पुल नबन्दा स्थानीयलाई सास्ती - Naya Patrika
eNaya Patrika
  • ePaper

पुल नबन्दा स्थानीयलाई सास्ती

सर्लाही-रौताहटको सीमामा पर्ने वडहर्वामा शिलन्यास भएको लामो समयसम्म पनि पुल नबन्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।

हुलाकी राजमार्ग अन्र्तगतको सर्लाही रौतटहको सीमामा पर्ने बडहर्वामा तीन वर्षचित्र निर्माण पुरा गरिसक्ने गरी २०६७, ३१ जेष्ठमा शिलन्यास भएको पुल हाल सम्म पनि निर्माण हुन सकेका छैन ।
बडहर्वास्थित बागमती नदीमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको पुलको पिलरहरु तयार भएको पाँच बर्ष वितिसक्दा पनि माथिको भागको काम हुन सकेको छैन । डिजाइननै खराब भएको सो पुलको काम अगाडी बढ्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको हो ।

स्थानीय राजनैतिक दलका नेताका कारण सो पुल बन्न नसकेको स्थानीय सिताराम उपाध्यायले बताए । लुम्बिनी विल्डर्स प्रालीले ३५ करोड ८९ लाख ९ हजार चार सय ७३ मा ठेक्का सम्झौता गरेको भएपनि काम बिचैमा छाडेर ठेकेदार फरार भएको स्थानीयले बताए ।

बकैया खोलाकोपुल पनि दयनीय
यता तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले शिलान्यास गरेको गौर नगरपालिका नजिक रहेको बकैया खोलाको पुलको अवस्था झन् दयनीय रहेको छ । सो पुल नबन्दा खोला पारीका बासिन्दाहरुललाई सदरमुकाम आउन समस्या हुने गरेको छ । सो क्षेत्रका बासिन्दालाई सदरमुकाम गौर आवत जावतका लागि हिँउदमा बाँसको पुलनै एक मात्र माध्यम हो । बर्षाको समयमा सिमापारी भारतीय क्षेत्र भएर गौर आवत जावत गर्नु पर्ने बाध्यता रहेको छ ।

राज्यको नियमनकारी निकायनै मौन बसेका कारण रौतहट मात्र नभई तराई मधेसका बासिन्दाले सधै समस्या झेल्दै आएका छन् । सरकारी कर्मचारीको ढिलासुस्ती र राजनैतिक दलका स्थानीय नेताको समेत लाचारीपनका कारण ज्यान नै हत्केलामा राखेर हिँडनु पर्ने अवस्था छ । टिकुलीयामा बन्दै गरेको पुलको काम ठेकेदारले ढिलै थालेको भएपनि बडहर्वाको पुले बन्ने छाँटकाँट नरहेको स्थानीयहरु बताउँछन् ।

बाँसको पुलको भर
रौतहट लगायत तराई मधेशका नदी किनारका मानिसहरुका बिषयमा राज्यले चासो नदिदा उनीहरुले खोला तरेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ । रौतहटको बागमती र लालबकैया नदी किनाराका बासिन्दाले बर्षायाम र हिँउद याममा समस्या झेल्दै आएका छन् । बर्षातको समयमा जोखिम मोलेर डुंगा चढ्दा समेत पैसा तिर्नु पर्ने र हिँउदमा त्यही खोलामा हालिएको बासको पुल तर्दा समेत पैसा तिर्नु पर्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका छन् ।

बिभिन्न स्थानमा सरकारले बनाउन लागेका पुल समयमा बन्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नु परेको हो । यस्तो बिषयमा राज्य गम्भिर नहँुदा कयौले बागमती र लालबकैया खोलामा भएका डुंगा दुर्घटनामा ज्यान गुमाउनु परेको छ ।
बाँसको समेत स्थानीय तहले ठेक्का लगाउने गरेका कारण सम्बन्धीत ठेकेदारले बासको पुल भएर आवत जावत गर्नेसंग पैसा लिने गरेको गौरका रमेश सिंहले बताए ।

तपाईको प्रतिक्रिया