संघर्ष विद्यार्थी हकका लागि : ऐन महर - Naya Patrika
eNaya Patrika
  • ePaper

संघर्ष विद्यार्थी हकका लागि : ऐन महर

बझाङको दुर्गम गाउँमा जन्मिएका ऐन महर कांग्रेसी पृष्ठभूमि भएको परिवारमा हुर्किए । २०५५ सालमा एसएलसी दिएपछि थप अध्ययनका लागि काठमाडौं आएका उनी विद्यार्थी राजनीतिमा सक्रिय रहे । विद्यार्थीलाई सार्वजनिक सवारीमा सहुलियतदेखि मुलुकका ठूला राजनीति परिवर्तमा उनी प्रत्यक्ष र परोक्ष रूपमा लागिरहे । यतिवेला अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का महासचिव महर अब विद्यार्थी हकहितका नयाँ एजेन्डा तय हुनुपर्ने देख्छन् । अहिले विद्यार्थी आन्दोलन पुरानो एजेण्डा सकिएको र नयाँमा फड्को मार्न नसकेको संक्रमणकालिन अवस्थामा रहेको उनको ठम्याइ छ । बनेका नीति र भए/गरेका निर्णय कार्यान्वयन गर्न विद्यार्थी नेतृत्वले रचनात्मक दबाब दिनुपर्ने उनी देख्छन् । सरकारी विद्यालयमा ठूलो लगानी र सक्षम जनशक्ति भए पनि त्यसलाई परिणाममुखी बनाउन सरकारी कर्मचारीले आफ्ना बालबालिका अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन वाध्य पार्ने कानुन नै बनाउनुपर्ने उनको मत छ । प्रस्तुत छ, महासविच महरको धारणा :

ऐन महर, महासचिव, अनेरास्ववियु

 

मैले ०५५ देखि संगठित रूपमा राजनीतिक यात्रा सुरु गरेको हुँ । तर, संगठिन हुनुभन्दा पहिलेदेखि नै ममा राजनीतिक चेतना थियो । मेरो घर बझाङको दुर्गम गाउँमा हो । ०४६ को जनआन्दोलन चलिरहेको थियो, त्यसवेला टिभी, पत्रपत्रिका, अनलाइनजस्ता सञ्चारमाध्यम थिएनन् ।

सञ्चारको माध्यम रेडियो मात्रै थियो । रेडियो पनि सबैका घरमा हुँदैन थियो । सचेत र सक्षम परिवारमा रेडियो हुन्थ्यो । हाम्रो घरमा रेडियो थियो । रेडियो सुन्न हाम्रो घरमा टाढा–टाढाबाट मानिस आउँथे । बिहान–बेलुकी रेडियो सुन्ने ५०/६० जनासम्म पुग्थे ।

म पनि समाचार सुन्ने गर्थेँ । संगीत पनि सुन्थेँ । ६/७ वर्षको हुँदा रेडियोबाट जनआन्दोलनको खबर सुन्थेँ । त्यसले मलाई राजनीतिप्रति आकर्षित गर्‍यो । रेडियोमा राजनीतिक खबर सुनेको प्रभाव विद्यालयमा पनि पथ्र्यो ।

०५० मा मदन भण्डारीको दुर्घटनाको खबर रेडियोमा सुनियो । त्यसपछि म वाम राजनीतिमा आकर्षित भएँ । त्यसभन्दा पहिले मेरो परिवारको राजनीति पृष्ठभूमि वाम थिएन । मेरो हजुरबुवा, बुवा पनि राजनीतिमै हुुनुहुन्थ्यो । बुवा कांग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो । ०३६ को विद्यार्थी आन्दोलनमा बुवा सक्रिय भएर लाग्नुभएको थियो । मदन भण्डारीको बारेमा सुनेपछि मनोवैज्ञानिक रूपमा मेरो झुकाब कम्युनिस्टप्रति भयो । त्यतिवेलासम्म संगठित राजनीतिमा नलागे पनि विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागी हुन्थेँ ।

एसएलसी पास गरेर म ०५५ मा काठमाडौं आएँ । साइन्स पढाउन बुवाले मलाई त्रिचन्द्र क्याम्पसमा भर्ना गरिदिनुभयो । त्यहाँ नेविसंघको वर्चस्व थियो । म पहिलेदेखि नै वाम राजनीतिमा आकर्षित । त्रिचन्द्रमा भर्ना भएपछि नेविसंघको राजनीतिप्रति वितृष्णा हुने केही गतिविधि देखेँ । बुवाले नेविसंघ बनोस् भनेर त्रिचन्द्रमा भर्ना गरिदिनुभएको थियो ।

