अभिनयमा जिरो छु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

अभिनयमा जिरो छु

महिला पात्रलाई केन्द्रमा राखेर नेपालमा कमै फिल्म बन्छन् । तर, केही त्यस्ता महिला कलाकार छन्, जसले ‘पत्थर फोडेर पीपल उम्रिए’जसरी जबर्जस्त आफ्नो कीर्ति फैलाए । गौरी मल्ल त्यस्ता थोरै कलाकारमध्ये एक हुन् । जसले महिला कलाकारले लिड गरेका फिल्म सफल हुन सक्छन् भन्ने मान्यता स्थापित गराइन् ।

गौरीका प्रत्येक पाइलाले सिनेक्षेत्रमा महिला कलाकारका लागि अलग स्पेस सिर्जना ग-यो । ०४२ सालमा सन्तान फिल्मबाट अभिनय यात्रा थालेयता उनी निरन्तर काँचको पर्दामा छाएकी छिन् ।

नेपाल टेलिभिजनबाट प्रशारित टेलिशृंखला ‘सिंहदरबार’को पहिलो भागमा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेकी गौरी अहिले यही शृंखलाको दोस्रो भागको तयारीमा व्यस्त छिन् । ‘यसबाहेक अन्य दुई–तीन प्रोजेक्टमा व्यस्त छु,’ काठमाडौंको टंगालस्थित एक रेस्टुरेन्टमा कुराकानीका क्रममा गौरीले भनिन् ।

बाबु मेजर धनबहादुर मल्लको निधन भएको तीन महिना मात्रै भयो । बाबु बिरामी भएपछि केही समय सुस्ताएको नियमित कर्मको गति अहिले फेरि उकालो चढेको छ । ‘उहाँको साथ नभएको भए अभिनयमा आउन सम्भव थिएन,’ कुराकानीको सुरुवातमा बाबुलाई नै स्मरण गरिन्, ‘मुमा हेमकुमारी मल्लको साथ पनि उत्तिकै छ ।’

सुरुवाती दिनमा आफन्त इनु सिंहले उनलाई फिल्म क्षेत्रमा लाग्न लगातार प्रेरणा दिइरहिन् । इनुमार्फत नै वसुन्धरा भुसालसँग भेट भएको थियो । भुसालकै सिफारिसमा फिल्म यात्रा अघि बढ्यो । ‘त्यति वेलासम्म अभिनयको प्रशिक्षण लिएको थिइनँ,’ ५० भन्दा बढी नेपाली फिल्म तथा केही विदेशी फिल्ममा समेत देखिएकी गौरीले भनिन्, ‘फिल्मको एउटा दृश्यमा हर्सराइडिङ गर्नुपर्ने भएकाले त्यसको प्रशिक्षण भने लिएको थिएँ ।’

फिल्म प्रदर्शनमा आएपछि प्राप्त प्रतिक्रियाले उनलाई यसै क्षेत्रमा लाग्न प्रेरित ग¥यो । फुर्सदको समय निकालेर नृत्य सिक्न वसन्त श्रेष्ठले सञ्चालन गरेको प्रशिक्षण केन्द्र धाउन थालिन् । ‘घर–परिवारमा हामी तीन छोरी मात्रै थियौँ । बुबाको इच्छा आर्मी बनोस् भन्ने थियो,’ उनले भनिन्, ‘आर्मीमा अहिलेजस्तो सहज प्रवेश थिएन । त्यसैले नर्स बनेर आर्मीमा छिर्छु भन्ने थियो । तर, यात्रा अन्तै मोडियो ।’

अभिनयमा जिरो छु

कन्यादानकी विधवा, सरस्वतीकी एक इमानदार प्रहरी इन्स्पेक्टर, वसन्तीकी रानी, मुकुण्डोकी माता र अहिले सिंहदरबारकी प्रधानमन्त्री । पुरुषवादी चरित्र बोकेको समाजमा उनको अभिनयले अलग सन्देश प्रवाह गरेको छ । त्यसैले, उनले निभाएका चरित्रबारे चर्चा गर्दा छुट्टै लेख तयार हुन्छ ।

