अभिनयबाहेक केही छैन : स्वस्तिमा खड्का, अभिनेत्री - Naya Patrika
eNaya Patrika
  • ePaper

अभिनयबाहेक केही छैन : स्वस्तिमा खड्का, अभिनेत्री

आर्टिटेक्चर इन्जिनियरिङ पढ्दै गर्दा फिल्म क्षेत्रमा प्रवेश भयो । मलाई त्यतिवेला आर्टिटेक्चर नै बन्छु भन्ने लागेको थियो । तर, जब अभिनय सुरु गरेँ, त्यसपछि यही क्षेत्रमै फोकस्ड छु । ठोस योजना बनाएर पनि अघि बढेको होइन । तर, अहिले मेरो दिमागमा अभिनयबाहेक अरू केही छैन ।

यस क्षेत्रमा लागेको ३ वर्षजति भयो । छोटो समयमा जे– जति उपलब्धि हात पारेको छु । त्यसबाट सन्तुष्ट छु । तर, त्यसो भन्दैमा मिहिनेत नगर्ने भन्ने होइन । यस क्षेत्रमा मिहिनेत धेरै गर्नुपर्ने हुन्छ । सुटिङको समयमा घर–परिवार छाडेर भ्यालीबाहिर गएर एक–डेढ महिना पनि बस्नुपर्ने हुन्छ । त्यस्तो वेलामा काममै ध्यान केन्द्रित हुन्छ ।

भर्खरै ‘नाइँ नभन्नु ल ५’ को सुटिङ सकिएको छ । यो फिल्म आगामी भदौमा रिलिज हुँदै छ । त्यसपछि ‘जय भोले’ आगामी असोजमा रिलिज हुँदै छ । पोखरामा भर्खरै सुटिङ सकेर फर्किएको छु । दर्शकले जय भोले फिल्ममा मलाई अलि फरक भूमिकामा देख्न पाउनुहुनेछ ।

यसअघिका फिल्ममा मैले सहरिया युवतीको भूमिका निर्वाह गरेको थिएँ भने यसमा तराईकी एक युवतीको भूमिकामा छु । यसपछि नयाँ फिल्मको सुटिङ हुँदै छ । उक्त फिल्ममा मैले बिलकुल फरक पात्रको भूमिका गर्दै छु ।

कुनै पनि कलाकारले त्यस्तो भूमिका गर्ने अवसर दुर्लभै मात्र पाउँछन् जस्तो लाग्छ । त्यसैले उत्साही छु । फिल्म आफ्नो पात्रलाई कसरी न्याय गर्न सकिन्छ भनेर विशेष ध्यान दिन्छु । वर्कसप भएका वेला अन्य कलाकारहरूसँग अनुभव पनि सेयर हुन्छ ।

अन्य समयमा स्क्रिप्ट पढ्छु र फिल्मको दृश्य हेरेर कुन शैलीमा बोल्दा राम्रो हुन्छ भने तयारी गर्छु । आफ्नो सहजताअनुसार स्क्रिप्टमै बाँधिएर त्यसलाई पुनर्लेखन गर्ने पनि गर्छु । अभिनय र सञ्चारकर्म नै मेरो रोजाइको विषय हो ।

यही क्षेत्रमा काम गर्ने इच्छा छ । अहिले तत्कालै त होइन । तर, भविष्यमा कुनै दिन फिल्म निर्देशन गर्ने धोको छ । त्यसका लागि अझै लामो बाटो तय गर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु