प्रत्येक दिन १३ आत्महत्या : बेरोजगारी र प्रेममा असफलता मुख्य कारण - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रत्येक दिन १३ आत्महत्या : बेरोजगारी र प्रेममा असफलता मुख्य कारण

८ प्रतिशतले आत्महत्याको दर बढ्दै –

भारतको महाराष्ट्रमा पछिल्ला तीन महिनामा ६ सय ९६ किसानले आत्महत्या गरे । घटनाले सञ्चारमाध्यममा सनसनी मच्चायो । विषयमाथि विविध कोणका बहस चले । अन्ततः महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाभिसले सदनमा स्पष्टीकरण नै दिए । यो संख्या अघिल्लो वर्षको तुलनामा २४ अंक मात्रै बढी थियो । त्यस वर्ष महाराष्ट्रमा आत्महत्या गर्ने किसानको संख्या ६ सय ७२ थियो ।

नेपालमा प्रत्येक दिन १३ जनाले आत्महत्या गर्छन् । यो दर प्रत्येक वर्ष ८ प्रतिशतका दरले वृद्धि भइरहेको छ । तर, चर्चा सडक र सदन कतै छैन । न सरकारसँग सोच्ने फुर्सद नै छ । नेपाल प्रहरी आत्महत्या गर्नेको संख्या गन्छ । तथ्यांक बनाउँछ । दराजमा थन्क्याउँछ र बस्छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार गएको ४ वर्षमा मुलुकभर १८ हजार ६ सय २६ जनाले आत्महत्या गरिसकेका छन् । यसलाई आधार मान्दा प्रत्येक दिन १२.७५ प्रतिशतले आत्महत्या गर्छन् । यो संख्या हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै आव ०७३–७४ मा धेरैे देखिन्छ । यस वर्ष मुलुकभर ५ हजार ७२ ले आत्महत्या गरेका थिए । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ७.४३ प्रतिशत अर्थात् ३ सय ७७ ले धेरै हो । अघिल्लो अर्थात् आव ०७२–७३ मा मुलुकभर ४ हजार ६ सय ९५ ले आत्महत्या गरेका थिए । त्यस्तै मुलुकभर आव ०७१–७२ मा ४ हजार ३ सय ५० र आव ०७०–७१ मा ४ हजार पाँच सय ९ ले आत्महत्या गरेका थिए ।

प्रहरीको तथ्यांक विश्लेषण गर्दा आत्महत्या गर्नेमा सबैभन्दा धेरै पुरुष छन् । गत ४ वर्षमा मुलुकभर ९ हजार ५ सय ७५ पुरुषले आत्महत्या गरे । यो संख्या महिलाको भन्दा १ हजार ४ सय १० अर्थात् १४.७२ प्रतिशतले धेरै हो । अर्थात् सोही अवधिमा मुलुकभर ८ हजार १ सय ६५ महिलाले आत्महत्या गरे । तथ्यांक हेर्दा ४ वर्षमा मुलुकभर आत्महत्या गर्ने महिला–पुरुषको संख्या मात्रै १७ हजार ७ सय ४० रहेको देखिन्छ । यो संख्या १६ वर्षभन्दा माथिका महिला र पुरुषको हो ।

आत्महत्या गर्नेमा १६ वर्षभन्दा तलका बालबालिका पनि छन् । यस अवधिमा मुलुकभर ८ सय ८८ बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा भने बालकभन्दा बालिकाको संख्या धेरै छ । यस अवधिमा मुलुकभर ४ सय १५ बालकले आत्महत्या गरेको देखिन्छ । तर, आत्महत्या गर्ने बालिकाको संख्या ४ सय ७१ पुगेको देखिन्छ । तथ्यांक विश्लेषण गर्दा बालकभन्दा ११.८८ प्रतिशत धेरै बालिकाले आत्महत्या गरेका छन् ।

७३ प्रतिशत झुन्डिएर
प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेले सबैभन्दा धेरै गलपासोको प्रयोग गर्ने गरेको देखाउँछ । गएको दुई वर्षमा मुलुकभर ९ हजार ७ सय ६७ ले आत्महत्या गरे । त्यसमध्ये गलपासो लगाई आत्महत्या गर्नेको संख्या ७ हजार १ सय २६ थियो । अर्थात् मुलुकभर ७२.९५ प्रतिशत आत्महत्या झुन्डिएर हुन्छ । त्यसपछि विषसेवन गरी आत्महत्या गर्नेको संख्या धेरै छ । गएको दुई वर्षमा मुलुकभर २ हजार ४ सय ८ ले विषसेवन गरी आत्महत्या गरे । अर्थात् २४.६५ प्रतिशत आत्महत्या विषसेवनका कारण हुन्छन् । बाँकी २.४ प्रतिशत आत्महत्या भने शरीरमा आगो लगाएर, धारिलो हतियार प्रयोग गरेर, करेन्ट लगाएर, पानीमा डुबेर, भिरबाट हाम फालेर हुन्छ ।

