व्यवसायभन्दा राष्ट्र र राष्ट्रियता प्यारो : शेखर गोल्छा - Naya Patrika
eNaya Patrika
  • ePaper

व्यवसायभन्दा राष्ट्र र राष्ट्रियता प्यारो : शेखर गोल्छा

भावनात्मक छु
म भावनात्मक छु । मेरो स्वभाव स्थिर छ । मसँग व्यापार–व्यवसायका कुरामा स्ट्रङ लजिक छ । तैपनि, सहकर्मी तथा अन्य पाटीसँग डिलिङ गर्दा वा डिसिजन लिँदा मेरो भावनात्मक दृष्टिकोण जोडिएको हुन्छ । भावनात्मक भए पनि म अरूको अगाडि बग्ने काम गर्दिनँ । म सरल छु । हरेक कुरालाई साधारण तरिकाले बुझ्ने प्रयास गर्छु । ओभर कम्प्लिकेट गर्दिनँ । सबै समस्या सहज तरिकाले समाधान गर्ने प्रयास गर्छु ।

रिसमा पनि हाँसो छर्न खोज्छु
मलाई भित्रभित्रै रिस उठ्दासमेत म सफ्टलाइनर हुँ । आजकल त झनै रिसाउन छाडेको छु । वर्षमा एक–दुईपटक मात्र रिसाउँछु कि ! तैपनि, सो गर्दिनँ । सहकर्मी साथीहरूले म रिसाएर जोडले बोलेको सुनेका छैनन् । मेरो मनभित्र जति पनि निराशाजनक कुरा आउँछन्, ती कुरा लुकाउन म अरूका छेउमा फिस्स हाँस्ने गर्छु । कसैले रिसै उठाए पनि उत्तेजित हुन्नँ । झन् भ्वाइसलाई लो गर्ने प्रयास गर्छु । समग्रमा भन्दा म रिसाइरहेको भए पनि बाहिर हाँसो छर्ने प्रयास गर्छु ।

एकैपटक १० जनालाई हात छाडेँ
युवा हुँदा पनि मेरो कुटाकुटमै उत्रिने स्वाभाव भने थिएन । तर, एकपटक १० जना युवाविरुद्ध एकैपटक जाइलागेको छु । फिल्म हेर्न हलमा गएको वेला मेरी गर्लफ्रेन्ड (अहिले श्रीमती)लाई ती केटाले जिस्काए । मैले हातै हालेँ ।

जातीय आँखाले हेरेको मन पर्दैन
कहिलेकाहीँ भने कुनै कुराले अति नै रिस उठ्छ । जब कुनै पनि मानिसले मलाई जातीय आँखाले हेर्न थाल्छ अथवा मारवाडी देख्न थाल्छ, मलाई पटक्कै मन पर्दैन । म देशको नागरिक हुँ । मेरो पेसा कुनै जाति विशेषले मात्र प्रतिनिधित्व गर्ने खालको होइन । म निजी क्षेत्रको एउटा प्रतिनिधि हुँ । यसभन्दा अरू परिचय मलाई मन पर्दैन । कुनै जाति विशेषको भएर म सफल भएको पनि होइन । मलाई राष्ट्र र राष्ट्रियताभन्दा ठूलो मेरो व्यवसाय पनि लाग्दैन ।

फजुल खर्च गर्दिनँ
म खर्च गर्ने कुरामा कन्सियस छु । महँगो घडी या लुगा लगाउँदिनँ । स्ट्यान्डर्ड मेन्टेन गर्ने किसिमका साधारण लुगा नै मलाई मन पर्छन् । म फजुल खर्च गर्दिनँ । बरु, केही रकम विभिन्न सामाजिक काममा लगाउँछु ।

असंगठित र अव्यव्यस्थित छु
अहिलेसम्म पनि म संगठित छैन जस्तो लाग्छ । आफ्नै जीवनलाई अस्तव्यस्त बनाएको छु । मेरो व्यक्तिगत जीवन त्यति व्यवस्थित लाग्दैन । बिहान घरमा लुगा मिलाएर राख्नेदेखि अफिसमा काम गर्ने कुरामा पनि अव्यवस्थित छु । यी कमजोरी मैले सुधार्नुपर्छ भन्ने लाग्छ ।

अझै ट्रान्जिसन पिरियडमै छु
म उमेरले ५२ वर्ष भइसकेँ । तैपनि, अझै टिपिकल ट्रान्जिसन पिरियडमै छु भन्ने लाग्छ । पहिले कलेज पढ्दाताका कुनै पनि जिम्मेवारी बोध गरिनँ । अलि बुझ्ने भएपछि परिवार र समाजको प्रतिष्ठाका लागि भए पनि केही गर्नुपर्छ भन्ने लाग्यो । मेरा सबै व्यवसाय मैले आफैँले सुरुवात गरेको हुँ । त्यसैले, अझै नर्मल ट्रान्जिसन फेजमै छु जस्तो लाग्छ । पहिले आफू जिम्मेवारीमा नहुँदा जे कुराले खुसी हुन्थे, आजकल ती कुराले खुसी दिन छोडेका छन् । सामाजिक उत्तरदायित्व बढेको महसुस गरेको छु ।

आफूलाई भाग्यमानी मान्छु
मैले यहीँको सेन्ट जेभियर्स स्कुलमा पढेको हुँ । त्योवेला यो स्थितिमा आउँछु भन्ने सोचेको थिइँन । म खासै महत्वाकांक्षी पनि होइन । अहिले आएर एफएनसिसिआईको नेतृत्व तहसम्म पुगेको छु । व्यवसायमा पनि सफल हुँदै छु । मैले जति मिहिनेत गरेको छु त्योभन्दा धेरै पाएँ कि जस्तो लाग्छ । त्यसैले, आफूलाई भाग्यमानी नै मान्छु ।

‘धनी नम्बर वान’ बन्ने चाहना छैन
देशकै नम्बर वान धनी बन्छु भन्ने मैले चाहना राखेको छैन । आफू धनी बन्नेभन्दा पनि राष्ट्रहितमा रहेर व्यापार गर्न चाहन्छु । देशको कानुनभित्र रहेर व्यापार गर्न चाहन्छु । आफूलाई एउटा व्यापारी र रोजगारदाताको रूपमा सर्वश्रेष्ठ भएको देख्न चाहन्छु । ‘देशलाई सबैभन्दा धेरै कर तिर्ने यही हो,’ भनेर अरूले भनुन् न मलाई । मेरो यही चाहना हो ।

सक्षम राइडर हुँ
म यदि व्यवसायी नभएको हुँदो हुँ त पाइलट बन्थेँ होला । सायद, अन्तर्राष्ट्रिय उडान भर्ने खालको । म कुनै न कुनै रूपमा मेसिनसँगै जोडिन चाहन्थेँ । बच्चादेखि नै कार राइडिङ गर्न मन पराउँथेँ । मैले भारतको दिल्ली र युकेमा पढेको हुँ । युरोपका १५ देशमा कार रेसिङ गरेको छु । म आफूलाई एउटा सक्षम चालक मान्छु ।

आर्टिफिसियल लुक्स मन पर्दैन
करिब एक दशकदेखि मेरो तक्लु गेटअप छ । कपाल झेरेका कारण यस्तो बनाएको हुँ । मैले कहिल्यै पनि आर्टिफिसियल कुरामा विश्वास गरिनँ । तसर्थ, नक्कली कपाल लगाइनँ । पहिले कालो र बाक्लो कपाल थियो । मेहन्दी लगाएर कहिल्यै पनि रंगिन बनाइनँ । औसत नेपालीभन्दा अग्लो छु । शारीरिक रूपमा ठीकै छु । पछिल्लो समयमा पेट बढेकोमा अलि चिन्तित छु ।

रक्सीले हत्तपत्त छुँदैन
भेजिटेरियन हुँ म । चुरोट पनि पिउँदिनँ । रक्सी पनि मात्नेगरी खान्नँ । मैले रक्सी खाएको छु भने पनि अरूले मेसो पाउँदैनन् । म उस्तै नै देखिन्छु ।

क्रिकेटको किरा हुँ
म क्रिकेट लभर हुँ । क्रिकेट भनेपछि हुरुक्कै हुन्छु । अलि, ठूला म्याच आएका दिन त मेरो काममै डिस्टर्ब हुन्छ । आँखैले हेर्न पाइनँ भने स्कोर भए पनि अपडेट भइरहन्छु ।

तपाईको प्रतिक्रिया