगाइका विभिन्न घटनालाई सिलसिलेवार ढंगले प्रस्तुत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई त्यसवेलाको राजनीतिका बारेमा जानकारी दिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

पुस्तकका लेखक एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री अधिकारीले आफ्नो पुस्तकले इतिहासको एक कालखण्डको प्रत्यक्ष उजागार गरेको बताए । संसद्मा के हुन्छ ? संविधानसभा बन्दादेखि संविधान बन्दासम्मको अवस्था के थियो आफूले जानेको, देखेको र भोगेको कुरा इमान्दार भएर लेखेको अधिकारीले बताए ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भरतमोहन अधिकारीको पुस्तकले नेपाली साहित्य मात्र नभई नेपाली राजनीति पनि धनी भएको बताए । अर्का अतिथि पूर्वप्रधानमन्त्री माधव नेपालले भरतमोहनले लेखेको पुस्तक नेपाली राजनीतिक इतिहासका लागि कोशेढुंगा हुने दाबी गरे ।

पुस्तकका प्रकाशक एवं घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले आफूले हरेक व्यक्तिलाई पुस्तक देख्ने गरेको बताए । उनले महत्वपूर्ण व्यक्तिका कृति लेखनमा सहयोग पु-याइरहेको बताए ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लेखक र प्रकाशकलाई बधाई दिए । कार्यक्रममा सहभागी सबैले अधिकारीको सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरे ।

तपाईको प्रतिक्रिया