पछिल्लो २ वर्षको विवरण

विष सेवन–२४०८
-आगो लगाई–५२
-झुन्डिएर–७१२६
-औजार प्रयोग –२८
-हाम फालेर–१४२
-करेन्ट लगाई–३
-डुबेर–८

तथ्यांकअनुसार दुई वर्षमा मुलुकभर शरीरमा आगो लगाएर ५२ ले आत्महत्या गरे । धारिलो हतियार तथा पेस्तोल प्रयोग गरेर २८ ले आत्महत्या गरे । भिर तथा खोलामा हाम फालेर १ सय ४२ ले आत्महत्या गरे । शरीरमा करेन्ट लगाएर ३ ले आत्महत्या गरे । खोला तथा इनारमा डुबेर भने ८ ले आत्महत्या गरे ।

काठमाडौंमा धेरै आत्महत्या
नेपाल प्रहरीअन्तर्गतको महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको तथ्यांकअनुसार उपत्यकाका तीनमध्ये सबैभन्दा धेरै आत्महत्याका घटना काठमाडौंमा हुन्छन् । तथ्यांकअनुसार बितेका ५७ महिनायता काठमाडौंमा मात्रै एक हजार ३ सय ७८ ले आत्महत्या गरेका छन् । सोही मितिमा ललितपुरमा भने आत्महत्या गर्नेको संख्या ३ सय ६६ मात्रै छ । त्यस्तै भक्तपुरमा भने सोही मितिमा ३ सय १० ले मात्रै आत्महत्या गरेका छन् । तथ्यांक विश्लेषण गर्दा उपत्यकामा प्रत्येक महिना ३६ जनाले आत्महत्या गर्छन् । अर्थात् उपत्यकामा आत्महत्या गर्ने कुलमध्ये काठमाडौंमा आत्महत्या गर्नेको संख्या मात्रै ६७ प्रतिशत छ । बाँकी ३२.९१ प्रतिशत मात्रै भक्तपुर र ललितपुरका हुन् ।

यसरी हुन्छ आत्महत्या
महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको तथ्यांकअनुसार उपत्यकामा आत्महत्या गर्नेले सबैभन्दा धेरै गलपासो नै प्रयोग गर्ने गरेको देखिएको छ । गएको तीन वर्षको तथ्यांकअनुसार घाँटीमा पासो लगाएर आत्महत्या गर्नेको संख्या ८ सय ४४ रहेको छ । त्यसपछि विषसेवन गरेर धेरैले आत्महत्या गर्छन् । तथ्यांकअनुसार विषसेवन गरेर ३ वर्षमा उपत्यकाभित्र मात्रै ३ सय ७० ले आत्महत्या गरे । त्यसबाहेक भिरबाट हामफालेर १९, आगो लगाएर १०, पानीमा डुबेर १, औजार प्रयोग गरी ५, घाँटी थिचेर २ र गोली हानेर २ ले आत्महत्या गरेको देखिन्छ ।

बेरोजगारी र प्रेममा असफलता मुख्य कारण
प्रहरीका अनुसार आत्महत्या बढ्नुमा सबैभन्दा मुख्य कारण बेरोजगारी हो । प्रेममा असफलता आत्महत्याको अर्को कारण हो । शिक्षामा असफलता पनि आत्महत्याको अर्को मुख्य कारण हो । त्यसबाहेक श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा आउने दरार, शंका, एक्सट्रा अफेयर्स आत्महत्याका कारणभित्र पर्छन् । त्यसबाहेक डिप्रेसन, तनाव, आवेगका कारण पनि आत्महत्या हुने गरेको देखिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले पछिल्ला दिनमा आत्महत्याका घटना बढेको बताए । उनका अनुसार ६० प्रतिशत आत्महत्याका कारण बेरोजगार र प्रेममा हुने असफलता हो । उनले भने, ‘आत्महत्याका घटना बढेको सत्य हो । मुलुकभरको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै आत्महत्याका घटना काठमाडौंमा भएका छन् ।

जनसंख्या चाप धेरै भएर पनि यस्तो भएको हुन सक्छ । हाम्रो विश्लेषणमा ६० प्रतिशत आत्महत्या बेरोजगारी र प्रेममा हुने असफलता नै रहेको देखिन्छ । त्यसबाहेक डिप्रेसन, मानसिक तनाव, क्षणभरको आवेग पनि आत्महत्याका कारण हुन् । शैक्षिक असफलता, सम्बन्धमा आउने दरारका कारण पनि आत्महत्याका घटना हुने गरेको अनुसन्धानबाट देखिन्छ ।’

डिएसपी थापाका अनुसार आत्महत्या गर्नेमा सबैभन्दा धेरै १६ देखि ३० वर्ष उमेर समूहका महिला र १८ देखि ३० वर्ष उमेर समूहका पुरुष रहेको अनुसन्धानबाट देखिन्छ । त्यसमा पनि गरिब परिवारका मानिसबाट धेरै आत्महत्या भएका छन् । डिएसपी थापाका अनुसार ७० प्रतिशत आत्महत्या गरिबीका कारण हुने गरेको अनुसन्धानबाट देखिन्छ । उनले भने, ‘आत्महत्या गर्नेमा १६ देखि ३० वर्ष उमेर समूहका महिला–पुरुष धेरै छन् । त्यसमा पनि गरिब परिवारका मानिसबाट धेरै आत्महत्या भएका छन् । हाम्रो अनुसन्धानबाट ७० प्रतिशत आत्महत्या गरिबीका कारण हुने गरेको छ ।’

के छ कानुनी व्यवस्था ?
आत्महत्या गर्न र गर्ने वातावरण बनाउनेविरुद्ध तोकिएबमोजिमको सजाय दिने कानुनी अभ्यास अन्तर्राष्ट्रिय जगत्मा देखिन्छ । भारतमै पनि त्यस्तो कानुन छ । तर, नेपालको हकमा आत्महत्या गर्ने र गराउनेविरुद्ध सजाय हुने गरी कानुन छैन । त्यसो हुँदा आत्महत्या गर्न प्रोत्साहन र वातावरण बनाउनेविरुद्ध कसैलाई पनि कारबाही भएको देखिँदैन ।

संशोधित मुलुकी अपराधसंहिता ०७४ मा भने आत्महत्या गर्न प्रोत्साहन दिने र वातावरण बनाउनेविरुद्ध कारबाही हुने व्यवस्था गरिएको छ । तर, यो कानुन १ भदौ ०७५ बाट मात्रै लागू हुनेछ । मुलुकी अपराधसंहित ०७४ को दफा १८५ मा भनिएको छ, ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने, तर कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यदि त्यस्तो गरिएको खण्डमा कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

आत्महत्याका केही घटना

बिहे भाँडिँदा आत्महत्या
वीरगन्ज–२३ का २१ वर्षीय शिव दयाल र १८ वर्षीया रविताकुमारी साह तेलीबीच विवाहको कुरो टुंगियो । विवाहका लागि १४ वैशाखमा मिति तोकियो । बेहुली पक्षका परिवार दंग थिए । विवाहको धुमधाम तयारी चल्दै थियो । रविताकुमारीका परिवारले विवाहको कार्डसमेत बाँडिसकेका थिए । यहीबीचमा शिवका परिवारबाट फोन आयो ।

फोनमा भनियो,‘दाइजोमा थप ८० हजार रुपैयाँ चाहियो ।’ बिहेको कुरा छिन्दा सुनका गहना मात्रै दिने सहमति भएको थियो । तर, केटापक्षले थप ८० हजार रुपैयाँ मागेपछि बेहुली पक्षका परिवार पीडामा परे । तनावमा आएकी रविताकुमारीले हुनेवाला भनिएको बेहुला शिवलाई फोन गरिन् । शिवले पनि ८० हजार चाहिने कुरा नै गरे । परिवारसँग मागेबमोजिमको रकम दिन सक्ने हैसियत थिएन । उनीहरू झन् तनावमा परे । बेहुला पक्षसँग थप कुरा भयो । उनीहरूले अडान छाडेनन् । भन्न थाले बरु विवाह नै क्यान्सिल गर्ने ।

बेहुली रविता तनावमा आइन् । केहीसिप चल्ने अवस्था नभएपछि उनी कोठाभित्र छिरिन् । सिलिङमा पासो बनाइन् । ६ वैशाखका दिन उनी पासोमा झुन्डिइन् । उनको तत्काल मृत्यु भयो ।