 

कन्यादानकी विधवा, सरस्वतीकी एक इमानदार प्रहरी इन्स्पेक्टर, वसन्तीकी रानी, मुकुण्डोकी माता र अहिले सिंहदरबारकी प्रधानमन्त्री । पुरुषवादी चरित्र बोकेको समाजमा अभिनयमार्फत उनले अलग सन्देश प्रवाह गरिरहेकी छिन् ।

 

जे होस्, भर्सटायल नेपाली अभिनेत्रीको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । ३ दशक लामो यात्रामा थुप्रै भूमिकामा उस्तै सशक्त देखिएकी गौरी अझै धेरै सिक्न बाँकी रहेको बताउँछिन् । ‘सुन्दा बनावटी लाग्ला तर अभिनयमा जिरो छु । यो बियोन्ड द इम्याजिनेसनको विधा हो,’ उनले भनिन्, ‘संसारमा यति धेरै चरित्र छन् । दुई–चारवटा सिनेमा गरेर त्यसलाई बाँच्न सम्भव हुँदैन ।’

सिंहदरबारमा प्रधानमन्त्रीको भूमिकालाई नयाँ चुनौतीका रूपमा स्विकारेको ताजा अनुभव उनीसँग छ । आगामी दिनमा फरक भूमिकामा अभिनय गर्ने इच्छा छ । ‘आफूलाई बदल्ने प्रयास गर्छु । तर, अभिनय व्याख्याविहीन छ । अभ्यास र अनुभव गर्दै जान मात्र सकिन्छ ।’

मूलधार कमजोर भयो

पछिल्लो समय मूलधारका फिल्म कमजोर बन्दै गएको गौरीको ठम्याइ छ । फिल्ममा कास्टिङकै गलत प्रयोग गरिएको उनी बताउँछिन् । ‘कस्तो पात्रको ठाउँमा कुन कलाकार उभ्याउने भन्नेमै द्विविधा देखिन्छ,’ उनले भनिन् ।

प्रयोगवादी सिनेमा उनलाई निकै मन पर्छ । तर, यसले मात्रै नेपाली फिल्मको बजारलाई भरथेग गर्न नसक्ने उनी बताउँछिन् । यथार्थवादी हुने नाममा राखिएका भद्दा संवाद र छाडा दृश्यले नेपाली फिल्म क्षेत्रमा विकृति ल्याउने खतरा पनि उनी देख्छिन् ।

‘सबैले रुचाउने सिनेमाको निर्माणमा विशेष ध्यान दिनुप-यो किनकि सबैभन्दा पहिले दर्शकले हलसम्म पुगेर फिल्म हेर्ने वातावरण बन्नुपर्छ,’ उनी भन्छिन्, ‘कुनै समय ५१ दिन, सय दिनसम्म सिनेमा हलमा चल्ने गर्थे । अहिले हप्ता दिनसम्म फिल्म चल्दा पनि राम्रो व्यापार ग-यो भनेर सन्तोष मान्नुपर्ने अवस्था छ ।’

प्रविधिमा धेरै परिवर्तन आए पनि उनले अहिलेका सीमित कलाकारमा मात्रै अभिनयप्रति लगाव देखेकी छिन् । नयाँ पुस्ताका अधिकांश कलाकारमा आत्मविश्वासकै कमी उनी देख्छिन् ।

‘धेरै टेक लिँदा फिल्मको बजेट बढ्ने भएकाले हामी पर्याप्त रिहर्सल गरेर मात्रै सेटमा देखिन्थ्यौँ,’ उनले भनिन्, ‘प्रविधिको विकाससँगै अहिले धेरैभन्दा धेरै टेक लिन सकिने सुविधा छ । फिल्मका विषयमा इन्टरनेटमार्फत पनि धेरै पढ्न सकिने अवस्था छ । तर, यो सुविधा र स्वतन्त्रतालाई उपयोग गर्न नसकेको हो या अनावश्यक उपयोग गरेको हो ।’