त्यसवेला त्रिचन्द्रमा अखिल थिएन । नेविसंघले गरेका दुईवटा व्यवहारले म त्रिचन्द्र कलेज छोड्न बाध्य भएँ । अखिलको राजनीति गर्न अमृत साइन्स क्याम्पस (अस्कल) गएँ । त्रिचन्द्रमा आइएस्सी पढ्नेको निकै आकर्षण थियो । भर्ना हुनका लागि क्याम्पसले लिने प्रवेश परीक्षा पास हुनुपथ्र्यो । चार/पाँच हजारले फारम भर्थे तर मेरिट लिस्टमा ३÷४ सय पर्थे । भर्ना भने १५ सयदेखि दुई हजार विद्यार्थी हुन्थे । ४/५ सय क्याम्पसले र बाँकी १५÷१६ सय विद्यार्थीको भर्ना स्ववियुले गथ्र्यो ।

स्ववियुले भर्नाको निवेदनसँगै दुईवटा डकुमेन्ट खोज्थ्यो । त्यसवेलाका स्ववियुमा आबद्ध व्यक्तिहरूले बागबजारमा हिमाल भन्ने इन्स्टिच्युट सञ्चालन गरेका थिए । भर्ना गर्नुभन्दा पहिले त्यही इन्स्टिच्युटमा भर्ना गरेर रसिद ल्याउनुपथ्र्यो । अर्को आफूले चिनेको कांग्रेसको नेताको सिफारिस चाहिन्थ्यो । यो विषयमा मेरो विवाद पथ्र्यो । मलाई यस्तो क्याम्पसमा पढ्ने चाहना भएन । म ट्रान्सफर गरेर अस्कल पुगेँ । ०५५ मा अस्कल गएको दिनदेखि अखिलको संगठित कार्यकर्ता बनेँ ।

 संगठित भएलगत्तै आन्दोलनमा
०५५ पछि धेरै आन्दोलन भए । पार्टी फुट्यो । ऋतिक रोशन काण्ड भयो । त्यो आन्दोलनमा पनि लागियो । विद्यार्थीलाई सार्वजनिक यातायातमा ३३ प्रतिशत छुट दिलाउन गरिएको आन्दोलनमा सहभागी भएँ । विद्यार्थीलाई छुट गर्नुपर्ने आन्दोलनको नेतृत्व रवीन्द्र अधिकारीले गर्नुभएको थियो । हामीले सडकमा आन्दोलन चर्काएका थियौँ । महँगीविरुद्ध, शैक्षिकलगायतका अन्य आन्दोलनमा अस्कल क्याम्पसको ठूलो भूमिका थियो ।

पार्टी विभाजनका कारण अस्कलमा पनि द्वन्द्व भयो । ८÷९ वर्ष क्याम्पस कमिटीको सदस्य भएर काम गरियो । विभिन्न कारणले माथिल्लो तहको नेतृत्व सम्हाल्न पाइएन । बिएससी अस्कलबाट सकेर ०६१/०६२ मा मास्टर्स पढ्न त्रिचन्द्र क्याम्पसमा फर्किएँ ।

०६३ सालको १८औँ महाधिवेशनमा अखिलको केन्द्रीय सदस्यमा उम्मेदवार भएँ । त्यसवेला म यज्ञराज सुनुवारको टिमबाट सदस्यको उम्मेदवार थिएँ । चुनाव ठाकुर गैरेको टिमले जित्यो । ०६३ मै सम्पर्क कमिटीको सचिवालयको जिम्मेवारी प्राप्त भयो । ०६५ मा पोखरामा भएको १९औँं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा म विजयी भएँ । ०६७ मा जनकपुरमा भएको २०औँं राष्ट्रिय सम्मेलनबाट सबैभन्दा बढी मत प्राप्त गरेर सचिवालय सदस्य बनेँ । ०७० को काठमाडौंमा भएको २१औँ महाधिवेशनमा उपाध्यक्षको जिम्मेवारी पाएँ । २२औँ महाधिवेशनमा अध्यक्षको दाबेदारी थियो, परिस्थितिले महासचिव बनियो । महासचिव भएको पनि दुई वर्ष भयो ।

एक रुपैयाँका कारण बस जल्यो
हाम्रो पुस्तामा घटनैघटना भए । धेरै घटना भोग्ने र देख्ने अवसर पायौँ । त्रिचन्द्रबाट छाडेर अस्कलमा जानु मेरो जीवनको टर्निङ पोइन्ट थियो । विद्यार्थीलाई ५० प्रतिशत छुट दिनुपर्छ भनेर ०५७/५८ तिर आन्दोलन गरिरहेका थियौँ । छुटका लागि गरेको आन्दोलन मेरा लागि अविस्मरणीय बन्यो ।

सरकारले ३३ प्रतिशत छुट दिने भन्ने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले छुट दिन मानिरहेका थिएनन् । कार्यान्वयन गर्न हामी थप आन्दोलन गरिरहेका थियौँ । त्यसवेला म अस्कल होस्टेलमा बस्थेँ । काम विशेषले पुनानो वसपार्कबाट अस्कल फर्किन बस चढेँ । तीन रुपैयाँ भाडा थियो, मैले पैसा र कार्ड सँगै दिएँ, छुट मागेँ । मलाई छुट दिइएन । मैले ‘हाम्रो अधिकारको कुरा हो, दिनुपर्छ’ भनेर विवाद गरेँ । बसका सहयोगीले मानेनन् ।

बस पुरानो बसपार्कबाट नयाँ बसपार्क जाँदै थियो । मैले अस्कल अगाडि गाडी रोकेर साथीहरू बोलाएँ । त्यहाँ बसका यात्रु ओरालेर आन्दोलन सुरु भयो । भिड ठूलो भयो, आन्दोलन चर्कियो र गाडी जल्यो । आन्दोलनमा पहिलोपटक गाडी जलेजस्तो लाग्छ । अर्को दिन सबै मिडियाले गाडीमा दन्किएको आगोको फोटोसहित समाचार पस्किए– ‘एक रुपैयाँ छुट नदिँदा बस जल्यो ।’ मैले दुई रुपैयाँ दिन खोजेको थिएँ, बसका सहयोगीले तीन रुपैयाँ लिन खोजेका थिए । त्यही एक रुपैयाँका कारण लाखौँको गाडी जलेर नस्ट भयो ।

 कारणविना कारबाही
२०६९ को कुरा हो, त्यसवेला म सचिवालय सदस्य थिएँ । अखिलको महाधिवेशन आउन लागिरहेको थियो । अञ्चल कमिटीबाट एक महिलासहित तीनजना प्रतिनिधि जाने प्रावधान हुन्छ । सम्मेलनमा १६ वटा अञ्चल कमिटीबाट ४८ जना प्रतिनिधि जाने भए । मैले कमिटीहरूलाई क्रियाशील बनाउने काम गरिरहेको थिएँ । केही साथीहरूलाई चित्त बुझिरहेको थिएन । ४८ जना प्रतिनिधि बनाएपछि मेरो प्रभाव बढ्ने भयो । धौलागिरी अञ्चलको कमिटी बनाउँदा केही साथी रुष्ट भए । कमिटी बनाएको भोलिपल्टै केही साथीले नेपाल ल क्याम्पसमा समानान्तर भेला डाकेर कमिटी बनाउने प्रयास गरे । त्यहाँ केही साथीबीच हात हालाहाल भयो ।

अञ्चल कमिटीका केही नेता पनि विवादमा आए । पार्टी कार्यालय बल्खुमा बैठक चलिरहेको थियो । ल क्याम्पसबाट केही व्यक्ति सीधै पार्टी कार्यालय बल्खु पुगेर ऐन महरले कुट्न लगायो भनेर पोल लगाएछन् । पार्टी स्थायी कमिटीले तत्काल कार्यदल बनायो । मेरो संलग्नता थिएन । झगडा भएको बारे मलाई जानकारीसमेत थिएन । राष्ट्रिय महाधिवेशको दुई महिनाअघि मलाई ६ महिनाका लागि कारबाही गरियो । यसलाई स्थायी कमिटीबाट अनुमोदन गराइयो । मेरो जीवनमा नखाएको विष लागेको घटना थियो, त्यो ।

०७० मा मैले सचिवको तयारी गरिरहेको थिएँ । आन्तरिक समीकरण मिलाउँदा मैले उपाध्यक्षमा प्रतिस्पर्धा गरेँ र जितेँ ।

 एजेन्डाको दोधार
नेपालको हरेक राजनीतिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ०१७, ०३६, ०४६, र ०६२/६३ सालमा भएका राजनीतिक आन्दोलनमा विद्यार्थी आन्दोलन महत्वपूर्ण थियो । राजनीतिक र प्रजातान्त्रिक अधिकारका लागि लड्दालड्दै विद्यार्थी आन्दोलनको परिचय नै सडकमा ढुंगा हान्ने, टायर बाल्ने भन्ने भयो । अब विद्यार्थी आन्दोलन त्यसरी चल्ने अवस्था छैन । आम मानिसले विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न गर्न थालेका छन् । विद्यार्थी आन्दोलनको औचित्य अझै ५० वर्षसम्म छ । पुराना विषय सकिएका छन्, तर नयाँ विषय तय नभएको अवस्था छ । हामीले नयाँ एजेन्डा तय नगरेको र पुराना एजेन्डा छाड्न सकेका छैनौँ ।

अबका एजेन्डा

अब शैक्षिक एजेन्डामा केन्द्रित हुनुपर्छ । विद्यार्थीको संगठन भएपछि उनीहरूको हकहितमा काम गर्नुपर्छ । वैज्ञानिक शिक्षाको ठोस खाका निर्माण गरेर कार्यान्वयनको चरणमा लाग्नुपर्छ । १२ कक्षासम्मको शिक्षा निःशुल्क हुनुपर्छ । हामीले प्राविधिक शिक्षा ७० र बाँकी शिक्षा ३० प्रतिशत गर्नुपर्छ । यसलाई कार्यान्वयन गराउनुपर्छ । शिक्षामा भएको विभेद अन्त्य गर्नुपर्छ । जीविकोपार्जन गर्न सक्ने शिक्षा आवश्यक छ ।

अहिले पुँजीवादको विकास भइरहेको छ । समाजप्रति मानिस उत्तरदायी भएको छैन । लैंगिक विभेद छ । अब हामीले पहिलाजस्तो आन्दोलनमा नजाने प्रण गरिसकेका छौँ । हाम्रो भूमिका दबाब र जागरणको हो । यो रचनात्मक तरिकाले गर्न जरुरी छ । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर लोन दिने व्यवस्था गर्नु हाम्रो ठूलो उपलब्धि हो ।

आन्दोलन र आरोप
विद्यालयमा विद्यार्थी भर्ना गर्दा आन्दोलन गर्ने र आफ्नो स्वार्थ पूरा भएपछि चुप बस्ने आरोप विद्यार्थी संगठनमाथि छ । जुन सत्य होइन । यो विद्यार्थी आन्दोलन र प्रजातन्त्रलाई कमजोर बनाउने तत्वले उठाउने विषय हो । हामीले सरकारका विरुद्ध आन्दोलन गरेका हुन्छौँ । सरकारसँग सम्झौता गर्छौं, तर त्यसको कार्यान्वयन नहुँदा परिणाम नदेखिएको हो । सरकारी विद्यालयहरूको गुणस्तर अभिवृद्धि अनिवार्य छ । यसमा सबै निकाय लागेको खण्डमा निजी विद्यालय कमजोर भएर जानेछन् । ७२ लाख विद्यार्थीमध्ये १५ लाख विद्यार्थी मात्रै निजीमा पढिरहेका छन् । निजीको नतिजा राम्रो छ, तर सरकारीको अब सुधार्न विद्यार्थी लाग्नुपर्छ । सरकारी कर्मचारीजति सबैले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनैपर्ने भन्ने कानुन बनाउन जरुरी छ । त्यसो भएमा सरकारी विद्यालयको गुणस्तरमा सुधार हुनेछ ।

सरकारीमा लागानी, जनशक्ति राम्रो छ तर गुणस्तर राम्रो छैन । मानिसमा इच्छाशक्ति छैन । सबैका छोराछोरी सरकारी विद्यालयमा पढ्न थालेको खण्डमा भ्रष्टाचार कम हुन्छ, विद्यार्थीको शुल्कका लागि कसैले पनि भ्रष्टाचार गर्नुपर्ने अवस्था आउँदैन ।

 सक्षम नेतृत्वको खाँचो
विद्यार्थी आन्दोलनलाई नयाँ तरिकारले अघि बढाउन सक्ने, विद्यार्थीले रुचाएको व्यक्ति अखिलको नेतृत्वमा आउनुपर्छ । नयाँ नीति बनाउनेदेखि बनेका नीति लागू गर्ने नेतृत्व आवश्यक छ । दृढ इच्छाशक्ति भएको नेतृत्व अब आवश्यक छ । समग्र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइ दिन अखिलसहित सबै विद्यार्थी संगठनले नेतृत्व चयनमा ध्यान दिनुपर्छ ।

प्रस्तुति: भवानीश्वर गौतम

तपाईको प्रतिक्रिया