पोल खुल्ने डरले आत्महत्या
सुन तस्कर सम्बन्धमा सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिले नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीलाई पक्राउ ग¥यो । थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राख्यो । प्रहरीले पक्राउ गर्दा चौधरी निर्धक्क थिए । जब उनको मोबाइल नियन्त्रण गरियो, त्यसपछि उनी चिन्तित भए । सँगै पक्राउ परेका राजन थापासँग उनले पटक–पटक मोबाइल फोनको चिन्ता गरेका थिए । जेल जाने भइयो भन्दै उनी थापासँग रातभर बिलौना गरिरहे । त्यसपछि ट्वाइलेट छिरेका उनी लामो समय निस्किएनन् । पछि चुकुल लगाउने ठाउँमा सुरुवालको पासो बनाई झुन्डिएको अवस्थामा भेटिए । प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी अपिलराज बोहराले चौधरीले हिरासत कक्षको ट्वाइलेटमा झुन्डिएर आत्महत्या गरेको बताए ।

प्रहरीका अनुसार आत्महत्या गर्ने थाई एयरवेजका इन्जिनियर सुनील बन पनि प्रहरी नियन्त्रणमा आउँदा निर्धक्क थिए । जब उनको मोबाइल र त्यसभित्र रहेका भाइबर र फेसबुक एकाउन्ट खोलियो अनि उनी हतास बन्न पुगेका थिए । सोही क्रममा उनले हिरासत कक्षमा नै आत्महत्या गरे । उनी ०४२ देखि एयरलाइन्समा लोडरका रूपमा कार्यरत थिए । उनले प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षमा ३० चैतमा आत्महत्या गरेका थिए ।

यस्तो छ सामाजिक कारण
डा. टीकाराम गौतम, समाजशास्त्री
आत्महत्या गर्ने मुख्य कारण बदलिएको सामाजिक तथा आर्थिक संरचना नै हो । विश्वविख्यात समाजशास्त्री इमाइल दुर्खिमले समाज जब–जब खण्डित हुँदै जान्छ अनि आत्महत्याका घटना बढ्दै जान्छन् भनेका छन् । नेपाली समाज अहिले त्यही मोडमा देखिन्छ । पहिला–पहिला सामूहिक परिवारमा बस्ने चलन थियो । अहिले त्यो हटेर परिवारको आकार सानो भएको छ । मानिसले अब सामूहिक हितभन्दा पनि व्यक्तिको हितलाई बढी महत्व दिने गरेको देखिन्छ । यसले मानिसलाई एक्लो बनाउँछ । एक्लो जीवन भएपछि मानिसमा नैराश्य आउँछ । अनि त्यही नैराश्य आत्महत्याको कारण बन्छ ।

अर्को हो, बदलिँदो आर्थिक प्रणाली । मुलुक अहिले उपभोक्तामुखी हुँदै गएको छ । जग्गा–जमिनमा निर्भर हुने हिजोको अवस्थामा अहिले बदलाव आएको छ । हिजो मानिस जग्गा–जमिनमा निर्भर हुन्थे । अहिले बजारमा निर्भर हुन थालेका छन् । यो भनेको पैसाको महत्व बढेको हो । जोसँग पैसा हुन्छ, उसले बजारबाट आफ्ना आवश्यकता पूरा गर्न सक्छ । तर, जोसँग पैसा छैन, उसले आवश्यकता पूरा गर्न सक्दैन । यसले मानिसलाई निराश बनाउँछ । अनि मानिस डिप्रेसनमा जान्छ । यही कारण उसले आत्महत्या गर्छ । त्यही भएर आत्महत्याको दर बढेको हुन सक्छ ।

यस्तो छ मनोवैज्ञानिक कारण ?

जमुना संग्रौला, मनोवैज्ञानिक
समाजमा मानिसको आवश्यकता बढ्दै गएको छ । तर, त्यसलाई परिपूर्ति गर्ने संयन्त्र कमजोर छ । त्यसो भनेको अर्थसँग जोडिएको छ । समाजका अन्य विविध संयन्त्रसँग जोडिएको छ । जब उसको आवश्यकता पूरा हुँदैन । अनि ऊ निराश बन्छ । नैराश्यले उसलाई डिप्रेसनमा लैजान्छ । उसले जीवनलाई भारका रूपमा ग्रहण गर्छ र आत्महत्या गर्छ । आकांक्ष पूरा नहुँदा पनि मानिसले आत्महत्या गर्छ । त्यसबाहेक कतिलाई मानसिक रोग लागेको हुन्छ । यसले पनि मानिसलाई डिप्रेसनमा लैजान्छ अनि आत्महत्या गर्छ ।

तपाईको प्रतिक्रिया