नयाँ निर्देशक तथा कलाकारलाई अझै मिहिनेत गर्न उनी सुझाब दिन्छिन् । विगतमा मनोरञ्जनको साधन चलचित्र मात्रै हुने गरे पनि अहिलेका दर्शकसँग सयौँ विकल्प भएकाले सम्बन्धित निर्माता–निर्देशक तथा कलाकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

मनपर्ने निर्देशक

स्वर्गीय प्रकाश थापासँगै प्रताप सुब्बा, नीर शाह, यादव खरेल, उज्ज्वल घिमिरे, छिरिङ रितार शेर्पालगायत निर्देशकसँग काम गर्दाको क्षण अझै पनि उनको सम्झनामा आइरहन्छ । ‘नीर शाह जति राम्रा कलाकार हुनुहुन्छ, त्यति नै व्यावसायिक निर्देशक पनि ।

छिरिङ रिता शेर्पासँग काम गर्दा पनि निकै रमाइलो हुन्छ । उहाँ फरक ढंगले सोच्नुहुन्छ,’ उनले भनिन्, ‘मुकुण्डो सुटिङ गर्दा मिथिला दिदी (मिथिला शर्मा ) र म निकै उत्साहित थियौँ । फिल्मको एउटा दृश्यमा दुवैजनाको कपाल लुछिएर हातभरि भएको थियो ।’

नयाँ पुस्ताका निर्देशक हेमराज बिसीसँग गाजलु फिल्ममा अभिनय गरिन् । तर, अझै हेमराजले बनाएको फिल्म खेल्ने रहर छ । मिलन चाम्सको निर्देशनबाट पनि प्रभावित छिन् उनी । निर्माता तथा निर्देशक नवल खड्कासहित अन्य थुप्रै नवनिर्देशकसँग काम गर्ने धोको पूरा गर्न बाँकी छ ।

रहर त उनलाई आफैँ फिल्म निर्देशन गर्ने पनि छ । अनि कहाँ पुग्यो त फिल्मको तयारी ? नयाँ पत्रिकाको जिज्ञासापछि भनिन्, ‘यसैमा मात्र फोकस भएर लागेको भए एक–डेढ वर्षमै गर्न सकिने थियो होला । तर, कहिले कुन काम, कहिले कुन काममा व्यस्त भएकाले गाह्रो परिरहेको छ । तर पनि प्रतिबद्धताका साथ गृहकार्य गर्दै छु ।’

बलिउड अनुभव  : नसिरुद्दिन शान्त, विद्या चञ्चल

सन् २०१० मा रिलिज भएको अभिषेश चाउवेद्वारा निर्देशित बलिउड फिल्म इस्क्वियामा पनि गौरीले अभिनय गरिन् । विशाल भारद्वाजको लगानी रहेको यस फिल्म गौरीका लागि पहिलो विदेशी प्रोजेक्ट थिएन । उनले ०४३ सालमै जापानी भाषाको एक डकुमेन्ट्रीमा अभिनय गरिसकेकी थिइन् ।

नसिरुद्दिन शाह र अहिलेकी चर्चित अभिनेत्री विद्या वालन अभिनीत इस्क्वियामा गौरी अतिथि भूमिकामा छिन् । फिल्ममा उनीहरूसँगै फ्रेममा देखिएकी छैनन् । तर, सुटिङका क्रममा उनीहरू नियमित भेटमा हुन्थे । ‘विद्या बालन फिल्ममा जस्तो अभिनय गर्छिन् ।

वास्तविक जीवनमा पनि त्यस्तै चञ्चल हाउभाउ र बिन्दास स्वभावकी छिन् । अर्सद वारसी सुटिङ सेटमा जोक्स सुनाउने गर्थे,’ उनले भनिन्, ‘नसिरुद्दिन शाह भने शान्त र रिजर्भ हुनुहुन्छ । अदिल हुसैनको खुट्टामा चोट लाग्दा गौरीले रेकी विधिबाट निको पारिदिएकी थिइन् ।

‘त्यसपछि उहाँ मेरो रेकी गर्ने शैलीबाट प्रभावित हुनुभएको थियो । हामीबीच राम्रो मित्रता छ,’ जापानी उपचार विधि रेकीमा अभ्यस्त गौरीले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु